Tue. Mar 11th, 2025

सेभियालाई हराउँदै बायर्नलाई सुपर कपको उपाधि

९ असोज, काठमाडौ –

युरोपा लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको छ ।पहिलोपटक फ्यानहरुलाई मैदान प्रवेश गर्ने अनुमति दिइएको युरोपन खेलमा १५, १८० दर्शकसामु बायर्नले २–१ को जीत हासिल गर्न सफल रह्यो ।
खेलमा अग्रता भने सेभियाले लिएको थियो । इभान र्याकिटिचलाई लडाएपछि पाएको पेनाल्टीलाई लुकास ओकाम्पोसले गोलमा परिणत गर्दै खेलको १३ औँ मिनेटमा नै सेभियालाई अग्रता दिलाए ।
पहिलो हाफ सकिनअघि रोबर्ट लेवान्डोस्कीको पासमा लियोन गोर्टेज्काले खेल बराबरी गरे । त्यसपछि बायर्नले अर्को गोलका लागि निकै संघर्ष गर्न पर्यो ।
१०४ मिनेटमा ह्याभी मार्टिनेजले अन्ततः गोल गर्दै बायर्नलाई जीत दिलाए । बायर्न पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा पराजित भएको थियो । योसँगै सेभियाको २१ खेलको अपराजित यात्रालाई अन्त्य गर्दै बायर्नले सबै प्रतियोगितामा ३२ खेलको आफ्नो अपराजित यात्रालाई भने जारी राखेको छ ।
२०७७ असोज ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: