५ बैशाख, धादिङ –
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) का क्रममा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएका धादिङका एक युवकको स्वाब परीक्षणको रिपोर्ट भने नेगेटिभ आएको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नं ३ अमराईका २७ वर्षीय युवकको मंगलबार मैदी स्वास्थ्य चौकीमा आरडीटी गर्दा पोजेटिभ भेटिएको थियो ।
पोजेटिभ भेटिएकपछि एम्बुलेन्सले नमानेपछि आफै मोटरसाइकल चलाएर जिल्ला अस्पतालको आइसोलेसन कक्षमा स्वाब परीक्षण गराउन आएका थिए । आइसोलेसनमा स्वाब परीक्षणपछि अन्तिम रिर्पोट टेकु अस्पताल परिक्षणका लागि पठाइएको थियो । परिक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विश्वकर्माले पाविलन्यूज डटकमलाई जानकारी दिए ।
कोरोना भए–नभएको अन्तिम पुष्टि स्वाब परीक्षणपछि हुने भएकाले उनलाई कोरोना नभएको पुष्टि भएको हो । गत फागुन २० गते दक्षिण कोरियाबाट फर्किएर उनी होम क्वारेन्टाइनमा बसेका थिए । अहिले आइसोलेसन कक्षमा छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) मा नेगेटिभ भेटिएपनि लगायत खोकी र ज्वरो आएपछि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ । जिल्लाको त्रिपूरासुन्दरी गाउँपालिका वडा न ६ का २८ वर्षीय युवकको रिपोर्ट पनि नेगेटिभ आएको जिल्ला अस्पताल धादिङले जानकारी दिए ।
२०७७ बैशाख ५ गते प्रकाशित