
८ पुस , पोखरा –
काठमाडौं गोल्डेन वारियर्सलाई ६० रनले पराजित गर्दै लिगमा शतप्रतिशत जितका साथ चितवन राइनोजले पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको फाइनलमा स्थान सुरक्षित गरेको छ ।
६ टोली सम्मिलिन प्रतियोगिताको राउन्ड रोविन लिगमा शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । दोस्रो र तेस्रो हुने टोलीबीच इलिमिनेटर खेल हुनेछ ।
इलिमिनेटरमा बुटवल ब्लास्टर्स पुगिसकेको छ । अर्को टोलीको टुंगो भने बुटवल र विराटनगरबीचको अन्तिम खेलको नतिजाबाट लाग्नेछ । पराजयका बाबजुद काठमाडौंको पनि प्लेअफ प्रवेशको सम्भावना सकिएको छैन ।
१ सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ७ रनमात्र बनाउन सक्यो । ओपनर जयकिसन कोल्सावाला र अमित श्रेष्ठ सस्तैमा आउट भएपछि सुरुआतमै धर्मराएको थियो । अर्का बिदेशी गौरव तोमर पनि ६ रनमै आउट भए ।
चौथो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र पवन सर्राफबीच ४४ रनको साझेदारी भएको थियो । पवनले १९ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाएर आउट भए । कप्तान मल्ल पनि ३९ बलमा ३ चौका र २ छक्कासहित ४० रन जोडे ।
पृथु बास्कोटाले १८ रन बनाए पनि काठमाडौंका अन्तिमक्रमका ब्याट्सम्यानहरुले दोहोरो अंकको रन छुन सकेनन् । बलिङमा रोहन मुस्तफा, सन्नी पटेल र करण केसीले २–२ विकेट लिए । ब्याटिङमा अर्धशतक प्रहार गरेका रोहनले ३ ओभरमा १ मेडनसहित ६ रनमात्र खर्चिए ।
यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको चितवनले ४ विकेट गुमाएर १ सय ६७ रन जोडेको थियो । चितवनका रोहन मुस्तफासँग करण केसीले ओपनिङ गरेका थिए । तर १।४ ओभरमा करणलाई शुसान भारीले आउट गरेपछि आएका बाबर हायतले सानदार ब्याटिङ गरे ।
प्रतियोगितामा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा बाबरले रोहनसँग मिलेर दोस्रो विकेटका लागि १ सय १९ रनको शतकीय साझेदारी गरेका थिए । बसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि बाबरले ४७ बलमा ३ चौका र ६ छक्का प्रहार गरे ।
२०७६ पुस ८ गते प्रकाशित