Mon. Mar 10th, 2025

फुटबल टोली भुटानतर्फ

१ मंसिर, काठमाडौ –

कतारमा आयोजना हुने फिफा विश्वकप दोस्रो चरण छनोटअन्तर्गत कुवेतसँग मंगलबार हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली शनिबार भुटान प्रस्थान गरेको छ। शनिबार अखिल नेपाल फुटबल संघ ९एन्फा० ले एक कार्यक्रमको आयोजना गर्दै नेपालले खेल्ने होम खेलका लागि नेपाली राष्ट्रिय टोलीलाई बिदाइ गरेको हो। टोलीलाई एन्फाका कार्यवाहक अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गरे।

यसअघि अवे खेल खेलिसकेको नेपालले मंगलबार कुवेतसँग भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा आफ्नो पहिलो घरेलु खेल खेल्न लागेको हो। त्यसका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ ९एन्फा० ले २३ सदस्यीय नेपाली खेलाडीको नाम सार्वजनिक गरेको थियो।

तर शनिबार प्रस्थान गर्नुअघि चार खेलाडीलाई कारबाहीस्वरूप टोलीबाट हटाइँदा २० खेलाडी मात्र भुटान गएका छन्। सुवास गुरुङ टोलीमा समावेश भएका छन्। स्ट्राइकर विमल घर्तीमगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई विश्वकप छनोटअन्तर्गत कुवेतसँग खेल्ने टोलीबाट एन्फाले हटाएको हो। एन्फाले कारबाहीस्वरूप चारै खेलाडीलाई टोलीबाट बर्खास्त गरेको छ। एन्फाले ४ खेलाडीलाई अनुशासनविपरीतको कार्य गरेको भन्दै तत्कालका लागि टोलीबाट हटाइएको र यस विषयमा पछि अन्तिम निर्णय लिइने बताएको छ।

राष्ट्रिय टोलीका चार खेलाडी शुक्रबार राति ठमेलस्थित एक लाउन्ज बारमा गएको भेटिएपछि एन्फाले उनीहरूलाई कारबाही गरेको हो। नेपालको पहिलो होम खेल यसअघि दशरथ रंगशालामा गर्ने तालिका रहेको थियो। तर २०७२ को महाभूकम्पपछि थलिएको रंगशाला पुनःनिर्माण भइरहेकाले नेपालको होम खेल भुटानमा आयोजना हुन लागेको हो। यसअघि एसियाली फुटबल संघ ९एएफसी० र फिफाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार रंगशाला नबनेपछि तटस्थ स्थलमा खेल गर्न एन्फालाई निर्देशन दिएको थियो। सोहीअनुसार नेपालले भुटान फुटबल संघलाई पत्राचार गर्दै खेल आयोजनका लागि अपिल गरेको थियो।

शुक्रबार घोषणा गरिएको टोलीमा स्ट्राइकर भरत खवास र मिडफिल्डर मिक्छेनले पहिलो पटक विश्वकप छनोट खेलमा स्थान बनाएका छन्। खवास यसअघि राष्ट्रिय टोलीमा अटाइसकेका थिए भने मिक्छेन पहिलो पटक टोलीमा परेका हुन्। यसअघि मिक्छेनले म्यानमारसँग भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्थान बनाएका थिए।

नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा कुवेतसँग आफ्नो पहिलो घरेलु खेल खेल्दै छ। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। समूह ‘बी’ मा नेपाल समूहको चौथो स्थानमा छ।

कुवेतसँग अवे खेलमा ७–० को फराकिलो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २–० ले हराएको थियो। तेस्रो खेलमा जोर्डनलाई ३–० को नतिजा सुम्पिएको नेपालले एसिपालि पावर हाउस अस्ट्रेलियासँग ५–० ले पराजित भएको थियो।

२०७६ मंसिर १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: