२७ मंसिर, धादिङ–
भूकम्प गएको साढे चार वर्ष बित्दा धादिङ जिल्लामा विद्यालय निर्माणको काम धमाधम भइरहेको छ । हालसम्म दुई सय ४६ विद्यालयका दुई हजार चार सय ५० कक्षाकोठा निर्माण सम्पन्न भइसकेका छन् ।
निर्माण सम्पन्न गरिएको विद्यालयमा पठनपाठन समेत सूचारु भइसकेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङ जिल्लामा ५ सय ८१ विद्यालयका ४ हजार ४ सय ३८ कक्षाकोठामा क्षति पुगेको छ ।
निर्माण गरिएको विद्यालय भूकम्प प्रतिरोधी छ भने छात्र, छात्रा र अपांगमैत्री शौचालयको पनि निर्माण गरिएको छ । विद्यार्थीमैत्री खानेपानीको धारा पनि निर्माण गरिएको छ । ह्विलचियर गुड्ने गरी विद्यालय तथा शौचालयहरुको संरचना निर्माण गरिएको छ । नयाँ भवनले शिक्षक तथा विद्यार्थी पनि फूरुङग छन् भने पठनपाठनमा पनि सहज भएको छ । भवन नहुदाँ सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा पढाउनु पर्ने अवस्था थियो अहिले त्यो हटेको छ शिक्षकहरुको भनाई छ ।
जिल्ला कार्यान्वयन ईकाई धादिङको कार्यालयका अनुसार संघसंस्था, विद्यालय व्यवस्थापन समिति र ठेक्का गरी तीन किसिमिले विद्यालय निर्माण भइरहेको छ । संघसंस्था मार्फत ६३ वटा विद्यालयका ९ सय ८ कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने २ सय २८ कक्षाकोटमा निर्माणाधिन छन् ।
त्यस्तै विद्यालय व्यवस्थापन समिति मार्फत एक सय ७६ विद्यालयका एक हजार दुई सय ६१ कक्षाकोठमा निर्माण सम्पन्न भइसकेको छ भने १ सय ९४ विद्यालयमा ४ सय ६४ कक्षाकोठा निर्माणाधिन छन् । त्यस्तै ठेक्कामार्फत ७ वटा विद्यालयमा ६१ वटा कक्षाकोठा निर्माण सम्पन्न भइसकेको छ भने ५५ विद्यालयमा ४ सय ५८ कक्षाकोठा निर्माणाधिन छन् ।
हाल निर्माण गरिदै गरेका विद्यालयको काम छिटो र गुणस्तरीय बनाउन बेलाबेलामा अनुगमनको काम गरिरहेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) धादिङका प्रमुख युवराज बगालेले बताए । ‘अहिले बनेका विद्यालय भवनहरु अब लामो समय सम्मका लागि ढुक्कका छन् कुनै विपत्तीले असर गर्ने छैन’ उनले भने, ‘विद्यालय पूननिर्माणको काम सुरु भएका ठाँउमा सक्दो छिटो काम सक्न आग्रह पनि गरेका छौँ, बेलाबेलामा अनुगमन पनि भइरहेको छ ।’
२०७६ मंसिर २७ गते प्रकाशित