Sun. Mar 16th, 2025

विश्‍वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

२४ कार्तिक,धादिङ –

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेका छन् ।

अक्टोबर महिना संक्रमणका हिसाबले सबैभन्दा खराब रह्यो । त्यस्तै पछिल्ला केही दिनमा अमेरिकामा दिनहुँ एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्ला दिनमा युरोपेली मुलुकमा पनि संक्रमण दर बढेकाले विश्वव्यापी रुपमा संक्रमितको संख्या बढिरहेको छ ।
पछिल्ला ७ दिनमा विश्वभर दैनिक रुपमा ५ लाख ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । संक्रमितको संख्या ३ करोडबाट ४ करोड पुग्न ३२ दिन लागेकोमा पछिल्लो समय २१ दिनमै थप एक करोडमा कोरोना पुष्टि भएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ३ लाख ९५ हजार १ सय ७४ पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ४ सय ९० पुगेको छ भने करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका छन् ।

विश्वकै करिब २० प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या करिब एक करोड पुगेको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६२ हजारभन्दा बढी पुगेको छ ।

अमेरिकामा कोरोनाबाट २ लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३९ लाख निको भएका छन् । अमेरिकामा पछिल्ला ७ दिनमा औसत एक लाखका दरले संक्रमितको संख्या बढिरहेको छ । शनिबार मात्रै अमेरिकामा एक लाख ३० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो ।

२०७७ कार्तिक २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: