
६ माघ , चितवन –
सरकारले भ्रमण वर्ष सुरु गरे पनि चितवनका होटल सुनसान छन्। पर्यटकीय गन्तव्य सौराहा, मेघौली र पटिहानीमा अपेक्षाअनुसार पर्यटक भित्रिन सकेका छैनन्। भ्रमण वर्षको अवसरमा निकै तामझामका कार्यक्रम गरिए पनि यी ठाउँमा पर्यटकको चहलपहल न्यून छ।
अन्य वर्षको तुलनामा यस वर्ष झन् पर्यटक कम आएका छन्। आन्तरिक र बाह्य पर्यटकको संख्या ज्यादै न्यून छ। भ्रमण वर्षको चर्चाको तुलनामा सरकारको योजना नहुँदा यहाँका होटल खासै भरिभराउ हुन सकेका छैनन्।
भ्रमण वर्षलाई उत्सवका रूपमा मनाउने सरकारी योजना कार्यान्वयनको पाटोमा फितलो छ। अन्तर्राष्ट्रिय स्तरमा भ्रमण वर्षको चर्चा हुन नसक्दा पर्यटन व्यवसाय प्रभावित बनेको छ। व्यवसायीमा खासै उत्साह छैन। गत वर्ष यो समयमा आन्तरिक पर्यटक बढी आउने समय हो। भ्रमण वर्षको अभियानले पर्यटन व्यवसायलाई छुन सकेको छैन।
मेघौलीको साराङ वाइल्ड लाइफ स्याङचरीका सञ्चालक सुवोध प्रधानले नेपालभन्दा बाहिर अभियान लान नसकिएका कारण पर्यटक आउन नसकेको बताए। भ्रमण वर्षमा सहज हुनको साटो अप्ठेरो अवस्था सिर्जना भएको उनले बताए। निकुञ्जमा जीप सफारी गराइने गाडीको प्रदेशको यातायात कार्यालयमा दर्ता नगरेको भन्दै रोक लगाएको थियो। व्यवसायीले विरोध गरेपछि निकुञ्जले म्याद थप्दै सञ्चालन अनुमति दिएको छ। ‘हामीलाई ,ऊर्जा दिनुपर्नेमा झन् कठिन बनाउने गरिएको छ’, प्रधानले भने, ‘वागत गरेर के गर्नु बाहिरबाट आउने पर्यटक एक जनापनि बढेको छैन ’। मेघौलीमा तीनवटा ठूला होटलसहित केही सानाहोटल छन्। चौधरी ग्रुपको मेघौलीताज सेराई र होटल बाराही छन्। यी होटलमा पर्यटक खासै छैनन्।
पर्यटनका लागि भ्रमण वर्ष भनिए पनि पर्यटकको संख्या बढाउने नीतिगत विषय सरकारी योजनामा छैन। सरकारले बाह्य पर्यटकका लागि सुविधा दिन सकेको छैन। सुविधा बढाउन नसक्दा पर्यटक बढ्न सकेको छैन। न्यूनतम् सुविधा आवश्यक सुविधा हुन नसक्दा भ्रमणका लागि तोकिएको राजस्वमा सुविधा नदिएको गुनासो व्यवसायीको छ।
चितवन राष्ट्रिय निकुञ्जको कारण वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गर्छन्। यहाँका व्यवसायीले निकुञ्ज प्रवेशका लागि दिइने टिकटको अवधि बढाउन वर्षौंअघि राखेको मागअझै पूरा हुन सकेको छैन।
२०७६ माघ ६ गते प्रकाशित