Thu. Nov 28th, 2024

बेनिघाट रोराङ गाउँपालिकामा ११ हजार ३ सय ८१ जनालाई लगाइयो दादुराको खोप

२४ बैशाख, धादिङ–


धादिङको बेनिघाट रोराङ गाउँपालिकामा ११ हजार तीन सय ८१ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइएको छ । गत बैशाख १७ गतेदेखि २३ गतेसम्म संचालन गरिएको खोप अभियानमा ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले जानकारी दिए ।

गाउँपालिकाभित्र ६ महिनादेखि १५ वर्षसम्मका ११ हजार तीन सय ७८ जना बालबालिकालाई खोप लगाइने लक्ष्य राखिएको भएपनि लक्ष्य भन्दा बढी खोप लगाउन सफल भएको दुवाडीले बताए । ६ महिनादेखि २४ महिनासम्मका एक हजार दुई सय ५१ जना र २५ महिनादेखि १५ वर्षसम्मका १० हजार एक सय ३० जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य संयोजक दुवाडीले पाविलन्यूज डटकमलाई जानकारी दिए । बाहिरी जिल्ला र आसपासका स्थानीय तहहरुका बालबालिकासहितले खोप लगाएका कारण लक्ष्य भन्दा बढी भएको उनले बताए ।खोप लगाउन छुट भएका केही बालबालिकालाई बुधबार पनि खोप लगाइएको गाउँपालिकाले जनाएको छ ।

गत चैत ११ गते दादुरा रुबेलाको खोप अभियान सुरु भएकै समयमा दादुराको महामारीबाट धादिङको बेनिघाट रोराङ गाउँपालिकाका आठ महिने शिशु सुशान्त चेपाङ र १७ गते २९ महिने अनिसा चेपाङको मृत्यु भएको थियो । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ को चेपाङबस्तीहरुमा फैलिएको दादुराबाट गाउँका अन्य व्यक्तिहरुलाई पनि फैलिन थालेपछि सरकारले कोरोनाका कारण स्थागित गरेको खोप अभियान सुरु गरेको हो ।

चेपाङ समुदायको बाहुल्यता रहेको दक्षिणी धादिङका स्थानीयलाई खोप अभियानले केही राहत दिएको छ । स्वास्थ्य संस्थाका कर्मचारीहरुलाई खटाई गाउँगाउँमा खोप अभियान संचालन गरिएको हो । बेनिघाट रोराङबाट फैलिएको महामारीले वरपरका अन्य स्थानीय तहहरुले पनि सतकर्ता अपनाएको छ । चितवनको इच्छाकामना, गोरखाको गण्डकी गाउँपालिका मकवानपुरको थाहा, धादिङको गजुरी, सिद्धलेक लगायतका गाउँपालिकाहरुले पनि सर्वेक्षण सुरु गरेको छ ।

मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला । चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने गर्छ । दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ । विपन्न समुदायका चेपाङहरु अशिक्षाका कारण बालबालिकालाई खोप लगाउनु पर्छ भन्ने ज्ञान नहुदाँ बर्षेनी दादुराको महामारी फैलिने गर्दछ ।

२०७७ बैशाख २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: