सरिता श्रेष्ठ / २ चैत, धादिङ
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ विशालटारका किसान राजकुमार बिसुरालले दुई महिना अघि ६ रोपनी जग्गामा मुलाखेती गरे । बीउ, मल र ज्याला गरी ६० हजार खर्च गरेर लगाएको मुलाले बजार नपाउँदा ट्याक्टर लगाएर नष्ट गर्नुप¥यो ।
बिसुरालले १२ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । ६ रोपनी जग्गामा मात्रै मुला लगाएका छन् भने बाँकी जग्गामा बन्दा, भेडी लगायतका अन्य तरकारी लगाएका छन् । गतवर्ष पनि बजारमूल्य भन्दा पन्ध्र गुणा कममा पनि तरकारी बिक्रि नभएपछि ट्याक्टर लगाएर खेतमा लगाएको बन्दाकोभी, मुला लगायतको तरकारी नष्ट गर्नु प¥यो । यस वर्षपनि खेती लगाउने बेला चर्को मूल्यमा बीउ, मलको जोहो गर्नु गर्यो तर प्रतिफल शून्य भएको उनले बताए ।
बिचौलिया ब्यापारीले प्रतिकेजी दुई रुपैयामा पनि नलगेपछि किसानहरुले खेतमै थुप्रो लगाएका छन् । ‘गत वर्ष बन्दाकोभी र मुलाबारीमा ट्याक्टर लगायौँ, अहिले बन्दाको भाउ केही आशलाग्दो छ तर मुला बारीमा नै कुहिने भयो,’ उनले भने, ‘भाउ आउने आशमा थियौँ तर तरकारीको मूल्य नपाएपछि बाध्य भएर ट्याक्टर लगाएर नष्ट ग¥यौँ ।’ सिजनमा तरकारी लगायो, आम्दानी भन्दा खर्च बढी हुने भएपछि ट्याक्टर लगाउनु बाहेक अन्य विकल्प नरहेको उनले बताए । विगत १५ वर्षदेखि कृषि पेशामा संलग्न बिसुराल तरकारी खेतीबाट बिस्तारै हात धुनु पर्ने अवस्था आएको बताए ।
बजारमा प्रतिकिलो मुलाको भाउ ४० देखि ५० रुपैया छ भने बन्दाकोभीको भाउ प्रतिकिलो ८० देखि १०० रुपैया छ । किसानले बिक्रि गर्दा मुला प्रतिकिलो दुई रुपैया र बन्दाकोभी १५ देखि १८ रुपैयामा बिक्रि गर्नुपरेको विशालटारका अर्का किसान धुव्र पाण्डेले बताए ।
किसानले सिजन अनुसारको तरकारी लगायो उत्पादन हुने बेला बिक्रि नै नहुने भएपछि विशालटारका किसानहरु चिन्तित बनाएका छन् । विशालटारमा मात्रै करीब ३० जनाले व्यावसायीक रुपमा तरकारी लगाउँदै आइरहेका छन् ।
पाण्डेले किसानी पेशा अंगालेको १० वर्ष भयो । दुई रोपनी जग्गामा तरकारी खेती सुरु गरेका उनले अहिले २० रोपनी जग्गामा खेती गर्छन् । उत्पादन गरिएको तरकारी सहकारी र स्थानीय व्यापारी मार्फत बिक्रि गर्छन् । सहकारीको गैह्रजिम्मेबारी र लथालिङग व्यवस्थापनले किसानहरु मर्कामा परेका छन् । गत वर्ष १४ रोपनी जग्गामा लगाएको बन्दा र मुलाखेतीमा ट्याक्टर लगाउनु पर्दाको पीडा नभुल्दै फेरि त्यहि पीडा थपिएको छ । साढे दुई लाख लगानी माटोमा मिसिएको उनले बताए । उनी राज्यले किसान किन्नुपर्ने माग राख्छन् ।
विशालटारकै किसान केशवराज नहर्कीले खेतमा लगाएको मुला बिक्रि नभएपछि हैरान हुँदै ट्याक्टर लगाएका छन् । केही उखेलेर छेउकुनामा थुपारेका छन् भने केही खेतछेउकै बाटोमा फ्याकिदिएका छन् । ‘खर्च लगाएर प्रतिकिलो दुई रुपैयामा बेच्नुभन्दा उखेलेर फ्याक्नुनै ठिक लाग्यो’ उनले भने, ‘फूलेका मुला केही उखेलेर फ्याकेका छौँ भने केहीमा ट्याक्टर लगाएर नष्ट गरेका छौँ, यो वर्ष आम्दानी आउँछ कि भन्ने आशामा थियौँ तर निराशा बनायो ।’
५० हजार खर्च गरेर लगाएको तरकारीले आम्दानी नपाएपछि अर्को सिजनका् तरकारी लगाउने कि नलगाउने किसानहरु अन्यौलमा छन् । पुस्तौदेखि यहि पेशाले घरखर्च टारिरहेका नहर्कीको परिवार कृषि पेशाले आजित भएका छन् । प्रतिफल नपाएपछि दुई रोपनी जग्गामा लगाएको मुला धमाधम ट्याक्टर लगाएर नष्ट गर्नुपर्ने बाँध्यता रहेको उनले सुनाए । किसानको मेहनत माटोमा मिसिएको उनको भनाई छ ।
विशालटारका अधिकांश किसानहरुले तरकारी खेती गरेका छन् । राज्यले खेतबारी बाँझो नराख्न किसानलाई आग्रह गरेको छ, खेती ग¥यो, उल्टै घाटा हुने भएपछि अब खेती छाड्नुपर्ने अवस्था भएको छ । तरकारी टिप्ने र ढुवानी भाडासमेत नउठ्ने भएपछि अर्को खेती गर्नका लागि किसानले तरकारी नष्ट गर्न थालेका हुन । मूल्य नपाएर जोत्नु पर्दाको पीडा किसानले व्यहोरिरहनु परेको छ । तीनवर्ष अघिसम्म तरकारी खेती गरेर लाखौ कमाउने किसानहरु अहिले घाटा व्यहोर्नु परेकोमा चिन्तित छन् ।
धादिङ लगायत काठमाण्डौ नारायणघाट, पोखराका जनतालाई यहाँको तरकारीले धानेको छ । राजमार्गको छेउमा रहेको यस क्षेत्रमा तरकारीमा भएको नोक्सानीले किसानहरु अब भने तरकारी उत्पादन नगरी विदेश पलायन हुनुपर्ने बाध्यता रहेको बताएका छन् । यहाँका प्रत्येक किसानले ५० देखि एक लाख रुपैया नोक्सानी व्यहोर्नु परेको छ । अब बर्खे तरकारी लगाउनका लागि किसानहरुले तयारी गरिरहेका छन् । खुल्ला नाका, भारतबाट तरकारी आउनु र बजारसम्म किसानको पहुँच नहुनुका कारण किसानहरुले उत्पादन गरेको तरकारी बिक्रि नभएको किसानहरुको भनाई छ ।
धादिङ जिल्लामा लगभग ६ हजार हेक्टर जमिनमा तरकारी खेती गरिन्छ । काठमाडौँमा बिक्रि हुने तरकारीको १८ प्रतिशत तरकारी धादिङ जिल्लाबाट जाने गरेको छ । स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी भन्दा भारतबाट ल्याएका तरकारीले बजार लिने भएका कारण किसानको मेहनत खेर जाने गरेको छ ।
२०७६ चैत २ गते प्रकाशित