Thu. Nov 28th, 2024

धादिङमा दादुरा–रुबेलाबाट जोगिन खोप अभियान सुरु

गजुरी गाउँपालिका वडा नं २ को चम्पराङटोलमा दादुरा रुबेला खोप लगाइदै । तस्बिर सौजन्य : रामशरण डल्लाकोटी


१७ बैशाख, धादिङ–


धादिङमा दादुरा रुबेलाबाट जोगिन खोप अभियान सुरु भएको छ । जिल्लाको गजुरी र बेनिघाट गाउँपालिकाका विभिन्न स्थानका बालबालिकालाई खोप लगाइएको छ । अभियानको पहिलो दिन गजुरी गाउँपालिकाको मलेखु भद्रकाली, चम्पराङ, किरान्चोक माध्यमिक विद्यालय, सेती देवी आधारभुत विद्यालय, रिठ्ठाबोटे आधारभूत विद्यालय लगाएतका ठाउँहरुमा खोप अभियान संचालन गरिएको छ । पहिलो दिन गजुरी गाउँपालिकाभरि १ हजार ४ सय ३० जनालाई खोप लगाइएको छ ।

त्यस्तै बेनिघाट गाउँपालिकाको कुन्चुरुङ, बाँसखर्क, सिमटार, जरुङ, ब्रोम्द,ी, ग्यावाटोल, लवाङ, चिम्बाङ, नाम्जीराङ, माथिल्लो ओर्बाङ, तल्लो ओर्बाङ, तिनकन्या आधारभुत विद्यालय, तिनकन्या वागेश्वरी आधारभुत विद्यालय, सलाङघाट स्वास्थ्य केन्द्र, बागेश्वरी माध्यामिक विद्यालय, राजमार्ग अस्पताल, व्राइटफ्यूचर बोर्डिङ, पाङ्ग्राजिपमा खोपअ अभियान संचालन गरिएको छ ।

अभियानभर ६ महिनादेखि १५ वर्षसम्मका बाल बालिकाहरुलाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने तथा ‍भिटामिन ए र जुगाको औषधी खुवाइने गाउँपालिकाले जनाएको छ । खोप अभियान गजुरीमा बैशाख २३ गते र बेनिघाट रोराङ गाउँपालिकामा बैशाख २२ गतेसम्म संचालन हुने गाउँपालिकाले जनाएको छ ।

के हो दादुरा–रुबेला रोग ?
मिजल्स भाइरसका कारण हुने दादुरा छिट्टै सर्ने संक्रामक रोग हो । रुबेला भाइरसका कारण हुने दादुरा जस्तै देखिने अर्को संक्रामक रोग हो रुबेला । चाडै महामारीको रुप लिनसक्ने यी रोगहरु विशेषगरी ५ वर्षमुनिका बालबालिकालाई धेरै हुने गर्छ । दादुरा संक्रमण भएमा मृत्यु समेत हुनसक्छ । त्यसैगरी, रुबेला भाइरस दादुरा रोगको लक्षण भन्दा सामान्य किसिमको हुन्छ । तर, गर्भावस्थामा रुबेला संक्रमण भएमा विभिन्न जटिलताहरु देखिने गर्छ । जस्तैः समय नपुगी बच्चा जन्मने, मृत बच्चा जन्मिने तथा गम्भीर प्रकारको जन्मजात हुने विकलांगहरू देखा पर्नसक्ने, गर्भपतन हुने। यस्तो रोग लागेमा अरुलाई सर्नबाट जोगाउन बिरामीलाई अलग ठाउँमा राख्न आवश्यक हुन्छ। यससँगै चिकित्समको सल्लाहमा लक्षणअनुसार तत्काल उपचार गरिहाल्नुपर्छ।

कसरी सर्छ दादुरा
दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्किने तरल पदार्थको सम्पर्कमा आँउदा, हाच्छ्यूँ गर्दा, र खोक्दा विषाणु हावामा फैलिएर सर्छ। दादुरा रोगको लक्षण देखिनु भन्दा अघि तथा लक्षण देखिइसकेपछि पनि धेरै दिनसम्म संक्रमितले दादुराका विषाणु सार्दछन्। बालबालिकाहरू समूहमा जम्मा हुने या भिड हुने स्थानहरूमा सजिलैसँग एकअर्कामा सर्नसक्छ।

कस्ता हुन्छन् लक्षण

दादुरा रोगको पहिलो लक्षण उच्च ज्वरो आउनु हो। संक्रमित व्यक्तिको सम्पर्क भएको १०–१२ दिनपछि ज्वरो आउँछ। यो समयमा रोगीको नाकबाट पानी बग्ने, खोकी लाग्ने, आखाँ रातो हुने वा आँशु बग्ने र रोगीको गालाको भित्रीभागमा मसिना सेतो दाग देखापर्छ। यससँगै केही दिनपछि मुख तथा माथिल्लो गर्दनको भागमा केही उठेका विमिरा देखापर्छन्। ती विमिरा करिव ३ दिनभित्र छाती, पेट, हात तथा खुट्टामा फैलिन्छन्। यी विमिरा ५, ६ दिनसम्म रहिरहन्छन् र त्यसपछि क्रमशः हराएर जान्छन्। सामान्यतया उक्त रोगको जिवाणु शरीरमा प्रवेश गरेको ७ देखि १८ दिनभित्रमा लक्षण देखिन थाल्छ।


२०७७ बैशाख १७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: