Thu. Nov 28th, 2024

भुकम्प पछि नयाँ भवन बन्न सकेन, खुल्ला आकाशमुनी चेपाङ विद्यार्थी


९ चैत, धादिङ / मनिष दुवाडी

दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ८ दुङवाङमा रहेको जलदेवी आधारभुत विद्यालयमा बालबालिकाहरु खुल्ला आकाशमुनी बसेर पढ्न बाध्य छन् ।

बालकक्षा (इसीडी) देखि ३ कक्षासम्म पढाइ हुने उक्त विद्यालयको एउटा मात्रै रहेको ४ कोठे भवन २०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्प पछि क्षतविक्षत भएको थियो । भएको एउटै मात्रै भवन पनि भुकम्पका कारण जोखिमपुर्ण भएपछि भुकम्प पछिको आपतकालिन अवस्थामा विभिन्न संघसस्थाको सहयोगमा बनाइको अस्थाइ टहरा र खुल्ला आकाशमुनी नै राखेर विद्यार्थीहरुलाइ पठन–पाठन गराइरहेको शिक्षकहरुले बताएका छन् ।

खुल्ला आकाशमुनी विद्यालयका आगनमै राखेर पढाउँदा पनि बस्ने चकटीसमेत गतिलो नहुँदा ढुङगा तथा पर्खालहरुमा राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षक नन्द बहादुर बोहोराले बताए । उनले भने, ‘विद्यालयको भवन त छ, तर भुकम्पले क्षतविक्षत भएको छ, जीर्ण छ, त्यहाँ राखेर पढाउदा झन ठुलो दुर्घटना हुने डरले टहरा र आँगनमै राखेर पढाइरहेका छौँ ।’ पानी परेको बेला र धेरै घाम लागेको बेलामा बालबालिकाहरुलाइ अस्थायी टहरा र भुकम्पले चर्काएको भवनको कम क्षति भएको एउटा कोठामा एकैठाउँमा राखेर पढाइने गरिएको छ ।

कक्षाकोठाको अभावमा बाल कक्षा र एक कक्षाका बालवालिकाहरुलाई अस्थाई टहरामा एकै ठाउँमा राखेर पढाइदै आएको छ । अस्थायी टहरा बनाएको पनि ४ वर्ष पुग्न लागिसकेककाले बाँसका भाटाहरु भाँचिन थालेका छन् । बार लगाइएको त्रिपालहरु च्यातिइसकेको छ, टहरा पनि हावा र पानीबाट पनि असुरक्षित बनेको छ । विद्यालय डाँडामा रहेकाले चिसो बतास चलिरहदाँ अस्थायी टहरापनि खुल्ला आकास जस्तै भएको शिक्षक विनिता श्रेष्ठले बताइन् ।

कक्षा २ र ३ लाई भने पानी नपरेको बेला खुल्ला आकासमुनी राखेरै कक्षा संञ्चालन गर्दै आएको छ । पानी परेको बेला जीर्ण भवनकै कम क्षति भएको कोठामा एकैठाउँमा राखेर पढाइने गरिएको छ । स–साना बालवालीकाहरुलाई जोखिमयुक्त भवनमा राख्नु भन्दा खुल्ला आकासमा नै राखेर पढाउने गरेको शिक्षक श्रेष्ठले बताइन् । ‘अस्थायी टहरा पाटेसन गरेर सवैलाइ छुट्टाछुटटै कक्षामा राखेर पढाउन मिल्ने पनि बनाएका थियौँ, तर २ वटा कक्षाकोठाको आवास मिसिने भएपछि पढाउन झनै समस्या हुन थाल्यो ।’ श्रेष्ठले भनिन्, ‘त्यसकारण बालकक्षा र १ कक्षा टहरामा तथा २ र ३ लाइ आगँनमा पढाइरहेका छौँ ।’

वडा नं ८ को घाङवाङ र दुङवाङका बालबालिका पढ्न आउने यस विद्याललयमा अध्ययन गर्ने सवै चेपाङ समुदायका बालबालिकाहरु छन् ।

विनाशकारी भुकम्प पश्चात धादिङ जिल्लाका करिव ७५ प्रतिशत विद्यालयका भवनहरु पुननिर्माण भइसकेका छन् भने बन्न वाँकी रहेका सवै विद्यालयहरुमा पनि भवन निर्माणको प्रक्रिया सुरु भइरहेको जिल्ला स्थित आयोजना कार्यन्वय इकाइले बताएको छ । तर भौगोलिक अवस्थामा अति नै विकट क्षेत्रमा रहेको दुङवाङको यो आधारभुत विद्यालयको पुननिर्माण तर्फ कसैका चासो गएको छैन ।

५६ जना बालबालिका अध्ययन गर्ने उक्त विद्यालय मर्मत गर्न र नयाँ बनाउनको लागि समन्वय गरिदिन वडा अध्यक्ष र गाउँपालिकामा पटक पटक गुनासो गरिएको भएपनि अहिललेम्म सुनुवाइ नभएको शिक्षकहरुले बताए । शिक्षक श्रेष्ठले भनिन्, ‘वडा अध्यक्ष अहिलेसम्म एक पटक पनि विद्यालयमा आएका छैनन् । हामीले भनेर मात्रै विद्यालयको यो अवस्था कसरी थाहा पाउछन् र नयाँ बनाउन पहल गरुन् ।’

२०७६ चैत ९ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: