
२० असोज, पेरिस –
रुसी आन्द्रे रुबलेभले सोमबार लगातार दोस्रोपल्ट ग्रान्ड स्लामको क्वाटरफाइनल प्रवेश गरेका छन् । यसका लागि उनले फ्रेन्च ओपनमा हंगेरीका मार्टन फुस्कोभिचलाई ६–७, ७–५, ६–४ र ७–६ ले हराए ।
विश्व नम्बर १२ का खेलाडी रुबलेभ पहिलो सेट गुमाएर दोस्रोमा ५–२ ले पछाडि थिए र उनको हार तय जस्तै देखिएको थियो । तर त्यसयता उनले उत्कृष्ट खेल प्रदर्शन गरे र त्यस स्थितिबाट लगातार तीन सेट जिते ।
अब उननले सेमिफाइनल प्रवेशका लागि ग्रिक खेलाडी स्टेफानोस सिसिपासको सामना गर्नेछन् । सिसिपासले भने ग्रिगोर डिमिट्रोभलाई ६–३, ७–६ र ६–२ ले पराजित गरे । उनी ग्रान्ड स्लामको अन्तिम आठमा पुगेको यो दोस्रो अवसर मात्र हो । ग्रिकका पाँचौं वरीयताका सिसिपासको जितको आधार बलियो सर्भिस रह्यो । सन् २०१९ को अस्ट्रेलियन ओपनमा उनी सेमिफाइनल पुगेका थिए र यो नै उनको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ ।
महिलातर्फ गैरवरीयता प्राप्त जर्मन खेलाडी लउरा सिगमेन्डले तनावपूर्ण पहिलो चरणलाई पार लगाउँदै स्पेनी पउला बडोसलाई ७–५ र ६–२ ले हराइन् र आफ्नो खेल जीवनको पहिलो रोलान्ड ग्यारोस क्वाटरफाइनल यात्रा तय गरिन् । खेलमा भने दुवै खेलाडी सर्भिसका लागि संघर्षरत रहे । बडोसले यसअघिका चरणमा राम्रो खेले पनि त्यसलाई चौथो चरणमा भने दोहोर्याउन सकिनन् ।
२०७७ असोज २० गते प्रकाशित