Fri. Jan 31st, 2025

नेपाली कम्युनिष्ट आन्दोलन र अध्यादेशले ल्याएको तरंग


सीताराम कोइराला


विश्व सर्वहारा वर्गका महान नेता तथा महान दार्शनिक कार्लमाक्सले सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र जारी गरेपछि युरोपियन प्रतिक्रियावादीहरुले मुख खोलेर भनेकी ʺयूरोपमा एउटा भूत घुमफिर गरीरहेको छ, साम्यवादको भूत, यस भूतलाई धपाउनका लागि हामी युरोपवासीहरु एक हुनु पर्दछ ʺ तर त्यो उनीहरुले भन्ने गरेको भूत भगाउन कसैको तागत चलेन र भागेन । एउटा आगोको झिल्कोले सारा जंगल सखाप बनाउन सक्छ भने झै कम्युनिष्ट घोषणा पत्र(माक्र्सवाद) को झिल्कोले सारा संसारका शोषित, पीडित, किसान, मजदुर, सर्वहारा वर्गको आस्थाको धरोहर र मुक्तिको बाटो बनायो । पेरिस कम्युन, रुसी समाजवादी क्रान्ति र चिनियाँ नौलो जनवादी क्रान्तिसम्म आइपुग्दा युरोप, एसिया, ल्याटिन अमेरिकाका कयौं राष्ट्र र त्यहाँका शोषित पीडित जनताले मुक्ति पाए । संसारमा माक्र्सवादको एउटा झिल्कोले युगान्तकारी परिवर्तन ल्यायो ।
यही परिवर्तनको लहरमा हाम्रो देश नेपालमा २००६ साल बैशाख ७ गते तद अनुसार १९४९ अप्रिल २२ मा क. लेनिनको जन्मदिनको अवसर पारी कम्युनिष्ट पार्टीको स्थापना गरियो । देश भित्र राणा शासनको क्रुर दमनको समयमा भारतमा निर्वासनमा वसी यो एैतिहासिक र युगान्तकारी कदम उठाउनु हुने कमरेड पुष्पलाल श्रेष्ठ, कमरेड नरवाहादुर कर्माचार्य, कमरेड निरञ्जन गोविन्द बैध, कमरेड नारायण विलास जोशी, कमरेड मोतिदेवी श्रेष्ठलाई नेपाली कम्युनिष्टले कहिलै विर्सने छैनन् । पार्टी स्थापनाका वेला ल्याइएका तीनवटा नारा थिए ʺराष्ट्रियता, जनतन्त्र र जनजीविकाʺ । स्थापनाको ७० बसन्त पार गर्दा नेपाली जनताले उपभोग गर्न पाएको तीन मध्ये एक हो जनतन्त्र । राष्ट्रियताको सवालमा दैनिक हाम्रो आँगन मिचिदा, नक्शाबाटै भुमि हटाईदा लाचार भएर बस्न बाध्य छौं । जनजिविकाको सवालमा झण्डै एकतिहाई उर्जाशील जनसंख्या यो विश्वव्यापी कोरोनाको महामारीमा मातृभुमि संझेर संसारका सयौं देशहरुमा अलाप विलाप गरिरहेका छन् । पार्टी स्थापनादेखि यहाँ सम्म आईपुग्दा चाहे त्यो पञ्चायती कालरात्रीको अवस्था होस्, चाहे त्यो १० वर्षे शसस्त्र युद्धको अवस्था होस्, हाम्रा अग्रजहरुले देश र जनताको लागि कहिलै विर्सन नसक्ने कुर्वानी गर्नु भएको छ । कमरेड रत्न वान्तवा, झापा सुखानीमा कमरेड होमनाथ दाहाल, कमरेड ठगीराज दाहाल, कमरेड महेश्वर कुइकेल, कमरेड विरेन राजवंशी जस्ता महान नेताको रगत वगेको थियो । अमानवीय लामो जेल जीवन जिउने श्रद्धेय कमरेड मोहनचन्द्र अधिकारी, हाम्रा सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष कमरेड केपी शर्मा वली ताजा उदाहरण हुुनुहुन्छ । सिन्धुलीका कमरेड आजाद, धनुषाका कमरेड रामवृक्ष यादव लगायतका कैयो नेताहरुले प्राणको आहुती दिनु भएको छ । २०५२ देखि २०६२ सम्मको लामो १० वर्षे शसस्त्र जनयुद्धका क्रममा हजारौ कम्युनिष्ट नेता कार्यकर्ताले प्राणको वलिदान गर्नु भएको छ । कमरेड शुरेस वाग्ले, कमरेड मोहन चन्द्र गौतम, कमरेड रितवहादुर खड्का, कमरेड शेरमान कुँवर, कमरेड नेकवहादुर केसी, कमरेड कुमारी बुडा, कमरेड भिमसेन पोखरेल जस्ता कमरेडहरुको निर्मम र पाशविक हत्या भएको छ । हजारौको संख्यामा अहिले पनि घाईते अवस्थामा जीवन विताई रहेका छन् । अहिले सम्म पनि हजारौ वेपत्ता छन् । उहाँहरुका आफन्त र परिवार कहाँ र कुन अवस्थामा होलान् कि नहोलान् ? फर्केर आउला कि नआउलान् ? भन्ने पीडामा जीवन विताईरहेका छन् । हजारौको दानवीय जेल जीवन विताएको, कैयौ को झुटा मुद्दा तामेलीमा होलान् । आजको अवस्थामा कम्युनिष्ट पार्टीलाई सबै भन्दा ठूलो बनाउने र यो सुविधाको सत्ता प्राप्त गर्नका लागि नेपाली जनता गरिव, मजदुर, किसान कम्युनिष्ट कार्यकर्ताको त्यो अदम्य शाहस त्याग, कुर्वानीको अवमूल्यान गरियो भने इतिहासले धिकार्ने छ ,ती महाना सहिदहरुको रगतले पोल्ने छ ।
आन्दोलन र युद्धको क्रममा जसले महान वीरगति प्राप्त गरे, इतिहासको खातामा आफ्नो नाम चढाएर गए , ती अमर रहने छन् । बाँचेकाले ने.क.पा सरकार र पार्टीबाट ठूलो आशा र भरोसा गरेका छन् । नेपालीको जनतन्त्रको नारा पूरा भएपनि थाँती रहेको जनजीविका र स्वाभिमान राष्ट्रियताको नारा यो बहुमतको सरकार र बलियो पार्टीबाट हुन्छ भन्नेमा ढुक्क छन् । स्वयं सरकारले पनि सुखी नेपाली र सम्बृद्ध नेपालको नारा ल्याएकै छ । संसारमा विरलै भेटिने कम्युनिष्टहरुको सरकार त्यसमा पनि दुईतिहाई नजिकको यसलाई संसारले उत्सुकतापूर्वक हेरेका छन् । सारा कम्युनिष्ट विरोधी तत्वहरुको गिद्दे दृष्टिकोण त छदैछ , आज ती अपार मत प्रदान गर्ने जनतालाई सरकार, पार्टीले विश्वासमा लिन सक्नु पर्दछ । यस सवालमा लेनीन भन्नु हुन्छ ʺजसले जनतालाई विश्वासमा लिन सक्दछ, उसले विजय प्राप्त गर्न सक्दछ ʺ । कोरोना संक्रमणको विश्वव्यापी महामारीको यस घडीमा नेपाली जनता अध्यादेश संग त्यति सरोकार राख्दैनन् । दिमाग र पाखुरा चलाउन सक्ने लाखौ लाख नेपाली रोजगारको खोजीमा संसारको सयौं मुलुकमा आप्रवासीको रुपमा रहेका छन् । तिनीहरु आज संक्रमणको कारण आफ्नै मातृभुमि ल्याईदेउ सरकार भनेर पुकारी रहेका छन् । देश भित्रै हजारौं हजार ज्यामी मजदुर बेसाहाराहरु खाली खुट्टा नाङ्गै भोकै चर्को घाम, हुरी बतास, बर्षा झरीको पर्वाह नगरी हप्तौ दिन हिडेर आ आफ्नो झुपडी धाउँदै छन् । कोरोनाको महामारीसंगै जनतालाई ठूलो भोक र प्यासले पिरोल्दै छ । हिजो निर्वाचनमा नेकपाले धेरै लोकप्रिय नारा बाँडेर जनताको विश्वास जितेको हो । लोकप्रिय कुरा गर्नु र काम गरेर देखाउनु फरक कुरा हो । यसै सन्दर्भमा लेनिन फेरी भन्नु हुन्छ ʺहाम्रो नाराले मात्र जनताको भोको पेट भर्न सक्दैनʺ । विगतमा भएको तीनै तहका निर्वाचनमा नेपाली जनताले नेकपालाई भारी विश्वार गरेर मत जाहेर गरेका हुन् । आज तिनै तहमा नेकपाको वलियो सरकार छ । विद्रोह हुँदै खुल्ला बैधानिक संघर्ष र भूमिगत हुँदै महान जनयुद्ध लडेर आएका दुई ठूला पार्टी एकिकरण र त्यसका पाका अनुभवी नेताहरुले नेतृत्व गरेको यो पार्टीलाई सही कार्यदिशा दिदै पार्टी एकतालाई मजवुद र नेपाली जनतालाई गोलवन्द गराउँदै लान नसके उपलब्धिहरु गुम्दै जान सक्दछन् ।
कम्युनिष्ट पार्टीको आधार क्षेत्र भनेकै जनता हो । त्यसैले कमरेड माओत्सेतुङ भन्नु हुन्छ ʺहामी कम्युनिष्टहरु विउ र जनता माटो होʺ माक्र्सवादका आधारभुत सिद्धान्तबाट विचलित र पार्टीले निर्दिष्ट गरेको कार्यदिशाबाट बाटो विरायौं भने धेरै चीज गुम्दछ । यस सवालमा कमरेड माओ भन्नु हुन्छ ʺ विचारधारात्मक वा राजनीतिक कार्यदिशा सही वा गलत हुनाले सवै कुराको निर्धारण गर्दछ, जब पार्टी सही कार्यदिशामा हुन्छ, तब सबै चिजहरु ठीक मार्गमा आउने छन् , यदि कार्यदिशा सही मार्गमा भएन भने भएको पनि सबै गुम्ने छन् ।ʺ
अध्यादेश जारी भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फुट विभाजनको अनेक अट्कलवाजी र तरङ्ग ल्याएको छ । यस विषयलाई सरल र जटिल दुबै ढंगले विश्लेषण गर्ने पात्रहरु भेटिएका छन् तर जे होस् नेकपाका नेता कमरेडहरुले सन् १९१७ को रुसी क्रान्ति पछिको सोभियत सत्ता देखि अमेरिकी राज्य वोलिभियाको कमरेड इभोमोरालेसको सत्ता सम्मका सफलता र असफलताको इतिहासलाई अध्ययन र विश्लेषण गर्न जरुरी छ । १९१७ मा स्थापित सोभियत सत्ता ९० को दशकमा आएर गोर्भाचोभको खुल्लापन र सृदिणीकरण (प्रेसत्रोइका र ग्लानोस्तक) को नारले सत्ता ढल्यो, देश टुक्रियो, जुन नारा माक्र्सवादको आधारभूत सिद्धान्त विरोधी वुर्जुवा थियो । कम्वोडियामा स्थापना भएको ४ वर्षमा नै पोलपोटको कम्युनिष्ट सत्ता किन ढल्यो ? रुमानियाका कम्युनिष्टहरु निकोलाई चाउचेसकुको सत्ता र स्वयं उनकै विरासतको अवस्था के भयो ? पुर्वी जर्मनका कम्युनिष्ट शासक एरिक होनेकरलाई कहाँ पुर्याईयो ? भियतनाममा कमरेड होचिमिन्नद्वारा स्थापित सत्ता किन टिकिरहेको छ ? चीनमा माओद्वारा स्थापित सत्ता र चिनिय कम्युनिष्ट पार्टी आफु टिक्दै दु्रत गतिमा विकास गर्दै आज संसारका साम्रज्यवादी, पुँजीवादीहरुलाई चुनौति दिन सक्ने कसरी भयो ? यस्ता विषयहरु र घटनाक्रमहरुको अध्ययन, विश्लेषण र खोजीको विषय बनाउनु आवस्यक छ । कम्युनिष्टहरु प्राप्त गर्न सक्दछन् तर प्राप्त गरेको उपलब्धीहरुलाई जोगाउन सक्दैनन् भन्ने आरोप लाग्ने गरेको छ । दुनियाँमा कैयौं त्यस्ता घटना भएका पनि छन् । कामना गरौं यो अध्यादेशले नेपाली कम्युनिष्टका लागि त्यस्ता दिनहरु ननिम्त्याओस् ।

(लेखक माक्र्सवाद अध्ययन प्रतिष्ठान धादिङका अध्यक्ष हुनुहन्छ )
मिति २०७७।०१।१० (अप्रिल २२, २०२०)

About The Author