Mon. Mar 10th, 2025

मकैबालीमा फौजी किराको प्रकोपपछि धादिङका किसान चिन्तित

फौजी किराको प्रकोप देखिएको मकैबाली अनुगमन गर्दै सिद्धलेक गाउँपालिकाका अध्यक्ष लगायतको टोली ।


१० जेठ, धादिङ –


धादिङका विभिन्न ठाउँमा फैलिएको फौजी किराको प्रकोपले किसानहरु चिन्तित बनेका छन् । जिल्लाको नीलकण्ठ नगरपालिका, सिद्धलेक, गल्छी, ज्वालामुखी, त्रिपूरासुन्दरी गाउँपालिकाका विभिन्न ठाउँमा लगाइएको मकै बालीमा फौजी किरा देखिएको हो । केही गोड्ने बेला र केही गोडिसकेका मकै कीराले खाएर नष्ट गरेपछि किसानहरु अन्यौलमा परेका छन् ।

लकडाउनका कारण मारमा परेका किसानहरु किराको संक्रमणले झनै चिन्तित बनेका छन् । मकै बालीबाट राम्रो आम्दानी लिने सोच बनाएका किसान फौजी किराको आक्रमणले गर्दा अनिकालले सताउने हो कि भन्ने चिन्तामा रहेको सिद्धलेक गाउँपालिका वडा नं १ जलकिनीका किसान बलबहादुर तामाङले बताए ।

अमेरिकन फौजी किरा (फल आर्मीवर्म) मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलो पटक अमेरिकामा देखा परेको थियो । गर्मी महिनामा एक रातमै एक सय किलोमिटरभन्दा लामो यात्रा गर्न सक्ने यो मिचाहा कीरा पुतली समूहमा पर्छ र राति सक्रिय हुन्छ । बालीमा क्षति पु¥याउने चाहिँ कीराको लार्भाले हो ।

सिद्धलेक गाउँपालिकाका वडा नं १ र ६ मा फौजी किराको संक्रमण देखिएको छ । मकैमा किराको संक्रमण देखिएपछि गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, कृषि शाखाका प्रमुख छविलाल गुरुङ लगायतको टोली गएर अनुगमन गरी विषादी प्रदान गरेको छ । ‘त्यस ठाउँको १५ हजार हेक्टर भन्दा बढी जग्गामा लगाइएको मकै बालीमा रोग देखिएको छ,’ कृषि शाखाका प्रमुख गुरुङले भने, ‘हामीले दिएको विषादीले काम ग¥यो भने मकै हुर्किन्छ नत्र किसानको मेहनत खेर जाने अवस्था छ ।’

रोगको संक्रमणले गर्दा जिल्लाको नीलकण्ठ नगरपालिकाको वडा नं. ७, ८ र १२, गल्छी गाउँपालिका वडा नं. १ को कल्लेरीटार, फोस्रेटार, डुम्रीचौर, वडा नं. ६ को जिन्ठेटार, ज्वालामुखी गाउँपालिकाको वडा नं. २, ३ र ४, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ र २ लगायतका क्षेत्रका किसानहरु चिन्तित बनेका छन् ।

विगतमा पनि छिटपुट रुपमा मकैमा फौजि किरा देखिएपछि यस वर्ष सतर्क रहन बेलैमा आग्रह गरेको कृषि ज्ञान केन्द्र धादिङका वरिष्ठ कृषि विकास अधिकृत होमराज विष्टले बताए । फौजी किराबारे धादिङका सबै स्थानीय तहका जनप्रतिनिधि, कृषि प्राविधिक र अगुवा किसानलाई बताएको भएपनि त्यसतर्फ ध्यान नदिंदा किसानले नोक्सानी व्यहोर्नु परेको विष्टले बताए ।

२०७७ जेठ १० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: