
३० भदौ, तिलोत्तमा –
कोभिड–१९ महामारीले चैतदेखि जिल्लाका व्यवसाय, विद्यालय, मानिसको जनजीवनमा प्रभाव पारे पनि यहाँका स्थानीय तहको लगानीमा खेल पूर्वाधारको निर्माण भने धमाधम चलिरहेको छ ।
अरू बेला फरक काम गरेर जीविका चलाउने स्थानीय मजदुरलाई रोजगारी होस् र संरचना पनि निर्माण होस् भन्ने उद्देश्य स्थानीय तहहरूको छ । ती स्थानीय तहहरू स्वास्थ्य सावधानी अपनाई निर्माण कार्यलाई निरन्तरता दिइएको जनाएका छन् ।
सीमावर्ती सिद्धार्थनगर नगरपालिकामा निर्माण भइरहेको सिद्धार्थ क्रिकेट रंगशालामा भीआईपी प्यारापिट बनिरहेको छ । गत वर्ष रंगशालाका लागि छुट्याइएको ४ करोड बजेटबाटै अहिलेसम्मको काम भइरहेको नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य एवं रूपन्देहीका अध्यक्ष प्रशान्तविक्रम मल्लले बताए ।
‘यस वर्षका लागि १ करोड विनियोजन भएको छ,’ उनले भने, ‘कोरोना महामारीले पर्याप्त बजेट नपाए पनि काठमाडौंको मूलपानी र भैरहवाको सिद्धार्थ रंगशालाले सबैभन्दा धेरै बजेट पाएका हुन् ।
सामान्य अवस्था भएर प्रतियोगिता गर्ने निर्णय भएमा अन्तर्राष्ट्रिय खेलकै लागि मैदान तयार भइसकेको उनको दाबी छ । रंगशालाको मैदान, ५ वटा पिच निर्माण, मैदानवरिपरि जाली लगाई तारबार, नाली निर्माण, स्टोर रूम, गार्ड रूम, सेक्युरिटी चेक प्वाइन्ट, चेन्जिङ रूम, संघको कार्यालयसमेत बनेको मल्लले बताए ।
२०७७ भदौ ३० गते प्रकाशित