राधिका सापकोटा
विसौं शताव्दिको सुरुवातसंगै यूरोपियन मुलुकमा औद्योगिकीकरणको विस्तार र विकासको व्यापकता संगसंगै क्रान्तिकारी विचारधाराहरुको विकासमा पनि तिव्रता आयो र विश्वमा विज्ञान र प्रविधिको विकास, उत्पादनमा वृद्धिसंगै श्रमिक र पुँजिपति वर्गको पनि विकास हुन थाल्यो ।
पुँजिपतिहरुले आफ्नो वर्गिय विशेषता अनुरुप श्रमिकहरुको श्रमको अत्यधिक शोषण गरी मुनाफा कमाउने होडवाजी गर्न थाले । यस्तो शोषणको प्रतिवाद गर्दै श्रमिकहरुले आफ्नो श्रमको उचित मूल्य, काम गर्ने स्वस्थकर वातावरण र सामाजिक सुरक्षा, ८ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम जस्ता आधारभूत अधिकारको माग राखि संघर्षको थालनी गरे । त्यस समयमा महिलाहरु भने सिमित संख्यामा मात्र रोजगारमा सामेल थिए, सार्वजनिक क्षेत्रमा महिलाहरु नगन्यरुपमा मात्र थिए । यहि परिवेशमा महिलाहरुले सार्वजनिक क्षेत्रमा प्रवेश पाउनुपर्ने, रोजगारीको अधिकार, मताधिकार जस्ता अधिकारको कुरा उठाउन थाले ।
सन् १९०८ मा महिलाहरुमाथिको दमन, दिनमा १८ घण्टाभन्दा धेरै काम गर्नु पर्ने बाध्यात्मक अवस्था र असमानता जस्ता कुराहरुको विरोध गर्दै महिलाहरु बोल्न र क्रियाशिल बन्न थाले र अमेरिकाको शिकागोमा काम गर्ने घण्टामा कार्य घण्टा घटाउने, उपयुक्त तलव र मताधिकारको माग गर्दै १५००० महिलाहरुले र्याली गरे । त्यसै बीच सन् २००९ मा अमेरिकामा समाजवादी पार्टीको घोषणा भयो । यसमा महिलाहरु पनि सम्मिलित भएर महिला अधिकारका कुराहरुलाई अझ व्यवस्थित रुपमा निरन्तर उठाउँदै आए । यही नै अन्तर्राष्टिय श्रमिक महिला दिवसको पुर्वाधार समेत बन्न पुग्यो । तत्कालिन समयमा महिलाहरुले आफ्नो अस्तित्वबोध गरेर परिवारको सीमित घेरालाई तोड्दै सार्वजनिक क्षेत्रमा महिलाको पहुँच हुनुपर्ने कुरा उठाएता पनि महिला आन्दोलनको स्पष्ट खाका कोरिईसकेको थिएन । अन्तर्राष्ट्रिय महिला आन्दोलनको विकास भैसकेको पनि थिएन ।
८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रुपमा स्थापित गर्नुपर्छ भन्नुका पछाडि स्पष्ट आधारहरु रहेका छन् । सन् १९१० मा क्लारा जेट्किन रोजा लक्जेम्वर्गको अगुवाई र समाजवादी महिलाहरुको एकतावद्ध प्रयासमा श्रमिक महिलाहरुको दोश्रो अन्तर्राष्ट्रिय सम्मेलन डेनमार्कको कोपेनहेगनमा आयोजना गरियो । जसमा १७ देशका १०० जना भन्दा बढी महिला प्रतिनिधिहरुमा ट्रेड यूनियन, समाजवादी पार्टीहरु, श्रमिक महिला क्लव र फिनिसका तीन प्रथम महिला सांसदहरु समेतले भाग लिएका थिए । उक्त सम्मेलनमा सहभागीहरुले विभिन्न देशहरुमा श्रमिक महिलाहरुको अवस्थाको समिक्षा गर्दै अन्तर्राष्ट्रिय महिला आन्दोलनको विस्तारका लागि व्यापक छलफल गरे । उक्त सम्मेलनमा क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रुपमा विश्वभर नै मनाउने प्रस्ताव राखिएको प्रस्तावालाई सर्वसम्मतिबाट पारित गरियो । तसर्थ सन् १९१० को ८ मार्चका दिनलाई आधिकारिक दिनको रुपमा लिनु पर्दछ भन्ने मान्यता ऐतिहासिक रुपले पुष्टि गर्न सकिन्छ । क्लारा जेट्किनले राख्नुभएको उक्त प्रस्तावलाई मान्यता दिंदै ८ मार्च पहिलो पटक सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा सम्पन्न गरियो जसमा १० लाख भन्दा बढी मानिसहरुले महिलाको कामको अधिकार, मतदान, तालिमहरुको व्यवस्था, सार्वजनिक कार्यालयहरुमा काम गर्ने अवसर र असमानताको अन्त्यको माग गर्दै भाग लिए । त्यस्तै गरी २५ मार्चमा न्यूयोर्कमा आगलागीबाट १४० जना ईटालियन र जेविस आप्रवासी श्रमिक महिलाको ज्यान गए पछि यसले पनि महिला श्रमिकहरुप्रति अरुको ध्यानाकृष्ट भयो । जसले गर्दा कामदारको काम गर्ने स्वस्थकर र सुरक्षित वातावरण र श्रम नियमावलीको माग गर्दै आन्दोलन गरे जुन आन्दोलनलाई व्रेड एण्ड रोजेज अभियानको नामबाट चिनिन्छ ।
यो वर्षको श्रमिक महिला दिवसको दिन विश्व महिला आन्दोलनले महिला रोकिए संसार रोकिन्छ भन्ने मूल नाराको साथ विश्व महिला आम हटतालको आव्हान गरेको छ । हामी किन यो आम हटलातमा सहभागि हुने ? के का लागि यो आम हडतालको आव्हान गरिएको छ त ? भन्ने जस्ता विषय हामीले बुझ्न जरुरी छ । ११० वर्ष भन्दा अगाडी देखि महिलाहरुले गरेका आन्दोलनले केही परिवर्तन देखिएपनि अझैपनि महिलाहरुले संसारभरी दोस्रो दर्जाको नागरिकको रुपमा जीवन गुजारा गरिरहेका छन् । विगत २५ वर्षलाई मात्रै हेर्ने हो भने विश्वका सरकारहरुले महिलाहरुका पक्षमा गरेका प्रतिवद्धत्ताहरु पुरा गरेका छैनन । बेइजिङ घोषणापत्रमा प्रतिवद्धत्ता जनाएको २५ वर्षमा फर्केर समिक्षा गर्दा महिलाहरुको अवस्था अझै परिवर्तन हुन सकेको देखिदैन । सरकारहरु महिलाहरुको पक्षमा अझै सकारात्मक देखिदैनन् जसको फलस्वरुप आज पनि महिला र वालिकाहरुमाथि हत्या हिंसा , वलात्कार, वालविवाह, बोक्सिको आरोप जस्ता निकृष्ट प्रकारका हिंसाहरु हुदै आईरहेका छन् । यसै गरी आज भन्दा ११० वर्ष महिला देखि उठाउदै आएको महिलाहरुको समान कामको समान ज्याला अझै हुन सकेको छैन । आज पनि महिलाहरुको कामको कुनै मूल्यांकन छैन । दैनिक १८ घण्टा काम गर्ने महिलाहरुले गरेको काम विना गणना खेर गैरहेको छ त्यसैले मर्यादित काम र जीवन धान्न पुग्ने ज्यालाको वातावरण बनाउनका लागि हामी आम हड्तालमा जादै छौं । त्यसैले हामीले त्यस दिन अर्थात ८ मार्चको दिन नियमित रुपमा आफूले गरिरहेको काम नगरेर, वा काम गर्ने स्थानमा साथीहरु भेला भई कामबाट बाहिर निस्केर,सेवामूलक कामबाट बाहिरिएर, घरको नियमित काम नगरेर वा गर्ने परे पनि आफ्नो पुरुष साथीहरुको सहयोगमा गराएर, विरोध स्वरुपम १ घण्टा कामबाट निस्किएर, र्याली बैठक वा कुनै सार्वजनिक कार्यक्रम गरेर हामी यो आम हड्तालमा सहभागि हुन सक्छौं । यसको अर्थ के हो भने साच्छै महिलाले रोकियो भने यो संसार चल्न सक्छ त ? भन्ने चुनौति हामी सरकारहरुलाई दिन चाहान्छौं । महिलाको काम, भुमिकालाई जति अपमूल्यांकन गरिएको छ साच्चै महिलाले १ दिनको पनि १ घण्टा सबै आफ्ना कामलाई रोक्दा कति असर हुन्छ भन्ने कुराको चेतना हामी यो आम हड्तालबाट सरकारहरुलाई गराउन चाहान्छौं ।
८ मार्चको इतिहासलाई हेर्ने हो भने यो दिन महिलाहरुले परिवर्तनलाई प्रभावित पार्न सक्ने ससक्त दिनका रुपमा लिईन्छ । तर अहिले यसको राजनीतिक संघर्षको पक्षलाई विर्सन थालिएको स्थिती छ । यस दिनलाई महिलाहरु भेला हुने नाच गाना गर्ने वा रमाईलो गर्ने दिनका रुपमा मात्रै लिन थालिएको छ । हामीले हाम्रो अवस्थाका बारेमा सरकारलाई खबरदारी गर्ने, सचेत बनाउने , झकझकाउने र प्रतिवद्ध बनाउने दिनका रुपमा यो दिनलाई परिचित गराउन सकिरहेका छैनौं । । ८ मार्चलाई विश्वभरी विभिन्न महिला समुदायले अनेकौं रचनात्मक कार्यक्रमहरुका साथ मनाउँदै आएका छन । राष्ट्रिय महिला आन्दोलनसंगै क्षेत्रिय, उपक्षेत्रिय र अन्तर्राष्ट्रिय महिला आन्दोलनको विस्तार पनि त्यत्तिकै तीव्र बन्दै गएको छ । जुन वेला अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको थालनी गरियो त्यतिवेला महिलाहरुको समस्या जस्तो थियो आज पनि केही भिन्न तर मात्रात्मक रुपमा उस्तै उस्तै छन् त्यो घट्नुभन्दा पनि विभिन्न स्वरुपमा बढ्दै गएको छ । जसरी हिजो पुँजिवादी साम्राज्यवादले विश्वलाई शोषण हिंसा मच्चाएको थियो त्यसरी नै आज पनि आर्थिक विश्वव्यापीकरणसंगै विकसित पुँजीवादी नवउदारतावादले विश्वमा मानवीय श्रम शोषण, हिंसा फैलाएकै छ । विश्वका सिमित पुुँजिपति वर्गले सबै भन्दा धनी बन्ने, पुँजिमाथि एकाधिकार कायम राख्ने होडवाजीकै कारण आज विश्वमा पुँजीको असन्तुलित वितरणको फलस्वरुप विश्व आर्थिक मन्दीले संसारलाई गाँज्न थालेको छ । आजभन्दा ११० वर्ष अगाडि श्रमिक महिलाहरु अधिकारको पक्षमा जसरी आवाज बुलन्द गरेका थिए त्यसको सान्दर्भिकता वर्तमानमा अझ बढेको छ । अत्यधिक श्रम शोषणका वावजुद पनि तेश्रो विश्वका बेरोजगार युवा महिला तथा पुरुषहरु बैदेशिक रोजगारमा होमिँदै आएका थिए तर आज त्यही विकल्प पनि खोसिने अवस्था आएको छ । नागरिकको गाँस, वास, कपास, रोजगारी, स्वास्थ्य जस्ता आधारभूत अधिकारप्रति राज्य विमुख हुने स्थितिको सिर्जना भएको छ । यसबाट सिर्जना भएको सबै नकारात्मक परिणामहरुको शिकार सबै भन्दा पहिला महिला नै हुने गरेका छन् ।
आर्थिक मन्दीका कारण सम्पूर्ण दैनिक उपभोग्य बस्तुहरुमा भएको मूल्यबृद्धि, सबै खालका महिला हिंसा, चुलिएको बेरोजगारी, शिक्षा, स्वास्थ्य, खाने पानी, सञ्चार, विद्युत सबै क्षेत्रमा भएको निजिकरणले गर्दा महिलाहरुको जीवन कष्टप्रद भएको छ ।, प्रत्येक क्षण पीडा भोग्न महिलाहरु बाध्य बनाईएका छन् । यस्ता कुराहरुलाई आत्मसात गर्दै विश्वभरका महिलाहरु एकजुट भएर संघर्षमा जुटेका छन् । तर सबै महिलाका कुरा गर्दा पनि हामीले ८ मार्चलाई प्रभावकारी बनाउने हो भने सबै प्रकारका अवसरहरुबाट बन्चित निम्न वर्गका सिमान्तिकृत समुदायका महिलाहरुलाई केन्द्रविन्दुमा राखेर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनु पर्दछ । हामी नेपाली महिलाहरुको कुरा गर्ने हो भने बहुसंख्यक महिलाहरु संगठित वा असंगठित वा घरायसी काममा संलग्न महिलाहरु पनि श्रमिककै कोटीमा पर्ने कुरालाई पनि विर्सन हुँदैन ।
त्यसैले आउनुहोस् यो वर्ष ८ मार्चको दिन विश्व महिला आम हड्तालमा सहभागि बनौं । आफ्नो सरकारलाई महिला रोकिए संसार रोकिन्छ भन्ने चुनौति दिउ र सरकारलाई महिलाहरुका पक्षमा काम गर्नका लागि प्रतिवद्ध बनाउँ ।
२०७६ फागुन १८ गते प्रकाशित