Thu. Nov 28th, 2024

‘स्वस्थ बच्चा प्रतिस्पर्धा’ कार्यक्रम प्रभावकारी हुँदै


२४ माघ, धादिङ

जिल्लाको दक्षिणी भेगमा अधिकांश चेपाङ बस्ती छन् । शिक्षा, स्वास्थ्य र सरसफाइमा उचित ध्यान नदिदाँ धेरै आमा र बच्चाको ज्यान जोखिममा पर्ने गरेको छ भने बच्चाहरुमा कुपोषणको समस्या बढी छ । पोषण र स्वास्थ्यमा सुधारका लागि धादिङमा ‘स्वस्थ्य बच्चा प्रतिस्पर्धा’ कार्यक्रम संचालन गरिएको छ ।

जिल्लाको दक्षिणी भेगको गजुरी र बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न ठाउँमा आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै कार्यक्रम संचालन गरिएको हो । यो कार्यक्रम एकदमै प्रभावकारी बन्दै गएको छ । हालसम्म बेनिघाट रोराङ गाउँपालिकातर्फ वडा नं ८ को माङमुङ, बुङपुङ, मिजारगाउँ, यारवाङ, साचक, राक्सिराङ, दुङवाङ र गजुरी गाउँपालिकातर्फ वडा नं ४ को चिउरीखर्क, नेवारबास, गैह्रीगाउँ, धर्मेचौर र वडा नं ६ को राम्चेमा गरी १२ स्थानमा कार्यक्रम संचालन गरिएको छ । १२ स्थानमा पाँच वर्ष मुनिका २ सय ८२ जना बालबालिकाहरुको सहभागितामा प्रतिस्पर्धा गरिएको छ ।

सहभागी मध्ये ६ जना बालबालिका पोषणका हिसाबले अति जोखिममा छन् भने १७ जना मध्यम जोखिममा रहेको पाइएको थियो । जोखिममा रहेका बालबालिकाका पुनस्थापनाका लागि सम्बन्धित अविभावकलाई आवश्यक परामर्श दिइएको छ ।

गाउँपालिकाको आर्थिक साझेदारी र प्राविधिक सहकार्यमा शान्ति नेपालले कार्यक्रम संचालन गरिरहेको छ । गत वर्ष पनि बेनिघाट रोराङ र गजुरी गाउँपालिकामा गरी ४० स्थानमा कार्यक्रम संचालन गरिएको थियो । पोषणलाई प्रत्यक्ष असर गर्ने मुख्य तीन क्षेत्रगत अवस्थाहरु बालबालिकाको पोषण र सरसफाईका अवस्था, अविभावकको बाल स्याहारप्रतिको बुझाई, संबेदनशिलता र ब्यवहार मापनका सूचकहरुका आधारमा मूल्यांकन गर्ने गरेको शान्ति नेपालका परियोजना संयोजक लालप्रसाद पोखरेलले बताए । ‘भन्दा स्वस्थ्य बच्चा प्रतिस्पर्धा भने पनि खासमा यसको मर्म बाल स्याहारमा अविभावककै प्रतिपर्धा हो’ उनले भने, ‘सानो उपहारको आशमा भए पनि कयौ जोखिममा रहेका बालबालिकाको अविभावकलाई परामर्श दिने अवसर प्राप्त हुने भएकाले यस वर्ष अझै थप लक्ष्यका साथ ५५ स्थानमा गर्दै छौ ।’

प्रतिस्पर्धाका लागि विभिन्न सूचकहरु निर्धारण गरिएको छ । सफा अनुहार, सफा कपडा लगाएको, सफा कपाल, सफा हात खुट्टा, सफा दाँत तथा बालबालिकाको पोषण स्वास्थ्य अवस्थाको मूल्याङकन गरिने गर्दछ । बिरामी हुदाँ स्वास्थ्य संस्था लगेको, नियमित खोप लगाएको, तौल र पाखुराको नाप, अभिभावकको पोषण स्वास्थ्यबारे बुझाई र व्यवहार, शौचालय निर्माण र प्रयोग, जन्मान्तर कायम गरेको, स्वास्थ्य संस्थामा बच्चा जन्माएको, सरसफाईमा ध्यान दिएको, पोषण खानेकुरा खुवाएको लगायतका सूचक तयार पारिएको छ ।

प्रतिस्पर्धामा सहभागी १२ देखि ५९ महिना उमेर समुहका सबै बालबालिकाको तौल लिने गरिन्छ भने कम तौल भएकाको कुपोषण अवस्था पहिचान गर्न मुआक टेप र उचाई/लम्बाई पनि मापन गर्दछ । यसरी सबै सुचकहरुको मापन पछि प्रोत्साहन स्वरुप पुरस्कारको समेत प्रदान गरिन्छ । उत्कृष्ट ३ जना बच्चाका लागि १ जोर कपडा र स्वच्छता सामग्री प्रदान गर्ने गरिन्छ । त्यस्तै पोषण स्वास्थ्यका हिसाबले कमजोर बच्चाका अभिभावकहरुको पनि आत्मबल, स्वाभिमानमा आँच आउन नदिन सबै अभिभावकको सहभागीताका लागि साबुन, मञ्जन, बस, मग प्रदान गर्दै आइरहेको छ ।कार्यक्रम अन्र्तगत नै बालबालिकाको स्याहार, आहार, बिहारमा संवेदनशिल गराउने, जोखिममा रहेका बच्चाका अभिभावकलाई आवश्यक सन्देश, परामर्श र फलोअप योजना बनाउने, भिटामिन, जुकाको अ‍ैषधी खान छुटेका बालबालिकालाई खुवाउन प्रेरित गर्दै आइहेको छ ।

२०७६ माघ २४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: