Fri. Jan 31st, 2025

जातीय व्यवस्थाको ऐतिहासिक पक्ष र भेरी घटना

नम्रता थापा

कोरोना कहरका वीच मुलुक तेह्रौं गणतन्त्र दिवसलाई स्वागत गर्ने तयारीमा थियो । राजनीतिक दलहरु, नेतागणहरु गणतन्त्र दिवसका दिन प्रकाशित गर्ने विज्ञप्तिको तयारीमा रहेका बखत २०७७ जेठ १० गते जाजरकोट र रुकुम पश्चिमको सीमा क्षेत्रमा रहेको सोती गाउँमा एक्काइशौं शताव्दी, गणतन्त्र र विगत ७० वर्षदेखिको जारी जातीय छुवाछुत विरुद्धको आन्दोलनबाट विकसित चेतनामाथि नै गम्भिर प्रहार हुनपुग्यो । तर्क, वितर्क जेसुकै भएपनि सपाट भाषामा त्यो जातीय विभेदको विकृत मानसिकताको उपज नै थियो ।

त्यस्तै जातीय छुवाछुतकै विवादमा केहि महिना अघि बामपन्थी पृष्ठभूमिका गण्डकी प्रदेशका सांसद कृष्ण थापा पनि जोडिनु भयो । विशेषगरी बामपन्थी आन्दोलनको प्रभाव क्षेत्र मानिने स्थान र व्यक्तिहरु नै समाजका विकृति विसंगतीलाई निरन्तरता दिने घटनाक्रममा जोडिनु निकै दुःखद पक्ष हो । जसबाट हामीले विगत ७० वर्षमा निर्माण गरेको सांस्कृतिक चेतको जगलाई नराम्रो गरी हल्लाई दिएको छ ।

राजनीतिक परिवर्तनका अलवा सांस्कृतिक परिवर्तनमा योजनाबद्ध काम हुन नसक्दा मानव सभ्यतामा यस्ता कलकिंत घटनाहरु देखिने गरेका छन् । सांस्कृतिक चेतनाको विकास राजनीतिक परिवर्तन जस्तो सहज हुँदैन र यसमा निरन्तरता र योजना दुबैलाई सजग रुपमा प्रयोग गर्न सक्नु पर्दछ । अन्यथा दुई पक्षको समान विकास हुननसक्दा रुकुम घटनाहरु दोहोरिने गर्दछन् ।

ऐतिहासिक पक्षः
मानवीय वर्णका आधारमा प्रतिपादन भएको सामाजिक व्यवस्था नै वर्ण व्यवस्था हो । वर्ण व्यवस्थाभित्र पूर्वीय दर्शन‚ चिन्तन‚ धर्म र संस्कृति पर्दछन् । वर्ण व्यवस्थाको जग ई. पू . १५०० वर्ष पछि भएको मानिन्छ । सिन्धु नदिको किनारमा उत्पत्ति भएको र यसका अनुयायीहरुलाई पारसी भाषामा हिन्दु भनिए अनुरुप हिन्दु नामाकरण हुन पुग्यो ।

वर्णव्यवस्थाको अर्थ अनुसार वर्ण भनेको रङ्ग हो । चाणक्यले उल्लेख गरेअनुसार शास्त्रमा तीनवटा गुणहरुको उल्लेख गरिएको छ । शत्व गुण (सेतो) बुद्धिमानी‚ ज्ञानी‚ रजस गुण (रातो) जांगरिलो‚ उत्साही‚ फूर्तिलो‚ तम गुण (कालो) अल्छी‚ कम उत्साही । हरेक मानिसमा यी तीनमध्ये कुनै न कुनै गुण हुने गर्दछ । यही गुण तथा रंगको आधारमा वर्ण विभाजन गरिएको थियो ।

ऋषिमुनीहरुले सम्पूर्ण मानव जातिलाई चार वर्णमा विभाजन गरेका छन् । भागवत गीतामा श्री कृष्णले मानिसको गुण हेरेर वर्ण छुट्याउन सकिन्छ भनेका छन् । ज्योतिषशास्त्रले आकाशीय ग्रह पिण्डको आधारमा मानिसलाई बाह्र राशीमा बाडेका छन् । आधुनिक विज्ञानले रक्त समूहको आधारमा सम्पूर्ण मानिसलाई चार भागमा विभाजन गरेका छन् । समग्र मानिसले आफ्नो सीप‚ क्षमता‚ योग्यता‚ चाख अनुसार चयन गरेको व्यवसायको आधारमा गरिएको विभाजन नै वर्ण विभाजन थियो ।

समाज विकासको क्रम सरलबाट जटिलतर्फ उन्मुख हुंदा तथा जनसंख्या वृद्धि पश्चात समाजमा विभिन्न आवश्यकताको सृजना भयो । जसले गर्दा श्रम विभाजन अनिवार्य भयो । ज्ञानलाई संस्कृतमा व्रम्ह भनिन्छ । जोसंग व्रम्ह वा ज्ञानले भरिएका बौद्धिक व्यक्तित्व व्राम्हण भए । व्राम्हणलाई शिक्षा‚ ज्ञान दिने‚ शासन गर्ने‚ पुरोत्याई गर्ने काम दिइयो ।

युद्धलाई संस्कृतमा क्षेत्र भनिन्छ । आफ्नो समूहको क्षेत्रको सुरक्षा गर्ने क्षेत्राधिपतिहरु क्षत्री भए । क्षत्रीलाई सुरक्षा गर्ने‚ शासन‚ प्रशासन चलाउने काम दिइयो । व्यवसाय‚ कृषि गर्ने बैश्य भए । दह्रो जांग भएका‚ हृष्टपुष्ट परिश्रमी‚ खेतीपाती‚ व्यापार गर्ने काम दिइयो । विशेष ज्ञान‚ सीप‚ क्षमता‚ दक्षता हासिल नगरेका‚ बौद्धिक प्रतिभा‚ सुरता‚ बीरता‚ व्यापार गर्ने क्षमता नभएका तर इमान्दारी‚ आज्ञाकारी शुद्र भए । आवश्यकताअनुसार तीनै थरीलाई कार्य सम्पादन गर्न सहयोग गर्ने काम दिइयो ।

यसरी सामाजिक आवश्यकताले नै ब्राम्हण‚ क्षत्री‚ बैश्य‚ शुद्रको जन्म भयो । जुन विशुद्ध काममा आधारित थियो । प्राचिनकालमा गुरुकुलमा अध्ययन गर्दथे । गुरुकुलमा जो ज्ञानविज्ञान‚ शस्त्र प्रयोग‚ व्यावहारिक ज्ञानमा निपूर्ण हुन्थ्यो उ ब्राम्हण हुन्थ्यो । शस्त्रमा पारङ्गत हुनेलाई क्षत्री‚ व्यावहारिक ज्ञान दक्षता हासिल गर्ने वैश्य‚ सबै कुराको सामान्य ज्ञान भएको तर विशेषज्ञता हासिल गर्न नसक्ने शिष्यहरु शुद्रका रुपमा दीक्षित हुन्थे ।

शिष्यहरुले प्राप्त गरेको ज्ञानको आधारमा ब्राम्हण‚ क्षत्री‚ वैश्य‚ शुद्रमा दीक्षित गरिन्थ्यो । गुरु द्रोणाचार्यका छोरा अस्वत्थामा शस्त्रमा निपुण भइ क्षत्री भए । क्षत्रीका छोरा परशुराम शास्त्रमा पारङ्ग भइ ब्राम्हण भए‚ चन्द्रगुप्त मौर्य शुद्रका छोरा राजा बने‚ दासीपुत्र विदुर नैतिकवान् भए । मझिनीबाट जन्मिएका व्यास‚ बेदव्यास बने ।

मानव सभ्यताको शुरुवात अत्यन्तै सरल थियो । गांस‚ बांस‚ कपासको लागि अन्यन्तै कडा परिश्रम गर्नुपर्थ्यो । यस्तो अवस्था नै शुद्र हो । एउटै परिवारमा बाबु व्राम्हण‚ आमा शुद्र‚ छोराहरु वैश्य हुन्थे । मानिस जन्मदा सबै शुद्र हुन्थे । ब्राम्हण धर्मीय आर्य राज्यको पटकपटक भएको पतन‚ पुनर्गठन‚ तिनीमाथिको आक्रमण तथा प्रत्याक्रमणका क्रममा आर्य समाजको दिगो र स्थायित्वको निमित्त ब्राम्हण राजा तथा प्रशासक मनुले समाजमा वर्णव्यवस्थालाई कडाइका साथ लागू गर्न कानून बनाउने काम गरे ।

करिब ३५०० बर्ष पुरानो ऋग्वेदमा एउटा विराट पुरुषको कल्पना गरिएको छ । पुरुषको मनबाट चन्द्रमा‚ आंखाबाट सूर्य‚ मुखबाट इन्द्र‚ अग्नि र सासबाट वायुको सिर्जना भयो । त्यस पुरुषलाई ब्रम्हा भनियो । व्रम्हाको मुखबाट ब्राम्हण‚ पाखुराबाट क्षत्री‚ पेटबाट वैश्य र खुट्टाबाट शुद्रको उत्पत्ती भएको भनी अपव्याख्या गरियो ।

जातीय शृंखलाबद्धतामा ब्राम्हणहरु सबैभन्दा माथि‚ शुद्ध र उच्च स्थानमा रहे भने अछुतहरु निम्न स्थानमा रहन पुगे । ब्राम्हणको सन्तान ज्ञान विना नै ब्राम्हण भए । क्षत्रीका सन्तान योग्यता विना नै शासक‚ प्रशासक भए । कृषि नगर्ने वैश्य भए । सवैलाई सहयोग गर्ने परिश्रमी‚ लगनशील‚ श्रमजीवी‚ हिजो व्राम्हणलाई भात पकाएर खुवाउने अब अछुत‚ पानी नचल्ने‚ अशुद्ध जात भए ।

एउटै मानव वंश व्राम्हण‚ क्षत्री‚ वैश्य‚ शुद्रमा रुपान्तरण भए । समाजमा देखिने श्रेणीगत तहगत पदका भेदका आधारमा गरिएको वर्ण व्यवस्था जातमा परिणत हुन पुग्यो । समाज खण्ड खण्डमा विभाजन भयो । जातीय व्यवस्था अन्तर्गत सवैभन्दा बढी विशेषाधिकार व्राम्हणले प्राप्त गरे भने सबैभन्दा नियोग्यता तल्लो जातले प्राप्त गरेका छन् । सन् १९६५ मा पर्तुगाली ग्रेसियाकी ओरेटाले भारतका जातिहरु बुझाउन Cast शब्दको प्रयोग गरे । जसलाइ नेपालीमा जात भनी नामाकरण गरियो ।

नेपाल सन्दर्भ
नेपालमा मुख्यगरी उत्तरको हाङ्हो र याङसी नदीमा विकास भई तिब्वत हुँदै प्रवेश गरेको मंगोल सभ्यता, ककेसिया हुँदै पश्चिम नेपाल आएको मष्टोपुजक खस सभ्यता, मोहनजोदारो र हडप्पामा विकास भई आएको द्रविड र अष्ट्रिक सभ्यता र सिन्धुघाँटीबाट गंगा मैदान हुँदै आएको बैदिक सभ्यता र चौधौं शताव्दितिर अरब हुँदै आएको इस्लाम सभ्यताका मानिसहरुको बसोबास रहेको छ । यि फरक-फरक सभ्यताका आ-आफ्नै विशेषता रहेकाले यिनमा जातीय बनोट र व्यवस्था पनि फरक रहेका छन् । नेपाली समाजलाई सर्वप्रथम वर्ण व्यवस्थामा विभाजन गर्ने काम लिच्छवि राजा सुषुप्पले गरेका थिए । लिच्छवि राजाहरु शिव पूजा गर्दथे । लिच्छवी कालमा चार वर्ण अठार जातमा विभाजन भएको थियो ।

छैटौ शताब्दीमा शंकराचार्यको नेपाल भ्रमणपछि हिन्दु धर्मलाइ प्रोत्साहित गरियो । ई.पू. १०३२ मा जातको पञ्जिकरण राख्न शुरु गरियो । जसले जातीय व्यवस्थालाइ व्यवस्थित गर्न मद्दत पुर्याायो । सन् १३३९ मा मल्ल राजा जयस्थिति मल्लले भारतबाट ब्राम्हण झिकाइ मानव न्यायशास्त्र लेख्न लगाए । हिन्दु वर्णव्यवस्थामा आधारित भएर तहगत संरचनामा नेवार जातलाइ चार वर्ण चौसठ्ठी जातमा विभाजन गरे ।

राम शाहले कानून बनाएर जातलाई चार वर्ण छत्तिस जातमा विभाजन गरे भने दलितलाई पढ्न, सेनामा प्रवेश गर्न र व्यक्तिगत सम्पत्ति राख्न नपाइने व्यवस्था गरे । राजा सिद्दिनरसिंह मल्लले तिब्बत भएर फर्कने जोसुकैले पनि पानी पतिया गर्नुपर्ने उर्दी जारी गरे । प्रताप मल्लले पनि जातीय विभेदलाइ मलजल गर्ने काम गरे । वि.सं. १८२५ मा पृथ्वी नारायण शाहबाट पनि वर्ण व्यवस्था (चार वर्ण छत्तिस जात) कार्यान्वयन गर्ने काम भयो ।

वि सं १९१० मा जंगबहादुर राणाले अंग्रेज कानूनबाट प्रभावित भई मैथली व्राम्हण लोकपाती र लेसपाती झालाई मार्फत मुलुकी ऐन नामक कानून निर्माण गरे । उनीहरुले मनुस्मृतिमा आधारित भएर शुद्ध र अशुद्ध जातमा विभाजन गर्दै, तागाधारी, मतवाली (मासिने र नमासिने), छुन हुने र छुन नहुने तर छोइछिटो हाल्न नपर्ने र छुन नहुने छोइछिटो हाल्नु पर्ने गरी जातीय विभाजन गरे । यो नेपालको पहिलो लिखित कानून थियो । जुन विशुद्ध जातमा आधारित थियो ।

त्यसवेलादेखि मानिसलाई जातका आधारमा राज्य सत्ताको नजिक वा टाढा राख्ने काम भयो । जातकै आधारमा पेशा, विवाह, खानपान, सामाजिक सम्बन्ध निर्धारण भयो । दण्ड र सजायमा पनि फरक फरक व्यवस्था गरेको थियो । वि.सं. २०२० को नयां मुलुकी ऐनले यसलाई प्रतिस्थापन गरेको थियो ।

वर्ण व्यवस्थालाई अलंघनीय बनाइयो । जसको आधारमा शासक वर्गले ठूलो जमातमा रहेको श्रमिक वर्गमा फुट गराई आफ्नो अभिष्ट पूरा गर्ने हतियारको रुपमा जातलाई प्रयोग गरे । विकसित समाजमा जातको प्रयोग अझ बढी भएको छ । सन् १८५०-१९२० सम्म बेलायती उपनिवेशी शासकहरुले कानून बनाई दलित जातका मानिसलाई सरकारका माथिल्ला पदमा नियुक्त हुन प्रतिबन्ध गरे । उपनिवेशी शासनपूर्व जात व्यवस्था केवल कामसंग सम्बन्धित थियो तर उपनिवेशी शासकले शुद्रलाई दलित नामाकरण गर्दै शुद्रलाई वहिष्करणमा पुर्याए ।

सन् १९४७ मा अंग्रेजले भारत र पाकिस्तानलाई जातको आधारमा विभाजन गरे । जसले दक्षिण एसियामा जातीय द्वन्द्वको विजारोपण गर्न सफल भयो । जसको प्रत्यक्ष असर नेपालमा पनि देखिनगयो । बहुसंख्यक जनतालाई वहिष्करणमा पारी मुठ्ठीभर शासकको हातमा राज्य संयन्त्र रहंदा मुलुक झनझन रुढिवादी संस्कारमा जकडिन पुग्यो । प्रजातन्त्र, गणतन्त्र पश्चात पनि जातीय विभेद उस्तै रह्यो ।

दलित समुदायको उत्पत्ति र विकासको छुट्टै इतिहास पाइंदैन । नेपाल, बयलकोटी, बस्याल, रोका, बोगटी, हुमगांइ, घिमिरे, घर्ती, विष्टलगायत कतिपय थर दलित, ब्राम्हण, क्षत्रीमा एउटै रहेको छ । यी सबै जातको उत्पत्ति एउटै हो । ब्राम्हण, क्षत्रीका थरहरु ठाउंको नाम, पद, सैनिक दर्जाको नामबाट राखिएको छ । संभ्रान्त बर्गले आफ्नो स्वार्थ सिद्ध गर्न भाग्यवादी संस्कार, पुनर्जन्म, पाप, धर्म जस्ता कपोकल्पित परिकल्पना गर्दै विभिन्न जातको निर्माण गर्योस ।

व्यवहारिक रुपमा भाषा, भुगोल, व्यवसाय, वसोबास, आचरण, घटना, कामको प्रकृतिको आधारमा विभिन्न थरहरु देखिए । जनजाती समूहमा पनि विभिन्न ठाउँ, घटना, राजनीतिक निर्णय, विवाह, कर्म, खानपिन संस्कारलाई आधार मानेर विभिन्न थरहरु र आन्तरिक समूहहरु बनेका थिए । कालान्तरमा यही नै उनीहरुको परिचय बन्यो । जसमा कुनै वैज्ञानिकता छैन । इतिहासमा एउटै पुर्खाबाट विकास भएको मानव समुदायलाई शुद्ध र अशुद्ध, उच्च र निचमा विभाजन गर्योा ।

निष्कर्ष
यसरी विगत लामो समयदेखि विभिन्न बहाना र तिकडम गरी चेपमा पारिएका, सिमान्तकृत, किनाराकृत, कमजोर बनाइएका, वहिष्करण गरिएकाहरु विगत ७० वर्षदेखि विभिन्न राजनीतिक दल, संघसंस्थाको माध्ययबाट आफ्नो अस्तित्व पुनर्स्थापनाको खोजिमा अधिकार प्राप्तिका लागि संगठित हुँदै समान र सम्मानजनक जीवन जिउन पाउने हक स्थापित गर्दै आफ्नोपन सहितको पहिचानको खोजीमा छन् ।

नेपालको संविधान २०७२ मा सवैप्रकारका वर्ग, लिंग, जात, धर्मको आधारमा भेदभाव नगरिने उल्लेख गरिएको छ । यद्यपि कार्यान्वयन पक्ष फितलो छ । जातीय, वर्गीय, आर्थिक, राजनीतिक, सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय एकता कायम गरी समृद्ध तथा समुन्नत राष्ट्र निर्माण गर्न, राज्यप्रति सबैको अपनत्वको विकास गर्न, कानूनको कार्यान्वयन कडाइका साथ लागू गर्दै र विभिन्न प्रकारका आन्दोलन, विवाद र द्वन्द्वलाई सम्बोधन गर्दै समाजवाद उन्मुख समतामूलक समाजको निर्माण गर्न समयमा नै सबै प्रकारका चूनौतीका समाधान खोज्दै समृद्ध राष्ट्र निर्माण गर्नु आजको आवश्यकता हो ।

अतः समाजलाई पूर्णाङ्गी बनाउन सबै मानिसको उति नै आवश्यकता र महत्व रहेको कुरा मनन गर्दै जातीय विभेद जस्तो जघन्य अपराधको अन्त्य गरौं, भेरी घटनाको पुनरावृति हुने आधारहरुको समुल नष्ट गरौं ।

२०७७ जेठ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: