३ पुस, काठमाडौँ –
स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको बार्सिलोना र रियल मड्रिडबीचको ‘एल क्लासिको’ खेल बराबरीमा टुंगिएको छ ।
बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा दुबै टिमले पाएको मौकाको सदुपयोग गर्न सकेनन् । खेलमा रियलका ग्यारेथ बेलले गोल गरे पनि त्यसलाई अफसाइड देखाइयो ।
घरेलु दशर्कको साथ पाएर पनि बार्सिलोनाले पनि राम्रो खेल्न देखाउन सकेन । जसका कारण यस पटकको एल क्लासिको त्यति रोमाञ्चक हुन सकेन ।
एक सय ७९ औं एल क्लासिको खेल दुई महिनापछि सरेको हो । यसअघि अक्टोबर २६ मा हुने भनिएको खेल राजनीतिक कारणले सरेको थियो ।
यो बराबरीले बार्सिलोना र रियलको १७ खेलबाट समान ३६–३६ अंक भएको छ । तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा छ ।
२०७६ पुस ३ गते प्रकाशित