Fri. Mar 14th, 2025

कोरोनाले आत्मनिर्भर बनाएका युवाहरुको कथा

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ मा संचालित नागेश्वर कृषि फार्म र यसका संचालकहरु

४ कार्तिक, धादिङ / मनिष दुवाडी-

वैदेशिक रोजगारीमा रहेका र जान तयार भएका लाखौं युवा कोरोना भाइरसको महामारीको त्रास सँगसँगै तिलमिलाउन पुगे । उता रोजगारी गुमेर लाखौं युवा घर फिर्ता भए । विदेशबाट घर बिदामा आएकाहरु र कागजपत्र मिलाएर बाहिर जान अन्तिम तयारीमा रहेका युवाहरु कोभिड–१९ महामारीको नराम्रोसँग सिकार भए ।

वैदेशिक रोजगारी मात्र होइन स्वदेशकै विभिन्न शहरमा रोजगारीमा रहेका युवाहरु समेत रोजगार बिहिन भए । सिङ्गो देश लकडाउन, शटडाउन र निषेधाज्ञाको चक्रमा घुमिरहदाँ विदेश जाने चक्करमा रन्थनिएका धादिङका केही युवाहरुलाइ भने कोभिडको महामारीले स्वदेशमै काम गर्ने जाँगर थपिदिएको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ का विष्णुहरि उप्रेती १७ वर्ष मलेसिया बसेर गत मंसिरमा घर फर्किए । आउने जाने क्रम चलिरहेके थियो, २–४ महिना घर बसेर फेरी विदेश नै जाने सोच बनाएका गरि लकडाउनका कारण यत्रै थुनिए । उता सोही गाउँका किसन गिरि पनि टर्की जान भन्दै एजेन्टलाइ ५० हजार बुझाइसकेका थिए, उनी पनि कोरोना भाइरसको महामारीले यतै रोकिए ।
अव के गर्ने कसो गर्ने अन्योल भयो । महामारी र यसले बढाएको अन्योलता संगै उनीहरुलाइ सोच आयो कि अव देशमै केही गर्नुपर्छ । यी दुइसंग सहकार्य गर्न सोही ठाउँकै अरु दुइ युवा इश्वर कँडेल र हरिचन्द्र गिरि पनि तयार भएपछि सुरु भयो नागेश्वर कृषि तथा पशुपंक्षी फर्म ।

नागेश्वर कृषि फार्मको भैसी र तरकारीका टनेलहरु

बाँझै बसिरहेको ६० रोपनी जमिन भाडामा लिएर ४ जनाको १ करोड संयुक्त लगानीमा सुरु भएको ब्यवसायिक कृषि फर्म अहिले नमुना बन्न थालेको छ । लगानीकर्ता मध्ये १ इश्वर कँडेलले भने, ‘कोरोनाले पाइराखेको जागिर पनि गुम्यो, अरु साथी कोही विदेश नै फर्किने सोचमा हुनुहुन्थ्यो, कोरोनाको महामारीले जान पाउनु भएन, एक दिन कुरै कुरामा नयाँ केही काम गर्ने सोच आयो र यो काम सुरु गरियो ।’

अहिले उनीहरुले ३७ वटा भैसी पालेका छन् । २० हजार माछाको भुरा हाल्ने तयारी भएको छ । ३ रोपनीमा लसुन खेती, १० रोपनीमा आलु, टनेलमा ५ सय बोट गोलभेडा, अकवरे खुर्सानी र डल्ले खुर्सानीको खेती सुरु गरेको छन् । आगामी सिजनको लागि २५ हजार प्याजका बेर्ना उत्पादन गर्ने लक्ष राखिएको कँडेलले बताए ।

‘हाम्रो उद्येश्य भनेको सल्यानटारलाइ दुधमा आत्म निर्भर बनाउने हो ।’ अर्का साझेदार विष्णुहरि उप्रेतीले भने, ‘दैनिक ५ सय लिटर दुध उत्पादन गर्ने लक्ष्य छ, हाम्रो उत्पादन मात्रै नभइ अन्य किसानहरुले उत्पादन गरेका एक÷दुइ लिटर दुध जुन, घरमा खानको लागि बढी भएको छ र बेच्न पनि पाएका छैनन् त्यस्ता दुध पनि खरिद गरिदिने र बजारमा पठाउने योजना छ ।’

नागेश्वर कृषि फार्मको तरकारी खेती

उनीहरु मध्ये कँडेल २२ महिना इजरायलमा बसेर कृषि तालिम लिएर फर्किएका ब्यक्ति हुन् । अहिले भर्खरै सुरु गरिएको भएपनि भविष्यमा दुध, फलफलु र माछामासुको बहु–आयामिक कृषि फार्म बनाउने उद्येश्यका साथ काम गरिरहेको हरिचन्द्र गिरिले बताए ।

अहिले फार्ममा ६ जनाले रोजगारी समेत पाएका छन् । ‘कोरोना महामारी नभएको भए सायद म विदशमा हुन्थे होला ।’ किसन गिरिले भने, ‘एकातिर महामारीको आतङ्क त छदैछ अर्कोतिर यो महामारीले मलाइ देशमै केही गर्ने बातावरण बनाइदियो ।’

कृषि पेशामा भविष्य सोचेर हात हालेको भएपनि सरकारी निकायले भने कृषि पेशा र किसानलाइ सम्मान गर्न नसकेको अनुभव सुरुमै भएको कँडलले बताए । ‘म कृषि ब्यबसायमा लाग्नु अगाडि नेपाल सरकारले कृषि पेशा अनि बिदेशबाट फर्केर कृषिमा लाग्ने युवाहरुको लागि राम्रो कार्यक्रम ल्याएको रहेछ भन्दै राज्य प्रती खुसी हुन्थे ।’ कँडेलले भने, ‘तर होइन रहेछ, यहाँ असली कृषकको खेत बारिमा सरकार आउपुग्दा रहेनछन् । तर पनि आँट गरिएको छ, एक दिन यो फार्मलाइ नमुना बनाउने योजना छ ।’

त्यस्तै वैदेशिक रोजगारीमा १२ वर्ष बिताएर घर फर्किएका थिए नीलकण्ठ १२ का सानुकाजी थापा । केही समय घरमा बसेपछि फेरी राम्रो कम्पनीबाट अफर आएपछि अर्को देश जाने तयारी गरिरहेका बेला कोभिडको महामारी सुरु भयो । उनको बैदेशिक यात्रामा रोक लाग्यो । सुरुको १ महिना के गर्ने भन्ने अन्योलमै बसे । तर लकडाउनको दोस्रो महिनाबाट उनले गाउँमै कुखुरा पाल्ने निधो गरेर काम सुरु गरे ।

एक सिजन ब्रोइलर कुखुरा निकालेर पनि बेचिसकेर थापाले फेरी अर्को सिजनको लागि चल्ला हालिसकेका छन् । कुखुरापालन व्यवसायबाट राम्रो भएको र अब बाहिर जाने सोच नै त्यागिसकेको थापाले बताए । उनले भने, ‘केही समय घर बस्छु भनेर विदेशबाट फर्किएको थिए, अव विदेश नजाने सोच नै बनाइसके । लकडाउने गर्दा म विदेश नगएको हो, यदि सहज अवस्था हुन्थ्यो भने म यतिबेला विदेशमै हुन्थे । सुरुमा अव के गर्ने भन्ने अन्योल भइरहेका बेला कुखुरा पाल्छु भन्ने लाग्यो र यो ब्यवसाय सुरु गरेँ ।’

कुखुराको स्याहार सुसार गर्दै सानुकाजी थापा लेक बहादुर आले

पहिलो लट कुखुरा बेचिसकेको र अर्को लट हालेपछि कुखुराको मुल्यमा केही गिरावट आएकाले केही चिन्तित देखिएका थापले भने, ‘कुनैबेला बढी फाइदा कुनै बेला कम त भइहाल्छ तर अलिक मिहेनत गर्ने हो भने घर खर्च चलाउनकै लागि विदेश जानै नपर्ने रहेछ भन्ने कुरो मैले विदेशमा १२ वर्ष काम गरे फर्केपछि मात्रै थाहा पाएँ ।’

सानुकाजी थापा मात्र होइन, नीलकण्ठ नगरपालिका १३ का लेक बहादुर आले मगर पनि कुखुरा पालन व्यवसायमा प्रवेश गरेका छन् । कतारमा १० वर्ष बसी सकेका लेक बहादुरले सुरुमा पाँच सय कुखुराको चल्ला पाले । दोस्रो लटमा अहिले ६ सय चल्ला पाल्न थालेका छन् । कुखुरापालन व्यवसायमा फाइदा देखेपछि उनी हौसिएका छन् ।

लेक बहादुरले भने, ‘यही बसेर विदेशको जति मिहनेत गरियो भने त हुने रहेछ नी भन्ने कुरा पहिलो लट कुखुरा बेचेपछि थाहा पाएँ । परिवार साथीभाइ संग बसेर काम गर्दा विदेशमा कमाएको आधा मात्रै कमाइ भयो भने पनि धेरै सन्तुष्टी मिल्दो रहेछ । यो कोरोना नआएको भए म अहिले विदेशमै पसिना बगाइरहेको हुन्थे होला, एक हिसावले भन्दा मलाइ त फाइदा नै भयो ।’

नागेश्वर कृषि फार्म, सानुकाजी थापा र लेक बहादुर आले प्रतिनिधि पात्र मात्र हुन् । कोभिड–१९ बाट वैदेशिक रोजगारीको बाटो बन्द भएपछि घर फर्किएकाहरु र विदेश जान नपाएकाहरु केही न केहि व्यवसाय गर्न जुर्मुराउन थालेका छन् । यतिबेला उनीहरुलाइ हौसलाको खाँचो छ ।

कुखुराको स्याहार सुसार गर्दै लेक बहादुर आले

स्थानीय सरकारले पनि यस्तै मिहेनती र परिश्रमी युवाहरुलाइ साथ दिने गरि नयाँ नयाँ निति र कार्यक्रमहरु ल्याउनुपर्ने आवाज उठ्न थालेको छ । नीलकण्ठ क्याम्पसका सहायक प्राध्यापक डाक्टर नविनबन्धु पहाडीले भने, ‘संघिय र स्थानीय सरकारले बेरोजगार युवाहरुलाई तालिम, पूँजी, प्राविधिक सहयोग र वैकल्पिक व्यवसाय बारे जानकारी र सहयोग गर्ने हो भने स्वदेशमा एउटा राम्रो वातारण तयार हुने थियो । तर जति विदेशबाट फर्किएका छन् त्यसको ५ प्रतिशतलाइ पनि प्रयोग गर्ने गरि चालु वर्षमा कुनैपनि स्थानीय सरकारले कार्यक्रम ल्याएको देखिएन् ।’

कोभिड नेपाली युवाहरुको लागि अभिसाप नभएर भाग्य चम्काउने समय बनाउन सकिने अवस्था रहेपनि कुनै निकाय र तहले पनि चुनौतीलाइ अवसरको रुपमा नलिएको पहाडीले बताए ।

(नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) ग्लोवल को सहयोगमा तयार गरिएको)

२०७७ कार्तिक ४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: