Mon. Mar 17th, 2025

कोरोना खोप तयार, नोभेम्बरभित्रै प्रयोगका लागि प्रक्रिया थालिने


२५ कार्तिक, एजेन्सी –

बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन् ।

उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले तयार पारेका खोप ६ देशका ४३ हजार ५ सय जनामा परीक्षण गरिएको थियो। त्यसले प्रभावकारी काम गरेको थियो। सुरक्षासम्बन्धी कुनै किसिमको समस्या आएको थिएन। ती कम्पनी सक्दो छिटो खोपलाई विश्व बजारमा पुर्‍याउन चाहन्छन्। त्यसका लागि यो महिना नोभेम्बर अन्त्यसम्म यसको प्रयोगका लागि आवश्यक अनुमति पाउन आवेदन दिने योजना बनाएका छन्।

यो खबरसँगै विभिन्न प्रतिक्रिया आएका छन्। केहीले यो सुनेपछि आफू प्रसन्न भएको बताएका छन्। केहीले आगामी वसन्त ऋतुसम्म विश्वको जनजीवन सामान्य भइसक्ने आशा व्यक्त गरेका छन्। विभिन्न देशले कोरोना भाइरसविरुद्ध खोप निर्माण गरिरहेको बताएका छन्। तीमध्ये करिब दर्जन खोप तेस्रो चरणको परीक्षणको अन्तिम अवस्थामा छन्। तीमध्ये अहिले घोषणा गरिएको खोप प्रभावकारी लक्षण देखाउन सफल पहिलो हो।

यसले सम्पूर्ण रूपमा प्रयोगात्मक प्रक्रिया अपनाएको छ। यसले रोगप्रतिरोधी क्षमता बढाएर कोरोना भाइरसविरुद्ध लड्न मद्दत गर्छ। त्यसका लागि उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरीरमा प्रवेश गराइन्छ।

उक्त खोपले एन्टिबडी र टि–सेल बनाउन सहयोग गर्छ। तीन साताभित्र उक्त खोप दुई मात्रा लगाउनुपर्छ। यो खोप अमेरिका, जर्मनी, ब्राजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा परीक्षण गरिएको थियो। यसको दोस्रो मात्रा दिइएको सात दिनपछि ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो।

२०७७ कार्तिक २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: