Tue. Mar 11th, 2025

महिला क्रिकेटमा नयाँ अध्याय कप्तान रुबिना

१२ असोज , काँकडभिट्टा –

नेपाल क्रिकेट संघ क्यान ले पाँच दिनअघि राष्ट्रिय महिला क्रिकेटरलाई ग्रेडिङ गर्दै मासिक तलब दिने निर्णयपछि महिला राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलबासेले नयाँ अध्याय सुरु भएको टिप्पणी गरेकी छन् । क्यानले ९ महिनाअघि नै तलब उपलब्ध गर्ने प्रतिबद्धता गरेको थियो ।

सोहीअनुसार मंगलबार चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले महिला क्रिकेटरलाई तलब दिने निर्णय गरेको थियो । कोरोना महामारीका बाबजुत क्यानले जुन निर्णय लियो यो सम्मानजनक रहेको कप्तान रुबिनाले बताइन् । ‘यो निर्णयले हामी थप उत्साही भएका छौं , ‘क्यानले जुन सिस्टम सुरु गरेको छ, यसले हामीलाई अब सुरक्षित बनाएको छ ।’

यसअघि क्यानले पुरुष राष्ट्रिय टोलीलाई ग्रेडिङ गरी तलब दिँदै आएको थियो । महिला क्रिकेटरलाई पनि तीन ग्रेडमा विभाजन गरेर तलब दिने प्रकृया सुरु भएको छ । ‘ए’ ग्रेडमा कप्तान रुबिनासहित नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी छन् । ज्योति पाण्डे, अप्सरी बेगम, रोमा थापा, बिन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर ‘बी’ ग्रेडमा परेका छन् । भने ‘सी’ ग्रेडमा कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले छन् । क्यानमा ‘ए’ ग्रेडका खेलाडीलाई मासिक १५, ‘बी’ ग्रेडलाई मासिक १२ र ‘सी’ ग्रेडमा परेका खेलाडीलाई मासिक १० हजार तलब उपलव्ध गराउने जनाएको छ ।

पुरुष क्रिकेटरले धेरै पाए महिलालाई किन कम रुबिना भन्छिन्, ‘पुरुष खेलाडीको योगदान र जिम्मेवारी हाम्रोभन्दा अलि वढी छ । उनीहरू ओडीआई मान्यताप्राप्त खेलाडी पनि हुन् । तलब अलि कम भयो भन्ने हो, १५ को ठाउँमा २० मात्रै भएको भए हुन्थ्यो भन्ने मेरो निजी विचार हो।’

कप्तान रुबिनाले क्यानले राम्रो संस्कारको सुरुआत गरेको र भविष्यप्रति आशावादी र सुरक्षित बन्न सकिने बताइन् । क्षत्रीले १५ हजार तलवका भरमा खेलाडीलाई बाँच्न चाहिँ गाह्रो हुने धारणा राखिन् । क्यानले यसअघि १९ खेलाडीको कोरोना बिमासमेत गरिदिएको थियो । भविष्यमा जीवन बिमाको योजना क्यानको रहेको बताए ।

२०७७ असोज १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: