Thu. Nov 28th, 2024

धादिङमा २१ हजार बालबालिकालाई लगाइयो दादुराको खोप

बालबालिकालाई खोप लगाइदिदै स्वास्थ्यकर्मी ।

२५ बैशाख, धादिङ –


धादिङ जिल्लाको बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा २१ हजार ४ सय ५५ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइएको छ । गत बैशाख १७ गतेदेखि २३ गतेसम्म संचालन गरिएको खोप अभियानमा बेनिघाट रोराङ गाउँपालिकामा ११ हजार तीन सय ८१ बालबालिका र गजुरी गाउँपालिकामा १० हजार ७४ जना बालबालिकालाई खोप लगाइएको हो । दादुराको महामारी फैलिएपछि सरकारले ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउने अभियान संचालन गरेको थियो ।

बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६ स्थित चेपाङबस्तीबाट फैलिएको दादुराले दुई बालबालिकाको ज्यान समेत लिएको थियो । आसपासका स्थानीय तहहरुमा पनि फैलिन थालेपछि खोप अभियान संचालन गरिएको हो । बेनिघाट रोराङ गाउँपालिकामा ६ महिनादेखि २४ महिनासम्मका एक हजार दुई सय ५१ जना र २५ महिनादेखि १५ वर्षसम्मका १० हजार एक सय ३० जना बालबालिकालाई खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिए । ११ हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको भएपनि लक्ष्य भन्दा बढी खोप लगाउन सफल भएको उनले बताए ।

यता गजुरी गाउँपालिकामा ६ महिनादेखि २४ महिनासम्मका नौ सय ८३ जना र २५ महिनादेखि १५ वर्षसम्मका नौ हजार ९१ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले बताए । नौ हजार आठ सय ७९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखेको थियो ।
गत चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महामारीबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र २९ महिने बालिका अनिसा चेपाङको मृत्यु भएको थियो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा फैलिएको दादुराबाट गाउँका अन्य व्यक्तिहरुलाई पनि फैलिन थालेपछि सरकारले कोरोनाका कारण स्थागित गरेको खोप अभियान सुरु गरेको थियो ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला । चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने गर्छ । दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ । विपन्न समुदायका चेपाङहरु अशिक्षा र अज्ञानताका कारण बालबालिकालाई खोप लगाउनु पर्छ भन्ने ज्ञान नहुदाँ बर्षेनी दादुराको महामारी फैलिने गर्दछ ।

२०७७ बैशाख २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: