२१ माघ , धादिङ-
धादिङको ज्वालामुखी गाउँपालिका अन्तरगत वडा नम्वर ६ का ५ वटा टोलहरु स्वच्छ र सफा गाउँ (पुर्ण सरसफाइ युक्त टोल) घोषणा भएका छन् ।
बागमती प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले मंगलवार एक समारोहको वीच वडा नं ६ का देउराली, हुलाकभन्ज्याङ, मिलनटोल, सेतीदेवी र साँधभन्ज्याङ टोललाइ स्वच्छ र सफा टोल घोषणा गर्नुभएको हो ।
नेपाल सरकारको पुर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार सफा र स्वच्छ टोल घोषणा हुनको लागि आवश्यक पर्ने सवै सुचकहरु पुरा गरेकाले ५ वटै टोलहरुलाइ पुर्ण सरसफाइ युक्त स्वच्छ र सफा गाउँ घोषणा गरिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानकारी दिनुभयो ।
पुर्ण सरसफाइ मार्गदर्शन २०७३ ले ५ वटा ब्यवहारहरु चर्पीको उचित प्रयोग, ब्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी, सुरक्षित र स्वच्छ खाना, घर तथा आँगनको सरफाइका १५ वटा सुचकहरु तथा ४५ वटा सहायक सुचकहरु पुरा गरेमा पुर्ण सरसफाइयुक्त गाउँ भन्न मिल्ने बताएको छ । घोषणा समारोहमा सफा र स्वच्छ गाउँलाइ भविष्यमा पनि निरन्तरता दिनको लागि ५ वटै टोलका टोल विकास समितिका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।
स्वच्छ र सफा गाउँ घोषणा गर्दै सामाजिक विकास मन्त्रालयका सचिव दुवाडीले अहिले घोषणा गर्नु मात्रै भन्दा पनि यस कार्यलाइ भविष्यमा पनि निरन्तरता दिनको लागि समुदायलाइ आग्रह गर्नुभयो । धादिङ जिल्लामै पहिलो पटक घोषणा गरिएको स्वच्छ र सफा गाउँको सन्देश बागमती प्रदेशका सवै जिल्लामा पु¥याउने बाचा गर्दै दुवाडीले भन्नुभयो, ‘यहाँको नमुना काम, स्वच्छ र सफा बातावरण देखेर अरु ठाउँका मानिसहरु अवलोकन गर्न आउने बातावरण सधैभरि बनाइराख्न सम्पुर्ण टोलबासीहरुमा अनुरोध छ ।’ ज्वालामुखी गाउँपालिकाले सुरुवात गरेको यो नौलो प्रयासले नेपाल सरकारले सन २०३० सम्ममा राखेको दिगो विकासको लक्ष्य प्राप्तीलाइ पनि टेवा पुग्ने दुवाडीले बताउनुभयो ।
घोषणा कार्यक्रमलाइ सम्वोधन गर्दै ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सेनाले आगामी ३ वर्षभित्र सिङ्गो गाउँपालिकालाइ नै पुर्ण सरसफाइ युक्त गाउँ घोषणा गर्नको लागि अहिलेदेखी नै योजना बनाएरै काम गरिरहेको बताउनुभयो ।
स्वच्छ र सफा गाउँ घोषणा गर्नको लागि गैरसरकारी सस्थाहरु शान्ति नेपाल, एन्फो नेपाल लगायतले ज्वालामुखी गाउँपालिकासंग साझेदारी गरेर जनचेतनामुलक कार्यक्रम तथा प्राविधिक सहयोगहरु गरेको थियो । अहिले घोषणा गरिएको गाउँहरुमा टोल विकास समिति बनाइ त्यही समिति मार्फत स्वास्थ्य र सरसफाइका सवै क्रियाकलापहरु संचालन गरिएको र निरन्तरता दिनको लागि पनि टोल विकास समितिलाइ नै जिम्मा दिइएको स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा ५ वटा टोलका उत्कृष्ट सरसफाइयुक्त घरधनीहरुलाइ प्रशंसापत्र वितरण गरिएको थियो ।
२०७६ माघ २१ गते प्रकाशित