Fri. Nov 29th, 2024

क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सरकारलाई कांग्रेसको ध्यानाकर्षण

१६ असार , काठमाडौ –

नेपाली कांग्रेसले क्वारेन्टाइनलाई व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । क्वारेन्टाइनको भद्रगोल व्यवस्थापनका कारण कोरोना भाइरस संक्रमण केन्द्र बनेको भन्दै कांग्रेसले यसलाई व्यवस्थित बनाउन सरकारसँग माग गरेको हो ।

कांग्रेसका सहमहामन्त्री एवम् कोभिड १९ बाट उत्पन्न परिस्थिति अनुगमन समितिका संयोजक डा। प्रकाश शरण महतको नेतृत्वमा कांग्रेसको एक प्रतिनिधि मण्डलले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेटेर क्वारेन्टाइन व्यवस्थित बनाउन ध्यानाकर्षण गराएका हो ।

क्वारेन्टाइन नै कोरोना फैलाउने माध्यम बनेका छन्, महतले भने, क्वारेन्टाइनमा सामान्य मापदण्ड समेत अपनाएको पाइएन । सरकारको चरम लापरवाही देखियो । संयोजक महतसहितको टोलीले केही दिनअघि काठमाडौं बाहिरका क्वारेन्टाइनको स्थलगत अनुगमन गरेको थियो । संयोजक महतले क्वारेन्टाइनलाई व्यवस्थापन गर्न स्थानीय सरकारलाई साधनस्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिए । स्थानीय तहले आफ्नै प्रयासमा क्वारेन्टाइन व्यवस्थापनमा काम गरेका छन्, तर उनीहरुसँग पर्याप्त साधनस्रोत नहुँदा समस्या देखिएको पाइयो, उनले भने, केन्द्रीय सरकार र प्रदेश सरकारको उपस्थिति देखिएन । बरु प्रदेश र संघले स्थानीय सरकारलाई क्वारेन्टाइनको जिम्मा दिँदा प्रभावकारी हुन्छ ।ु

कांग्रेसले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिता, कोरोना नियन्त्रणका लागि सरकारले गरेको खर्च पारदर्शी नभएकोबारे मन्त्री ढकालको ध्यानाकर्षण गराएका थिए । साथै कांग्रेले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग दोहोर्‍याएको छ ।

कांग्रेसकातर्फबाट स्वास्थ्य मन्त्री ढकाललाई भेट्न कांग्रेस केन्द्रीय सदस्यहरु एनपी साउद, मोहनबहादुर बस्नेत, चन्द्र भण्डारी र गगनकुमार थापाका साथै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रभु बुढाथोकी सहभागी थिए ।

२०७७ असार १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: