विकास श्रेष्ठ–
हामी बाँचिराखेको समाजमा धेरै खालका घटना भईरहन्छन् । अपेक्षित, अनपेक्षित, सामान्य, असामान्य । पछिल्लो समय एउटा निकै अनपेक्षित, असामान्य र अकल्पनीय घटना घटाइयोस भेरी नदी र आसपासमा । प्रेमसम्बन्धमा रहेका रुकुमपश्चिम, चौरजहारीका सुष्मा मल्ल र जाजरकोटका नवराज विकको प्रेमसम्बन्ध अन्त्य मात्र गराइएन, प्रेमी नवराजको जीवन नै समाप्त गराइयो । जीउ सिरिङ्ग बनाउने यो घटनाले हाम्रो राज्य र समाजमाथि धेरै प्रश्न सिर्जना गराएको छ ।
यही प्रकृतिको घटना यो पहिलो होइन र राज्य एवम् समाजको अहिलेकै जस्तो संरचना, कार्यनीति, सोच, व्यवहार, प्रवृत्ति जारी रहने हो भने दुस्खपूर्वक भन्नुपर्छ, अन्तिम पनि हुँदैन । निश्चय नै, पहिले भन्दा कानुनी प्रबन्ध बलियो बनेको छ । तर, समस्याको मूल जडमा नपुगी जतिसुकै सुदृढ प्रबन्ध गरिएपनि सकारात्मक परिणाम निक्लिँदैन । कुनै कालखण्डमा त्यतिबेलाको शासकको चेतनास्तर, स्वार्थ र आवश्यकताले विभाजन गरिएको भनिएको जातीय संरचना जुगजुगसम्म चल्न सक्दैन ।
गति समयको मात्र बढेको छैनस मानिसको चेतनास्तर र आवश्यकता अनि तदअनुरूपको व्यक्तिगत तथा सामाजिक उन्नति, भौतिक प्रगति तथा प्रविधिको विकास विछट्टै बढेको छ । हिजो कोही अविवेकी शासक थिए तर आज पनि हरेक व्यक्तिसँग उसको हैसियतअनुसार आफ्नो ठाउँमा शासकीय प्रवृत्ति र अभिमान छ । राजनीतिक वा वैधानिक रूपमा हैसियत प्राप्त शासकरनेतृत्व त छँदैछ, घरपरिवारमा घरमूली, कक्षाकोठामा मनिटर, साथीसँगातीमा अगुवाजस्ता हरेक ठाउँमा यो भेटिन्छ । यो सर्वथा गलत त होइन तर हाम्रो र सामाजिक चरित्रलगायतका कारणले नेतृत्वलाई गलत अभ्यासका लागि दुरुपयोग गर्ने प्रवृत्ति धेरैथोरै सबैमा छ ।
अहिले लगभग हरेक घरमा पढेलेखेका मानिस छन् , छिमेकमा छन् । गाउँटोलमा जनप्रतिनिधि, राजनीतिक, शैक्षिक तथा सामाजिक अगुवा छन् । रेडियोको पहुँच नपुगेको ठाउँ छैन । टेलिभिजन, पत्रपत्रिका र सामाजिक सञ्जालको कुनैनकुनै प्रभाव छ । आवश्यकता, बाध्यता वा रहरले सहर वा विदेश नगएकाको घर वा टोल छैन । सरकारी, गैरसरकारी तथा सामुदायिक संस्थाहरूले परियोजना तथा कार्यक्रम अथाह रूपमा सञ्चालन गरेरगरेका छन् । सहकारी तथा वित्तीय संस्थालगायतले आर्थिक गतिविधि सञ्चालन गरेका छन् । यी सबैको अर्थ भनेको केही अपवादका ठाउँमा बाहेक नागरिक र समाजको चेतनास्तर निकै बढेको छ । यो हिसाबले जातीय विभेदका घटनामात्र होइन हरेक खालका कुरीति तथा विसंगति निकै कम हुनुपर्ने हो, समाज निर्वाध रूपमा समृद्धिको यात्रामा हुनुपर्ने हो ।
नेपालमा माओवादी आन्दोलनले धेरै मानवीय, भौतिक, सांस्कृतिक तथा मनोवैज्ञानिक क्षति गर्यो । तर ‘पुरानोको ध्वंस र नयाँ निर्माण’ को उसको थ्योरीलाई मान्ने हो भने मानवीय र मनोवैज्ञानिक क्षतिबाहेक उक्त आन्दोलनका कारण उल्लेखनीय उपलब्धि भएका छन् । माओवादीले आफ्नो आन्दोलनको शक्तिको स्रोत भूमिहीन, गरिब, शोषितपीडित, दलित, जनजाति आदिलाई मानेको थियो र उद्गम र उर्वर क्षेत्र रुकुम, रोल्पा, सल्यान, जाजरकोटलगायतका जिल्ला थिए । नवराज विक मारिएको घटनालाई यो कसीमा राखेर हेर्ने हो भने उर्वर क्षेत्रमै घटेको यो घटनाले उक्त आन्दोलनको दलितमुक्ति (दलित शब्दमै मेरो असहमति छ, कुनै बेला चर्चा गरौंला) को महान उद्देश्य वास्तविक नै थियो र भन्ने कुरामा घोत्लिनुपर्ने भएको छ । यद्यपि एउटै घटनाले सिंगो दलितमुक्तिको विश्लेषण हुन सक्दैन नै ।
दुई विपरीतलिंगीको आपसी प्रेमसम्बन्ध स्वभाविक हो । सुष्मा र नवराजको प्रेमसम्बन्धलाई घरपरिवार र समाजले उसको स्वार्थविपरीत ठान्यो र अस्वभाविक मान्यो । उनीहरूको बुझाइमा जातीय तालमेल मिलेन र उनीहरूमा मानसिक विचलन सिर्जना भयो । तराजुमा एकातिर छोरीको अन्तरचेतना र विवेकले गरेको निर्णय अनि अर्कोतिर जातीय अहंकार र कथित प्रतिष्ठा राखेर तौलने घरपरिवार तथा समाजले छोरीको मनोविज्ञान बुझ्नै चाहेन । अझ सम्झाइबुझाइ गरी जातीय पर्खाल भत्काउने जिम्मेवारी भएका वडाअध्यक्ष पनि यो घटनामा आरोपित हुनु निकै उदेकलाग्दो विषय हो ।
चेतनामा बिर्को लगाएर मानवता भुल्नु र मानवीय सहअस्तित्व नस्विकार्नु हाम्रो सामाजिक चरित्रको विभत्स रूप हो । सामान्य प्रयासले यसको अन्त्य हुँदैहुँदैन । कतिपय घटनामा समयमै न्यायसम्पादन तथा त्यसको कार्यान्वयन नगरिँदा र कतिपयमा स्वार्थसमूहको प्रभाव, दबाब र हस्तक्षेपका कारण न्याय नपाउँदा घटनाको बढोत्तरी भएको छ । यी बेथितिको अन्त्य गरिनुपर्छ । सरकारको कानुनी डण्डाले मात्र पनि सम्भव छैन । यसका लागि हामीभित्र रहेको शासकीय सोच, अभिमान, प्रवृत्ति र व्यवहार छोड्नुपर्छ । हाम्रो चेतना र विवेक स्वार्थविहीन बनाउन सक्नुपर्छ । मानिस(मानिसका बीचमा सहभाव र सम्मानभाव व्यवहारमा प्रकट हुनुपर्छ । होईन भने, धेरै ुदलितु नवराजहरूको सुन्दर जीवन हामी गुमाइरहन्छौं । प्रेमसम्बन्धहरूको कारुणिक अन्त्य भैरहनेछ । जातीय छुवाछूत तथा विभेदको शृङ्खला टुट्दैन । धेरैथोरै दोषको भागीदार हामी पनि हुन्छौं । राज्य, हामी र समाजतिर प्रश्न तेर्सिरहन्छ ।
लेखक नेपाली काङग्रेस जिल्ला कार्यसमितिका सदस्य हुनुहुन्छ ।
२०७७ जेठ १३ गते प्रकाशित