
१७ कार्तिक विराटनगर —
सहिद मैदानमा फ्लडलाइट जडान कार्य सुरु गरिएको छ । त्यसका लागि प्रदेश सरकारको ४ करोड २९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको हो । मैदानको चार कुनामा चारवटा एङ्कर नटबल्ट उठाएर त्यसमाथि ३० मिटर अग्लो माक्स जडान गरेर हजार वाटका १०८ वटा बत्ती जडान गर्ने काम सुरु गरिएको हो
त्यसका लागि निर्माण गर्न ठेक्का पाएको कार्कीबन्धु अमर जेवी कन्स्ट्रक्सनले जमिनमा पायल फाउन्डेसन गरी जमिनमुनि १० मिटर गहिराइबाट एङकर नटबल्ट उठाएर माक्स जडान कार्य सुरु गरेको हो । कात्तिकभरमा फ्लडलाइट जडान कार्य सकिने ठेकदार गणेश कार्कीले वताए । चारवटा एङकर नटबल्ट एक महिना पहिला उठाइए पनि कोलकातावाट माक्स आइपुग्न ढिलो भएकाले काम सुस्त भएको हो । कार्कीले भने, ‘कात्तिक महिनाभर फड्लाइट जडान कार्य सकिने छ ।
अब ती चारवटा एङकर नटबल्टमा ३० मिटर अग्लो माक्स जडान गरेर हजार वाटका १०८ वटा बत्ती जडान गर्नमात्र बाँकी छ । ठेकेदार कार्कीले त्यो काम कात्तिकभर सकिएपछि मंसिरदेखि सहिल मैदानमा रात्रिकालीन खेलकुद गतिविधि गर्न सकिने जानकारी गराए ।
सहिद मैदानमा दुई वर्षदेखि फ्लडलाइट जडान कार्य सुरु गरिए पनि ठेकेदारले विभिन्न बहाना देखाउँदै काम ढिलो गर्दा सहिद मैदानमा खेलकुद गतिविधि हुन सकेको छैन । यही फ्लड्लाइटको पर्खाइमा दुई वर्षदेखि विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुन नसकेको विराट गोल्डकप ट्रस्टका अध्यक्ष सन्तोष वानियाँ बताए
उनले भने, ‘कोरोना कहर सकिए यसपालि फ्लडलाइटको माध्यमबाट विराट गोल्डकप प्रतियोगिता रात्रिकालीन खेलाइने छ ।’ यसअघि सहिद मैदानमा प्रदेश सरकार र विराटनगर महानगरपालिकाको डेढ करोड खर्चमा मैदान मर्मतसहित खेलाडी चेन्जिङ रुम निर्माण गरेर अघिल्लो वर्ष पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल आयोजना गरिएको थियो ।
कार्तिक १७ गते प्रकाशित