
१५ साउन , काठमाडौ –
एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद् राखेप को कार्यकारी सदस्य–सचिवको शपथ लिँदै गर्दा रमेशकुमार सिलवालको सान बेग्लै थियो । त्यतिबेला उनले अन्य विकल्प हुँदाहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आग्रहमा राखेपमा आएको भनेर मन्त्रालयमै मन्त्रीलाई छायाँमा पार्ने प्रयास गरेका थिए ।
नयाँ खेलकुद ऐन लागू भएपछि उनी एक वर्ष नपुग्दै पदपुक्त भए । नयाँ ऐनको प्रक्रियाअनुसार सोमबार मन्त्रिपरिषद् बैठकले उनैलाई चारवर्षे कार्यकालका लागि नियुक्ति दियो ।
बुधबार युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा शपथ र त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदभार ग्रहण गरेका सिलवाल यसपालि धेरै कुरामा रक्षात्मक देखिए । मन्त्रालयमा राखेप अध्यक्ष समेत रहेका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग शपथ लिएपछि उनले चार वर्ष नेपाली खेलकुदलाई ठीक दिशामा लैजाने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता जनाए । ‘१ वर्षमा खेलकुदलाई धेरै नजिकबाट बुझ्ने मौका पाएँ ।
त्यसबीचमा दक्षिण एसियाली खेलकुदको सफल आयोजना भयो । मैले त्यसैलाई अर्जुनदृष्टि मानेको थिएँ । अबको कार्यकाल बाँकी योजना कार्यान्वयन गर्नेछु,’ उनले थपे, ‘खेलकुदलाई आममानिसको जीवनको अंग बनाउन, लोकप्रियता बढाउनका साथै व्यावसायिक र गैरव्यावसायिक खेलकुदलाई समेत प्रोत्साहन गरिनेछ । सुशासन र पारदर्शितासहित आफ्नो जिम्मेवारी पूरा गर्छु ।’ असार १७ गतेदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ ले राखेप र सदस्य–सचिवको अधिकांश अधिकार मन्त्रालयमा निहित गरेको छ । खेलकुद मन्त्रालयको समन्वयबिना सदस्य–सचिव एक्लैले महत्त्वपूर्ण निर्णय गर्न सक्ने पुरानो कानुन खारेज भएकाले सदस्य–सचिव सिलवाल केही रक्षात्मक बनेका हुन् ।
२०७७ साउन १५ गते प्रकाशित