४ मंसिर, काठमाडौं –
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भने कार्यकारीसहित पार्टी सञ्चालनको जिम्मेवारी दिएको छ । साथै अर्का अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्री कायमै रहनेछन् ।
बुधबार बसेको नेकपा सचिवालयको बैठकले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट गरेको हो । जसअनुसार यो प्रतिनिधिसभा रहँदासम्म ओली नै प्रधानमन्त्री हुनेछन् ।
प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
उनकाअनुसार पार्टी र सरकार सञ्चालनमा अध्यक्षद्वयले अपसी सरसल्लाह गर्नेछन् भने पार्टी सञ्चालन गर्दा बैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि सहमति भएको छ । दुबै अध्यक्षको वरियता क्रम यथावत नै राखिएको छ ।
तत्कालीन एमाले र माओवादीबीच पार्टी एकता गर्दा ओली र प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने सहमति भएको थियो ।
सुरुमा आलोपालो प्रधानमन्त्रीमा जोड दिएका प्रचण्डले पछिल्लो समय भने आफूलाई पार्टीको जिम्मेवारी दिएर पाँच वर्ष सरकार चलाउन ओलीलाई प्रस्ताव गरेका थिए । दुई नेताबीच सोमबार भएको भेटमा प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनका क्रममा कार्यकारी अध्यक्षसहित प्याकेजमा सहमति गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
२०७६ मंसिर ४ गते प्रकाशित