Mon. Nov 25th, 2024

भूकम्प पीडितलाई मोबाइलबाटै नगद राहत

mobile-relief_20150604083700

गोरखा –  भूकम्पपीडितलाई अस्थायी टहरा बनाउन मोबाइलबाटै राहत वितरण गरिएको छ। पहिलोपटक नयाँ प्रविधि प्रयोग गरेर रकम दिइएको हो।

पीडितले बोकेको मोबाइलमा ई–भौचर एसएमएसबाट पठाएर बैंकबाट रकम लिन सक्ने व्यवस्था मिलाइएको हो। मसेल गाविसका बासिन्दालाई मंगलबार मोबाइलबाट राहत वितरण गरिएको हेलो नेपाल संस्थाका संजय शाहले बताए। जस्तापाता किन्न १५ हजार रुपैयाँको ई–भौचर एसएमएस गरेर पठाइएको थियो। पीडितहरूले एसएमएस पाएपछि प्रभु बैंकबाट नगद लिएका छन्। स्थानीयले नगदै लिने बताएपछि बैंकले गाविस कार्यालयमा पुगेर सेवा दिएको थियो। सदरमुकाममा आएर पनि एसएमसमार्फत पीडितहरूले रकम लिन सक्ने बैंकले जनाएको छ।

मसेलका ५ सय ४२ घरपरिवारलाई डेनमार्क सरकारको सहयोगमा गैरसरकारी संस्थाले राहत वितरण गरेका हुन्। गाविसमार्फत क्षतिको विवरण र मोबाइल नम्बर संकलन गरेपछि पीडितलाई ई–भौचर एसएमएस गरिएको थियो।

मोबाइलमा आएको सन्देश देखाएर पैसा पाएपछि स्थानीयवासी दंग परेका थिए। ‘रकमको सुरक्षा र गाउँलेलाई प्रविधि सिकाउन मोबाइल प्रविधि प्रयोग गरेका हौं,’ रकम वितरक संस्थाकी रीता ढकाल जसवालले भनिन्। बगुवासहित ताङलिचोक र धावा गाविसमा मोबाइलबाट राहत वितरण गर्न लागिएको हो। विभिन्न गैरसरकारी संस्थाले जिल्ला दैवी प्रकोप समितिबाट अनुमति लिएर जस्तापाता वा १५ हजार नगद वितरणको काम गरेका छन्।

मोबाइलमार्फत राहत वितरण गर्दा विश्वसनीय र छिटोछरितो हुने साहले बताए। ‘कसले पायो, कसले पाएन भनेर प्रमाण हुन्छ,’ उनले भने, ‘कसैले नपाउने, कसैले दोहार्‍याएर लिन पाउँदैनन्।’ रकम वितरणका लागि गरिएको अध्ययनमा ग्रामीण क्षेत्रमा ८२ प्रतिशतले मोबाइल फोन प्रयोग गरेको भेटिएको छ। हातहातमा मोबाइल बोकेर भूकम्पपीडित राहत लिन लाइन लागेका थिए। एसएमएसबाट पैसा पाएपछि चोरी हुने हराउने सम्भावना कम हुने स्थानीय पदम भट्टले बताए। व्यापारीहरूसँग सिधै सम्झौता गरेर पीडितहरूले सामग्रीसमेत किन्न सक्ने व्यवस्था मिलाउन लागिएको निको नेपालका अध्यक्ष रामचन्द्र न्यौपानेले बताए। यसअघि मोबाइलबाट सर्लाहीका आगलागी पीडितहरूलाई राहत वितरण भएको थियो। ‘सधैं पैसाले सामान किन्न पाउने भएपछि दुरुपयोग हुँदैन,’ उनले भने। कान्तिपुरबाट

About The Author

अन्य समाचारहरु: