
३ बैशाख, एजेन्सी
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण १९ लाख ९२ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।
कोभिड १९ बारे विश्वभरिको तथ्याङ्क सार्वजनिक गर्दै आएको वल्डोमिटरका अनुसार अहिलेसम्म यो भाइरसबाट १९ लाख ९२ हजार एक सय जना सङ्क्रमित भइसकेका छन् । एक लाख २० हजारभन्दा धेरैको ज्यान गएको छ ।
सङ्क्रमितमध्ये चार लाख ६७ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् भने १३ लाख ९८ हजारको उपचार भइरहेको छ, जसमध्ये ५१ हजारभन्दा धेरैको अवस्था गम्भीर छ ।
पछिल्लो एक दिनमा अमेरिकामा दुई हजार दुई सय ८४ जनाको ज्यान गएको छ भने २४ हजार दुई सय १५ नयाँ बिरामी थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाका कारण २५ हजार ९ सयभन्दा धेरैको ज्यान गएको छ । त्यस्तै ६ लाख ११ हजार १ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ७८ र फ्रान्समा सात सय ६२, इटलीमा ६ सय दुई र स्पेनमा तीन सय जनाको ज्यान गएको छ । जसका कारण इटलीमा २१ हजारभन्दा धेरै, स्पेनमा १८ हजारभन्दा धेरै, फ्रान्समा १५ हजारभन्दा धेरै र बेलायतमा १२ हजारभन्दा धेरैको ज्यान गएको छ ।
भारतमा एक दिनमा ३५ जनाको ज्यान गएको छ भने एक हजारभन्दा धेरैमा सङ्क्रमण देखिएको वल्डोमिटरले जनाएको छ ।
२०७७ बैशाख ३ गते प्रकाशित