
चैत २६, धादिङ-
कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलिन नदिन भैरहेको लकडाउनका कारण बालुवा प्रशोधन तथा उत्खनन् रोकिंदा त्रिशुली नदी सङ्लोे बग्न थालेको छ । लकडाउनका कारण विगत २ साता अघिदेखि नदी किनारामा रहेका अवैधानिक उद्योगहरु बन्द भएपछि त्रिशुली नदीले फेरी जीवन्तता पाएको हो ।

त्रिशुली नदी किनारमा खोलिएका बालुवा धुने फिरफिरे नचल्दा त्रिशुली नदी सङ्लो भएको हो । त्रिशुली नदीमाथीको अतिक्रमण बढ्दै जाँदा तथा नदी किनार वरिपरि अवैधानिक र अब्यवस्थित तरिकाले बालुवा धुने उद्योगहरु संचालनमा रहदा मध्य हिउदमा समेत त्रिशुली नदी धमिलो देखिने गरेको थियो ।

नेपाल सरकारबाट तोकिएको मापदण्ड विपरित सञ्चालन भएका खानी, क्रसर तथा बालुवा प्रशोधन उद्योगहरुले नदी धमिल्याउने गरेको त्रिशुली बचाउ अभियानका अभियन्ताहरु बताउँछन् । नदी किनारका विभिन्न स्थानमा अवैध रुपमा सञ्चालनमा रहेका उद्योगबाट वातावरण प्रदुषण र प्राकृतिक सम्पदाहरुको क्षय समेत गरेको उनीहरुको भनाइ छ ।

देशब्यापी रुपमा भएको दुइ साता लामो लकडाउनको प्रत्यक्ष प्रभाव अहिले त्रिशुली नदीमा देखिएको छ । मलेखुका स्थानीय निर्मल थपलियाले भने, ‘अहिले देखिएको त्रिशुलीको यो कन्चन दृश्य निकै दुर्लभ हो, विगत ५ बर्ष यता हिउँदमा पनि त्रिशुली यस्तो देख्न पाइएको थिएन ।’

त्रिशुली नदी धमिलिंदा पर्यटन उद्योग तथा नदीको स्वच्छतामा असर पर्ने र कालान्तरमा यसले गम्भीर समस्या निम्त्याउन सक्ने भएकोले यस्ता कार्य निरुत्साहित गर्न पहल भैरहेको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए । उनले भने, ‘अहिलेको त्रिशुलीको बास्तविकतालाई हेर्दै लकडाउन सकिएपछि पनि त्रिशुली यस्तै स्वच्छ बग्ने वातावरण बनाउन सम्बन्धित उद्योगी र व्यवसायीसंग छलफल चलाउने छौँ ।’

देशका अन्य स्थानका नदीहरु मध्ये जलयात्राको लागि त्रिशुली नदी उत्कृष्ट र सुरक्षित मानिन्छ, पानीको बहाव र छाल पनि जलयात्राको लागि उपयुक्त भएकाले त्रिशुली नदी पर्यटकहरुको रोजाइमा पर्ने गर्छ । तर विगत ५÷७ वर्ष यता त्रिशुली नदी बाह्रै महिना धमिलो बग्न थालेपछि त्रिशुली जलयात्रा गर्ने विदेशी तथा स्वदेशी पर्यटकहरुको कम रोजाइमा पर्न थालिसकेको छ ।

सवै तस्विर : नवराज छत्कुली
२०७६ चैत २६ गते प्रकाशित