६ जेठ, थाक्रे (धादिङ)/मनिष दुवाडी-
सोमबार भेटिएका कोरोना भाइरसका संक्रमितहरु मध्ये धादिङको थाक्रे गाउँपालिका वडा नं ७ जुँगेखोला क्षेत्रका एक पुरुष पनि रहेका छन् ।
यो संगै धादिङ जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सङ्ख्या ३ पुगेको छ । एक जना नेत्रावती गाउँपालिका वडा न. ३ सेमजोङका उर बहादुर तामाङ भने पुर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने २ जनाको उपचार भइरहेको छ ।
काठमाण्डौको बागबजारमा ब्यवसाय गरेर बस्ने उनी गत चैत्र ११ गते थाक्रे स्थित गाउँ आएर २८ गते काठमाण्डौ नै फर्किएका थिए । गाउँको स्थानीय ब्यक्तिलाइ कोरोनाको संक्रमण देखिएपछि अहिले थाक्रे ८ को जुँगेखोला क्षेत्रलाइ जिल्ला सुरक्षा समितिले शील गरेको छ ।
मंगवार विहान थाक्रे गाउँपालिका प्रमुख रामकुमार आचार्य सहित प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको वैठकले पुर्वका धार्केखोला पुल, पश्चिममा आडकिला मोड, उत्तरमा महेश खोला र दक्षिणमा उडुवादेवी आधारभुत विद्यालय वीचको क्षेत्रलाइ शील गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गर्दै उल्लेखित चारकिल्ला क्षेत्र भित्र प्रहरी परिचालन गरेर पुर्ण रुपमा आवतजावत बन्द गराइएको छ ।
उक्त क्षेत्रमा नेपाल प्रहरी र शसस्त्र प्रहरीले नियमित गस्ती गरि सुरक्षा ब्यवस्था मिलाइरहेको छ भने स्थानीयलाइ घर बाहिर ननिक्लिनको लागि माइकिङ समेत गर्न थालिएको छ । आवश्यक परेको खण्डमा नेपाली सेनालाइ समेत सवारी गस्ती गर्न निर्देशन दिइएको छ ।
संक्रमित ब्यक्ति लामो समयसम्म गाउँमा बसेर काठमाण्डौ गएकाले उनको सम्पर्कमा रहेका ब्यक्तिहरुलाइ खोजतलास गर्नको लागि वडाअध्यक्ष, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको टिम बनाइएको थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले जानकारी दिए । उनले भने, ‘संक्रमित ब्यक्तिसंग जोडिएका सवै स्थानीयहरुलाइ गाउँपालिकाको क्वारेन्टाइनमा ल्याएर राख्ने छौ भने उनीहरु सवैको पिसिआर परिक्षण गराउने छौँ ।’
२०७७ जेठ ६ गते प्रकाशित