Tue. Mar 11th, 2025

बागमती गोल्डकप जावलाखेल सेमिफाइनल प्रवेश

१४ फागुन , हेटौडा –

जावलाखेल युथ क्लब तेस्रो बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको खेलमा मकवानपुरको डाँफे युवा क्लबलाई २–० गोलले पराजित गर्दै जावलाखेलले अन्तिम चारमा स्थान पक्का गरेको हो।

खेलको १४औं मिनेटमा फोफना फोडेको क्रसमा डीबक्स बाहिरबाट सुजित बुढाथोकीले गरेको प्रहार गोलमा परिणत भएपछि जावलाखेलले अग्रता लिएको थियो। खेलको २८औं मिनेटमा बुढाथोकीले दोस्रो गोल गर्दै जावलाखेललाई २–० गोलको अग्रता दिलाए। त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि जावलाखेलले अन्तिम चारमा स्थान पक्का गर्‍यो। सेमिफाइनलमा जावलाखेलको भेट संकटा र वीरगन्ज युनाइटेडबीचको विजेतासँग हुनेछ।

खेलको ६०औं मिनेटमा जावलाखेलका खेलाडीले प्रहार गरेको आकर्षक बल मकवानपुरको गोल पोस्ट नजिकबाट बाहिरिएको थियो। खेलमा मकवानपुरका हिसुब थपलिया र विश्व अधिकारीले केही राम्रा मौकाहरू पाए पनि सदुपयोग गर्न सकेनन्। पहिलो हाफमा जावलाखेलमाथि मकवानपुरले केही दबाब राखे पनि गोल भने गर्न सकेन। दोस्रो हाफमा पहिलो हाफको अग्रतालाई कायम राख्दै जावलाखेल विजयी भएको हो। खेलमा दुई गोल गरेका जावलाखेलका सुजित बुढाथोकी म्यान अफ दी म्याच घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।

मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकास्थित जनता मावि प्राविधिक शिक्षालयको खेल मैदानमा जारी तेस्रो बागमती गोल्डकप प्रतियोगिताअन्तर्गत बुधबार साबिक विजेता सरस्वती युथ क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल फागुन १२ गते हुनेछ। प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः नगद ६ लाख र तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

२०७६ फागुन १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: