धादिङ – नेकपा एमालेका नेता तथा पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले भूकम्पबाट प्रभावित बनेका विद्यार्थीहरुलाई फिल्टर वितरण गर्नुभएको छ । विद्यालयमा अध्यनरत विद्यार्थी तथा शिक्षकहरुको स्वास्थ्यको ख्याल गर्दै शुक्रबार धादिङको गजुरी एक कार्यक्रमको आयोजना गरी वितरण गर्नुभएको हो ।
बैशख १२ गते गएको विनाशकारी भूकम्पले पानीको मुहान फोहोर हुने र विभिन्न महामारीको प्रकोप देखिन सक्ने भएकोले विद्यालयका शिक्षक तथा विद्यार्थीलाई उच्च स्तरको फिल्टर वितरण गरिएको नेता पाण्डले बताउनु भयो । पानीको लागि छाल नामक अन्र्तराष्ट्रिय संस्थाको सहयोगमा वितरण गरिएको हो । निर्वाचन क्षेत्र नम्बर २ अन्र्तगतको ५ गाउँ विकास समिति सलाङ, कुम्पुर, कल्लेरी, गोगनपानी र केवलपुर गाउँ विकास समितिमा रहेका ५९ ओटा विद्यायलाई पनि शुक्रबार नै फिल्टर वितरण गरिएको छ । अबको दुई दिनमा सम्बन्धीत विद्यालयमा विद्यार्थीले फिल्टरको पानी खान पाउने पाण्डेले बताउनु भयो ।
यसैगरी धादिङमा सन्चालनमा रहेको विभिन्न सन्चार गृह, स्वास्थ्यचौकी, प्रहरीचौकीलाई पनि फिल्टर वितरण गरिएको छ । फिल्टर वितरण गरिसकेपछि पानीको लागि छाल नामक संस्थाका पवल राईले फिल्टर प्रयोग गर्ने विधिका बारेमा बताउनुभएको थियो । यो फिल्टर प्रयोग गर्दा कुनै पनि समस्या नुहने उहाँले बताउनुभयो । फिल्टर पाएपछि शिक्षकहरु, संञ्चार गृहका प्रमुखहरुले खुशी हुँदै दाताहरुलाई धन्यावाद दिएका थिए ।