
२१ साउन , धादिङ –
कोरोना भाइरस कोभिड–१९ बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।
कोरोनाबाट अमेरिका, ब्राजिल, मेक्सिको, बेलायत र भारतमा सबैभन्दा बढी मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा बढी एक लाख ५६ हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म ४७ लाख ७१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २ हप्ताको तथ्यांक हेर्दा प्रत्येक २४ घण्टामा कोरोना भाइरसबाट करिब ५ हजार ९ सय जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । त्यस्तै एक घण्टामा २ सय ४७ जना र प्रत्येक १५ सेकेन्डमा एक जनाको मृत्यु भएको देखिन्छ ।
पछिल्लो समय अमेरिका र ल्याटिन अमेरिकी देशहरु कोरोना भाइरसको इपिसेन्टर बनेका छन् । सुरुमा ल्याटिन अमेरिकी देशहरुमा संक्रमण कम भए पनि पछिल्लो समय ब्राजिललगायतका देशमा संक्रमण तीव्र गतिमा बढिरहेको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या एक करोड ८५ लाख नाघेको छ । संक्रमण पुष्टि भएकामध्ये अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी निको भएका छन् ।
२०७७ साउन २१ गते प्रकाशित