Fri. Jan 31st, 2025

अर्थतन्त्रमा कोरोनाको संभावित असर

रमेश अधिकारी –

‘‘होलीमा गएका कामदारहरु फर्किन नपाउँदै लकडाउन शुरु भयो, ८ जना श्रमिकहरु सबै तराई मूलका छन् ,बन्दाबन्दी खुली हाले पनि उनीहरु आउने हुन् कि होइनन्, चिन्ता छ‘‘………सीता दुवाडी खनाल ।

‘‘मानसिक रुपमा पनि तनाव छ, अब ब्यापारमै लाग्ने भनेर व्लक सगै खाद्यान्न उत्पादन शुरु गरियो, फसियो, सीप भएको कामदार घर फर्के आउने हो कि होइनन् ठेगान छैन । यो वीचको तलब दिन सकिने अवस्था रहेन त्यसकारण पनि नफर्कन सक्छन् । बैकले ताकेता गरीसकेको छ, कसरी तिर्ने किस्ता र व्याज‘‘…….ईश्वर कोइराला ।

‘‘व्लकको व्यापार राम्रो भएकोले क्रसर थपियो, यै वेला कोरोना आतङ्क आइलाग्यो । व्यवसाय कसरी शुरु गर्ने, बैंक तिर्ने कसरी, कामदार कसरी झिकाउने‘…….. पार्वती वि.क.।
१७ नोभेम्बर २०१९ मा चीनको हुवेईमा एक ५५ वर्षिय व्यक्तिमा देखिएको कोरोना भाईरस विश्वभर फैलिरहेको छ र अहिले करीव २१० देशलाई आक्रान्त बनाएको छ । करीब २० लाख मानिसहरुमा यसको संक्रमण देखिएको छ । करिब १ लाख ६५ हजार व्यक्तिहरुको ज्यान गैसकेको छ ।

कोरोनाको असर मानवीय मात्र नभै आर्थिक क्षेत्रमा पनि नकारात्मक देखिएको छ । विश्वभर नै यसको संक्रमण घटाउन बन्दाबन्दी गरिएको छ र अन्तर्राष्ट्रिय ,राष्ट्रिय उडानहरु पनि रद्द गरिएका छन् । अर्थतन्त्रका प्रमुख माग, पूर्ति र वित्तिय तीनवटै क्षेत्र नराम्ररी प्रभावित हुने देखिन्छ । शेयर मार्केट घट्दो छ, रोजगारी गुमाएकाहरुको संख्या बढीरहेको छ । टभल कम्पनीहरुले ठूलो धक्का बेहोर्दै छन् । खाद्य संकटले बिकराल रुप लिंदै छ । उद्योगहरु बन्द भएका छन् । अर्थतन्त्र ओरालो लागेको छ ।कला, मनोरन्जन, खेलकूद र सिनेमाहलहरु बन्द छन् ।सरकारी खर्च धान्नै नसक्ने गरी बढीरहेको छ ।

कोरोनाले आयात निर्यात दुवै क्षेत्र प्रभावित छ । परिमाण स्वरुप मूल्य वृद्धिको उच्च जोखिम संगसंगै कच्चा पदार्थको अभावले उद्योग धन्दाहरु बन्द छन्, जसले दिर्घकालीन रुपले आर्थिक क्षेत्र प्रभावित हुन सक्ने देखिएको छ । नेपालका अधिकांश उद्योेगहरुको कच्चा पदार्थ चीन वा भारतबाट आयात हुन्छन् । एकातर्फ अन्तर्राष्ट्रिय नाकाहरु बन्द छन् । अर्को तर्फ देशभित्र पनि बन्दाबन्दीको अवस्था छ । यसको भार उद्यमी व्यवसायीहरुमा नराम्ररी पर्ने छ भने कामदारहरुको अवस्था झनै नाजुक हुन सक्नेछ ।बन्दाबन्दीले लगानी र उत्पादनको वातावरण विथोलिएको छ । लगानीकर्ताहरुले वित्तिय संस्थाहरुबाट लिएका कर्जाका किस्ता र व्याज भुक्तानी गर्न अब हम्वे पर्नेछ । उत्पादनका लागि संकलित कच्चापदार्थ सड्दै छन् ,उत्पादन भएर बसेका सामान उद्योगमा मै थन्किएका छन् ,बजारमा उधारो गएका सामानको भुक्तानी फर्किएको छैन । घर फर्किएका कामदारहरुको भुक्तानी अर्को संकट हो । अझ उनीहरु फर्किने ,नफर्किने अन्योलताले उद्योगकै भविष्य के हुने भन्ने चिन्ता छ ।

समग्रमा बन्दावन्दीको तत्कालिन हाम्रो मुख्य समस्या बैंक वित्तिय संस्थाका ऋण व्यवस्थापन र कामदारको प्रवन्ध हो । यतिखेर उद्यमी व्यवसायीहरु निराश हुनु हुदैन । संभावित विकल्पहरु प्रयोग गर्दै जानु पर्दछ । उद्योग व्यवसायको जर्गेना र प्रवद्र्धन गर्न राज्यको दायित्व हो किन कि देशको अर्थतन्त्रको मूल आधार नै उद्योग व्यवसाय नै हो । त्यस कारण यो संकटपूर्ण घडीमा अर्थ व्यवस्थालाई जोगाउन आर्थिक राहत प्याकेजको घोषणा गन आवश्यक छ । वन्दावन्दीको अवधि भरको व्याज मिनाहा गर्ने, आर्थिक व्यवस्था सुचारु नहुञ्जेल वैक वित्तिय संस्थाले किस्ताको अवधि थप गर्ने लगायतका वातावरण सिर्जना गर्न सक्छ । सधै बाहिरका कामदारका भरमा उद्योग व्यवसाय दिगो हुदैन, सकेसम्म आफनो उद्योगलाई चाहिने सीप आफै आर्जन गर्ने वा स्थानीय युवाहरुलाई सीपयुक्त बनाउन सके कामदारका समस्याबाट केही हदसम्म मुक्त हुन सकिन्छ र स्थानीय क्षेत्रमै रोजगारीका अवसर पनि सिर्जनन गर्न बल पुग्ने छ ।

कोरोनाको कहर सहजै अन्त्य हुने सम्भावना छैन । नेपाल जस्तो कमजोर राज्यमा संक्रमण बढ्यो भने स्थिति थप भयावह हुन सक्छ । दाता राष्ट्रहरुमा देखिएको क्षतिले नेपालको अर्थतन्त्रको सुधारमा हुन सक्ने सहयोग केही समय कम हुन सक्छ । हाम्रो अर्थतन्त्र आफनै खुट्टामा उभिन सक्ने स्थितिमा उसै पनि थिएन र छैन । राज्य जिम्मेवार र दुरदर्शी हुन सक्यो भने स्थिति काबुमै रहला । आफू जोगिने र परिवार समुदायलाई जोगाउने यस संकटपूर्ण घडीलाई पार लगाउँ, उद्योग व्यवसाय जोगाउन साझेदार निकायसँग सहकार्य र राज्यसँग जोडिएर अघि वढौं ।
(लेखक : धादिङ उद्योग वाणिज्य संघ, पूर्णिमा–नीजि क्षेत्र विकास कार्यक्रममा आबध्द हुनुहुन्छ)

२०७७ बैशाख १५ गते प्रकाशित

About The Author