Fri. Jan 31st, 2025

तत्काल यति गरिहालौं सरकार !

विकास श्रेष्ठ–

पाँच महिनाअघि उत्तरी छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट सुरु भई युरोपेली मुलुक हुँदै फैलिएको कोरोना भाइरस (कोभिड-१९) को एक महिनापछि माघ ९ गते नेपालमा पहिलो संक्रमण देखिएको थियो । त्योभन्दा अघि संक्रमणले ती मुलुकका जनजीवन र अर्थतन्त्र भयावह बन्दै गरेको कहालीलाग्दो दृश्य हाम्रो आँखैअगाडि थियो । नेपालमा पनि ढिलोचाँडो संक्रमण भित्रिने खतरा थियो, केही विज्ञहरूले आधारसहित भनेका थिए ।

संक्रमणलाई नेपाल भित्रिन नदिन र भित्रिहाले पनि त्यसको प्रभाव कमभन्दा कम बनाउन नेपालसँग पर्याप्त समय थियो । तर, सरकारको ध्यान त्यतातिर गएन । त्यसको दुष्परिणाम अहिले हामी भोगिरहेका छौं । समस्यामा नपर्ने र प्रभावित नहुनेहरू कोही छैनन् । मानवीय जीवन र यसको क्षतिको कसैगरी मूल्यांकन हुन सक्दैन, अथाह हुन्छ, पूर्ति पनि गर्न सकिँदैन । निकै लामो समय उद्योगधन्दा, व्यापारव्यवसाय, उत्पादन ठप्पप्रायः हुँदा अर्थतन्त्रमा पुगेको क्षतिको मूल्यांकन पनि गर्न नसकिने स्थितिमा पुगेको छ । सामाजिक र मनोवैज्ञानिक दुष्प्रभावको हिसाब त यसै अमूर्त हुन्छ नै ।

संक्रमण समुदायस्तरमा पुगिसकेको छ । तथ्याङ्कमा हेर्दा, जेठको तेस्रो साताको मध्यतिर९१८ जेठ २०७७० आइपुग्दा ८ जनाले ज्यान गुमाएका छन् , १५७२ को हाराहारीमा संक्रमित भएका छन् । आइसोलेसनमा १३४४, क्वारेन्टाइनमा १ लाख १९ हजार १९२ जना छन् । दिनप्रतिदिन यी सबैको संख्या बढ्दो क्रममा छ । परीक्षणको दायरा बढाउँदै जाँदा संक्रमित धेरै फेला पर्छन् भन्ने तथ्य पुष्टि भैसकेको छ । हालसम्म ६९ हजार ५८७ जनाको पिसिआर प्रविधिबाट परीक्षण भएको छ ।

संक्रमण फैलिइरहेको भारतबाट नेपालीहरू असुरक्षित, अव्यवस्थित र कष्टकर ढंगबाट स्वदेश फर्किन बाध्य छन् , जुन ठूलो संख्यामा छ । अरु मुलुकबाट फर्किन चाहनेहरूको संख्या उत्तिकै छ । यी सबै गर्दा पाँच लाखभन्दा बढी नेपाली स्वदेश फर्किँदैछन् । नेपालभित्र संक्रमण जारी रहेको र संक्रमित मुलुकबाट नेपालीहरू आउँदै गरेको परिप्रेक्ष्यमा सरकारले तत्काल अझ बढी सावधानी अपनाउनु र तयारी गरी सबै क्षमता बढाउनु आवश्यक छ ।

हाल नेपालमा भएका जम्मा २९ वटा कोभिड अस्पताल र कोभिड क्लिनिक सञ्चालन गर्ने १२६ वटा अस्पतालमा पर्याप्त दक्ष जनशक्ति नभएको, पर्याप्त र गुणस्तरीय सुरक्षा सामाग्री९पिपिइ० नभएको, बिरामीले उचित उपचार र हेरचाह नपाएको, पिसिआर प्रविधिबाट स्वाब परीक्षण गर्ने जम्मा २० वटा प्रयोगशालामा प्राविधिक सामाग्री र जनशक्ति अभावले सबै प्रयोगशाला उपयोगमा नआएको गुनासो र तथ्य यथावत छ । संसारभरको अनुभवबाट कोरोना बिरामीलाई बचाउने अन्तिम संसाधन मानिएको भेन्टिलेटरसहितको उपचार कक्ष १५६ वटा र त्यत्तिकै जरुरी ठानिएको आइसियु कक्ष ३९६ वटा मात्र हुनु र तिनमा पनि प्राविधिक सामाग्री अपर्याप्त छ । १६२४ वटा आइसोलेसन बेड उत्तिकै अपर्याप्त हो ।

६१,२४५ वटा क्वारेन्टाइन बेड एक त पर्याप्त हुँदै होइन भने अर्कोतिर अधिकांश मापदण्डविपरीतका, अव्यवस्थित र असुरक्षित भएका भयावह तथ्यहरू बाहिर आएका छन् । क्वारेन्टाइनमै ज्यान गुमेका घटना पुष्टि भैसकेका छन् । उचित सुताइबसाइ, खानपान, सरसफाइ, व्यवहार र मनोवैज्ञानिक परामर्शको अभावमा भाग्ने क्रम बढिरहेको छ ।

यो संकटको सामना गर्न सबै एकजुट हुन जरुरी छ ।अग्रभागमा प्रत्यक्ष रूपमा चिकित्साकर्मीहरू लागिरहेका छन् , सुरक्षाकर्मीहरूले साथ दिइरहेका छन् । सरकारलाई प्रमुख प्रतिपक्षी दल, अरु दल, सञ्चार माध्यम, नागरिकले निरन्तर रूपमा सहयोग गरिरहेका छन् , सुझाइरहेका छन् , खबरदारी गरिरहेका छन् । सरकार उदासीन हुँदा वा समयमै कार्यसम्पादन नगरिँदा संसद् र संसदीय समितिहरूले निर्देशन दिएका छन् , सर्वोच्च अदालतले आदेश जारी गर्नुपरेको छ ।

तथ्यहरू निराशाजनक छन् र गति सुस्त भैरहे वा यथास्थिति रहिरहे भावी दिन झन् अफ्ट्यारो हुने निश्चित छ । त्यसैले सरकारले अब तत्काल क्वारेन्टाइन स्थल सुव्यस्थित बनाउने र संख्या बढाउने, थप अस्पतालमा उपचारको व्यवस्था मिलाउने, भेन्टिलेटर र आइसियु उपचार कक्षको संख्या बढाउने, डाक्टर तथा नर्सलगायत फ्रन्टलाइनरहरूका लागि गुणस्तरीय सुरक्षा सामाग्री उपलब्ध गराउने, आइसोलेसन बेडको संख्या बढाउने, पिसिआर परीक्षणको दायरा बढाउने, संक्रमितको मनोबल बढाउने काम गर्नुपर्छ । उत्तिकै महत्त्वपूर्ण विषय, बाहिरबाट स्वदेश फर्किन चाहनेहरूलाई व्यवस्थित र सुरक्षित तवरले ल्याउने र व्यवस्थित क्वारेन्टाइनमा राखी पिसिआर प्रविधिबाट स्वाब परीक्षण गरिनुपर्छ । सँगै उद्योगधन्दा, व्यापारव्यवसाय तथा पेशा चौपट हुँदै गएका, रोजगारी गुमेका, पढाइ र परीक्षा अनिश्चित भएका, दैनिक ज्यालादारीमा काम गर्ने, बेरोजगार, सर्वसाधारण सबैका लागि न्यायोचित सम्बोधन हुने र तिनको मनोबल बढाउने गरी ठोस कार्यक्रम वा राहत प्याकेज ल्याइनुपर्छ ।


२०७७ जेठ १९ गते प्रकाशित

About The Author