Tue. Mar 11th, 2025

विश्वकप क्रिकेट लिग–२ नेपाल र नामिबियाको शृंखला अन्योलमा


७ चैत, काठमाडौ –


अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले नामिबियामा खेल्ने शृंखलाकोे अन्योल देखिएको छ। आईसीसीले यही चैत १९ देखि २६ गेतसम्म लिग–२ अन्तर्गतको पाँचौं चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् युएई र स्कटल्यान्डबीचको शृंखला रद्द गरेपछि नेपालले खेल्ने छैटौं चरणको नामिबियाविरुद्धको शृंखला भने अन्योलमा परेको हो।

आईसीसीले नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक शृंखला आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो। आईसीसीले कोरोना भाइरसका कारण पाँचौं चरणको शृंखला रद्द गरेपछि छैटौं चरणको नामिबियाविरुद्धको शृंखला पनि रद्द हुने सम्भावना बढेको छ। प्रतियोगिताबारे नामिबिया क्रिकेट संघको आधिकारिक जवाफ प्राप्त नभएको नेपाल क्रिकेट संघ क्यान अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। ‘हामी आईसीसीको आधिकारिक निर्णयको पर्खाईमा छौं’, उनले भने। शृंखला अन्योलमा परेपछि प्रशिक्षण कहिलेदेखि सञ्चालन गर्ने भन्ने पनि अन्योलमा परेको छ ।

आईसीसी विश्वकप लिग–२ सन् २०२२ सम्म सञ्चालन हुनेछ। लिगमा नेपालसहित अमेरिका, स्कटल्यान्ड, ओमान, युएई, नामिबिया र पपुवा न्युगिनी छन्। प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्नेछन्। लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन्। बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि प्लेअफ खेल्नेछन्। प्लेअफमा लिग–२ बाट आउने चार टोली तथा च्यालेन्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।

विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ। विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्।

नेपालले माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग–२ को पहिलो त्रिकोणात्मक शृंखला खेलको थियो। उक्त शृंखलामा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितको दुवै खेल जितेको थियो। नेपालले हालसम्म खेलेको चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अंक बनाएको छ। नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ ।

लिगमा ओमान शीर्ष स्थानमा छ। ओमानले खेलेको १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अंक बटुलेको छ। लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ। उसले १२ खेलमा ६ मा जित तथा ६ मा हारसँगै १२ अंक बनाएको छ। यस्तै स्कटल्यान्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका साथ तेस्रो स्थानमा छ।
२०७६ चैत ७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: