Wed. Nov 27th, 2024

अलपत्र र बेवारिसे सामुहिक आवास(भिडियो रिपोर्ट)

लागुपदार्थ दुर्व्यसनिको अखडा बन्दै

२५ फागुन, धादिङ-

२०७२ सालको विनाशकारी भुकम्पपछि पुननिर्माणको कामको लागि गठन गरिएको राष्ट्रिय पुन निर्माण प्राधिकरणले पहिलो काम स्वरुप विपदको बेलामा प्रयोग गर्न मिल्ने सामुहिक आवास बनायो । जहाँ कुनैपनि प्राकृतिक विपतमा परेर घरवार विहिन भएकाहरुलाइ आपतकालिन अवस्थामा राख्ने भनिएको थियो ।

भिडियो रिपोर्ट

तर माल पाएर पनि चाल नपाएको भने झै धादिङ जिल्लाका विभिन्न १० ठाउँहरुमा बनाइएको सामुहिक आवासहरु अहिले लागुपदार्थ दुब्र्यसनिका अखडा बनिरहेको छ । भवन निर्माण सम्पन्न गरी पुननिर्माण प्राधिकरणले सम्वन्धित स्थानीय तहहरुलाई हस्तान्तरण गरेको भए पनि प्रयोगमा नै नआइ ती भवनहरु जीर्ण बन्न पुगेको छ । सामुहिक आवासको संरक्षण गर्ने जिम्मेवारी पाएको स्थानीय तहले वेवास्ता गर्दा आवासहरु लथालिङ्ग अवस्थामा पुगेको छ । कतिपय स्थानहरुमा सामुहिक आवासका लागि बनाइको भवनमा विद्यालय, वडा कार्यलय र स्वास्थ्य चौकी संचालन गरिएका छन् ।

प्राकृतिक विपतको आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने गरि धादिङ जिल्लाका १० ठाउँमा त्यस्ता सामुहिक आवासहरु बनाइएको थियो । सहज रुपमा सडक संजाल नभएको उत्तरी धादिङका ५ ठाउँमा (झार्लाङ, री, लापा, सेर्तुङ र तिप्लिङ) नेपाली सेनाले हेलिकप्टरमा सामान ओसारेर बनाएको थियो । त्यस्तै अन्य ५ ठाउँ (नीलकण्ठ, बैरेनी, बेनिघाट, सल्यानटार र कटुन्जे) मा शहरी आवास तथा भवन निर्माण विभागमार्फत ठेक्कामा दिएको थियो ।

कुल १ सय ९२ कोठा क्षमताको सामुहिक आवास यतिबेला अधिकाँश ठाउँमा लथालिङ्ग अवस्थामा पुगेको छ । टाढाको त परको कुरा, जिल्ला सदरमुकामको केन्द्र धादिङवेशीबाट ३ किलोमिटरको दुरीमा नीलकण्ठ नगरपालिकाको वडा नं ४ मा रहेको सामुहिक आवासको अवस्था यति दयनिय बनेको छ कि, त्यहाँ गरिएको लगानी बालुवामा पानी बराबर भएको छ । स्थानीय शम्भु श्रेष्ठले भने, ‘यो सामुहिक आवास अहिले बजारका ट्यापे मुन्द्रेहरुको गाँजा खाने अखडा बनेको छ । तिनका गतिविधिले गर्दा वरपरका स्थानीयहरु समेत असुरक्षित भएका छन् ।’

पहिले नै पुर्णरुपमा क्षतिग्रस्त भएको उक्त भवनमा वडा कार्यलय राख्नको लागि भनेर नीलकण्ठ नगरपालिकाले ४ लाख रुपैया खर्च गरेर मर्मत पनि गरेको थियो । तर वडा कार्यलयको सामान सारेकै राती टेवल कुर्ची चोरी भएपछि त्यहा वडा कार्यलय बस्न सकेन । अहिले सामुहिक आवास नाम मात्रको रहेको छ । सिङगो आवासलाइ नै झाडीले पुरेको छ । आफुले प्रयोग गर्न नसकेपनि भवनको सुरक्षामा वडा कार्यलयले समेत चासो दिएको छैन । नीलकण्ठ ४ का वडा अध्यक्ष शिवराज गिरिले भने, ‘हामीले वडा कार्यलय संचालन गर्ने भनेर मर्मत गरेको भएपनि सुरक्षा नहुने भएपछि वडा कार्यलय सार्न सकेनौँ ।’

सामुहिक आवासमा बस्ने हरेक परिवारको लागि महिला र पुरुषले छुट्टा–छुट्टै प्रयोग गर्न मिल्ने शौचालय, ट्याङ्की सहितको ब्यवस्थित पानीको धारो, उच्च क्षमताको सोलार बत्ति समेत जडान गरिएको थियो । तर अहिले पानी ट्याङकी र सोलारको नाम निशाना समेत छैन भने धाराका टुटी र शौचालयहरु तोडफोड गरिएका छन् । आवासका ढोकाहरु फुटाइएका छन् भने पाटेसन र रेलिङहरु चोरी भइसकेको छ ।

नीलकण्ठ नगरपालिकाको वडा नं ४ मा अलपत्र र जीर्ण अवस्थामा पुगेको सामुहिक आवास

बेनिघाट रोराङ गाउँपालिकामा बनाइको आवासको अवस्थामा पनि उस्तै दयनिय रहेको स्थानीयले बताएका छन् । आवासका झ्याल ढोकाहरु चोरी भएका छन् भने सिसाहरु फुटाइएको छ ।
गल्छी गाउँपालिकामा बनाइएको सामुहिक आवासमा संस्कृत शिक्षा पठन पाठन भइरहेको छ । नेपाली सेनाले झार्लाङमा बनाएको आवास गृहमा स्वास्थ्य चौकी र वडा कार्यलय संचालन गरिएको छ भने उत्तरी धादिङको अन्य ठाउँका आवासहरु अलपत्र र जीर्ण अवस्थामा पुगेका छन् । आवासको सुरक्षा गर्न नसक्दा र उचित सदुपयोग गर्न नसक्दा ती भवनहरु कतिपय स्थानमा त भग्नावशेषमा परिणत भएको छ ।

शहरी आवास तथा भवन निर्माण विभाग अन्तरगत बनाइएको ५ ठाउँमा (नीलकण्ठ, बैरेनी बेनिघाट, सल्यानटार र कटुन्जे) १ सय १२ कोठा क्षमता रहेको थियो भने कुल लागत ५ करोड ११ लाख १० हजार १ सय ५२ रुपैया लागेको थियो । त्यस्तै उत्तरी धादिङका ५ ठाउँमा नेपाली सेनाले हेलिकप्टरबाट सामान ओसारेर बनाएको सामुहिक आवासमा ८० कोठा क्षमता थियो । कुल लागत भने नेपाली सेनाले उपलब्ध गराएको छैन ।

भवनलाइ अलपत्र पार्ने भन्दा पनि स्थानीय तहले विपतको बेलामा प्रयोग गर्न मिल्ने गरि सदुपयोग गनुपर्ने नागरिक समाजका अगुवा सिताराम अधिकारीले बताए । अधिकारीले भने, ‘यसरी अलपत्र र बेवारिसे पार्ने भन्दा पनि विपतको बेलामा प्रयोग गर्न मिल्ने गरि स्थानीय तहले नै सदुपयोग गर्नुपथ्र्यो तर विडम्वना करौडौको लगानी त्यसै खेर गइरहेको छ । आफुले प्रयोग पनि नगर्ने अनि संरक्षण पनि नगरेर ध्वस्त बन्न दिने ? यो त हदैसम्मको लापरवाही हो ।’

२०७६ फागुन २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: