धादिङ – विद्यालयको पढाई सञ्चालनका लागि भनेर बनाइएको अस्थायी टहरा मोटरसाइकल पार्किङ गर्ने क्षेत्र बनाइएको छ ।
धादिङको नीलकण्ठ नगरपालिका १० मा रहेको चण्डेश्वरी उमाविमा बनाइएको ३ कोठे अस्थायी टहरामा पढाई भन्दा पनि मोटरसाइकल पार्किक हुने गरेको छ । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले विद्यालयको भवन भत्किएपछि त्यस विद्यालयमा नेकपा एमालेको स्वंयसेवी टोलीहरुले अस्थायी टहरा निर्माण गरिदिएको थियो ।
विद्यालयको भवन भत्किएपछि पढाई सञ्चालन गर्न बनाइएको ३ कोठे अस्थायी टहरा मध्ये २ वटामा मोटरसाइकल पार्किङ हुने गरेको छ भने १ वटामा कक्षा सञ्चालन हुने गरेको छ । अस्थायी टहराको दायाँ र वायाँ मोटरसाइकल र बीचमा कक्षा सञ्चालन हुने गरेको पाइएको छ ।
विशेष कामले विद्यालयमा जाँदा त्यस्तो देखिएको अनेरास्ववियु धादिङका एक सदस्यले जानकारी दिनुभयो । एक हप्ता अगाडि विद्यालय संचालनमा कठिनाई भएको समस्यालाई मध्यनजर गर्दै अस्थायी टहरा निर्माण गरिएको थियो ।
त्यहाँका अधिकांश शिक्षकहरु सदरमुकामबाट १ घण्टाको दुरीमा विद्यालयमा जानु पर्ने भएकाले मोटरसाइकलको प्रयोग गर्ने गर्दछ ।