काठमाडौ – भौतिक योजना निर्माण तथा यातायात मन्त्रालयले १३ वटा मुख्य सडक पहिरोको उच्च जोखिममा परेको जनाएको छ । भूकम्प र त्यसपछिका परकम्पले ती सडक चिराचिरा परेको भन्दै उच्च जोखिमको सूचीमा राखेको हो । वर्षातका बेला ती सडक अति जोखिमपूर्ण भएको उल्लेख गर्दै निकै सावधानी अपनाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
सडक विभाग र विशेषज्ञ टोलीले १ महिना लगाएर ती सडकको अध्ययन गरेको हो । सडक विभागका महानिर्देशक माधव कार्कीले वर्षाअघि नै पहिरोको उच्च जोखिम रहेका सडकमा आपतकालीन उद्धार टोली तयारी अवस्थामा राखिने बताए ।
‘सडक चिराचिरा परेका छन्, वर्षातमा चिराभित्र पानी पसेर पहिरो जाने सक्ने निकै सम्भावना छ, जतिबेला जे पनि हुन सक्छ,’ उनले भने, ‘वर्षातमा बाटो सुचारु राख्न र यात्रीलाई सुरक्षित स्थानमा पुर्याउने तयारीबारे छलफल गर्दैछौं ।’
अरनिको राजमार्ग खण्डको दोलालघाट–बाह्रबिसे–कोदारी सडक, लामोसाँघु खण्डको चरिकोट–जिरी सडक, तामाकोसी खण्डको मन्थली–खुर्कोट सडक अति जोखिमपूर्ण छन् । प्रतिवेदनअनुसार टोखा–छहरे सडक, पासाङ ल्हामु राजमार्गको बालाजु–ककनी–त्रिशूली सडक, त्रिशूली खण्डको धुन्चे–स्याफ्रुबेसी–रसुवागढी सडक र पृथ्वी राजमार्गको काठमाडौं–मुग्लिङ–डुम्रे सडक पनि भूकम्पले चिरा परेको छ । गोर्खाको एघारकिलो–बारपाक सडक, मुग्लिन सडक, साँखु– भोटेचौर सडक, सिद्धार्थ राजमार्ग, पोखरा सडक खण्डको बागलुङ–बेनी–जोमसोम सडक र हेटौंडा सडक खण्डको भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा पनि पहिरोको जान सक्ने सम्भावना छ । रसुवा, दोलखा र सिन्धुपाल्चोक र गोर्खालगायत सडकमा भूकम्प गएका बेला पहिरोले अवरुद्ध भएको भन्दै हाल सुचारु भएको उनले बताए । ‘त्यो बेला विभिन्न उपकरण प्रयोग गरी सुचारु गर्यौं, तर वर्षातमा पहिरो जोखिमचाहिँ निकै छ,’ उनले भने, ‘मनसुन सुरु नहुँदै विभिन्न विकल्पको तयारी गरेका छौं ।’
विभागले ५ विकल्प सडकबाट यातायात सुचारु गर्ने तयारी गरेको छ । विकल्प सडकको पनि मर्मत सम्भार अघि बढाएको कार्कीले बताए । त्रिभुवन राजपथ, कान्ति राजपथ, बीपी राजमार्ग खण्डको बनेपा–सिन्धुली–बर्दिबास सडक, सीतापाइला–धार्के सडक र गल्छी–त्रिशूली सडकलाई विकल्पका रूपमा प्रयोग गर्न सकिने उनले बताए ।
उच्च जोखिमपूर्ण सडकमा एकैसाथ पहिरो गए बाटो खुलाउन विभागसँग पर्याप्त उपकरण नभएको उनले बताए । महानिर्देशक कार्कीले उपकरण खरिदबारे सरोकारवाला निकायसँग छलफल भइरहेको बताए । ‘होइन अति नै सावधानी अवस्थामा बसेका छौं, विभिन्न स्थानमा विशेषज्ञसहितको उद्धार टोली राख्छौं, बढी सवारीसाधन आवत–जावत हुने सडकलाई अति संवेदनशील घोषणा गर्छौं, जसरी पनि आवागमन अवरुद्ध हुन्न दिन्नौं,’ उनले भने, ‘वर्षातअघि नै अत्याधुनिक उपकरण ल्याउने तयारी पनि गरिसकेका छौं ।’
उपकरण खरिदका लागि करिब ५५ करोड रुपैयाँ अर्थ मन्त्रालयले विनियोजन गरिसकेको उनले जनाए ।
जोखिममा रहेको सडक :
१.अरनिको राजमार्ग खण्डको दोलालघाट–बाह्रबिसे–कोदारी
२.० लामोसाँघु खण्डको चरिकोट–जिरी
३.० तामाकोसी खण्डको मन्थली–खुर्कोट
४.० टोखा–छहरे
५. पासाङल्हामु राजमार्गको बालाजु–ककनी–त्रिशूली
६.त्रिशूली खण्डको धुन्चे–स्याफ्रुबेसी–रसुवागढी
७. पृथ्वीराजमार्गको काठमाडौं–मुग्लिङ–डुम्रे
८. गोर्खाको एघारकिलो–बारपाक
९. मुग्लिङ
१०. साँखु–भोटेचौर
११. सिद्धार्थ राजमार्ग
१२. पोखरा सडक खण्डको बाग्लुङ–बेनी–जोमसोम
१३.हेटौंडा सडक खण्डको भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली
कान्तिपुरबाट