
२० कात्तिक, काठमाडौँ –
युरोपेली च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना चेक गणतन्त्रको स्लाभिया प्रागसँग बराबरीमा रोकिएको छ । समूह एफ अन्तर्गत भएको खेलमा बार्सिलोना घरेलु मैदानमै प्रागसँग गोलरहित बराबरीमा रोकिएको हो ।
बराबरीको बाबजुत बार्सिलोना सर्मूहको शीर्ष स्थानमा यथावत छ । चार खेल खेल्दा क्याटलन क्लबले दुई जित र दुई बराबरीबाट आठ अंक बनाएको छ ।
यो समूहमा जर्मन क्लब बोरुसिया डोर्टमण्ड दोस्रो स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा डोर्टमण्डले इटालियन क्लब इन्टरमिलानलाई ३–२ गोलले हरायो ।
इन्टरमिलानले पहिलो हाफमा लिएको दुई गोलको अग्रतामाथि बोरुसिया डोर्टमण्डले दोस्रो हाफमा तीन गोल गरेको थियो ।डोर्टमण्डको जितमा अच्राफ हाकिमी नायक बने । उनले दुई गोल गरेका थिए ।
खेलको पाँचौं मिनेटमा लउटारो मार्टिनेजले गोल गर्दै इन्टरमिलानलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा माटियास भेसिनोले गोल गर्दै इन्टरमिलानलाई २–० को अग्रता दिलाए ।
इन्टरमिलान दोस्रो हाफमा तीन गोल खान पुग्यो । ५१औं मिनेटमा हाकिमीले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए । ६४औं मिनेटमा जुलियन ब्राण्डले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
७७औं मिनेटमा हाकिमीले ब्यक्तिगत दोस्रो गोल गरेपछि बोरुसिया डर्टमण्डले अग्रता लिए । बाँकी समयमा इन्टरमिलानले गोल थप्न नसकेपछि पराजित हुन पुग्यो ।जितसँगै डोर्टमण्ड सात अंक बनाउँदै समूह एफको दोस्रो स्थानमा उक्लिएको छ ।
समूह एच अन्तर्गतको खेलमा ४–१ गोलले पछि परेको चेल्सी डच क्लब आयाक्ससँग अंक खोस्न सफल भएको छ । स्ट्याम्फर्ड ब्रिजमा भएको खेलमा एक घण्टा बित्दासम्म ४–१ ले पछि परेको चेल्सीले पछिल्लो आधा घण्टामा तीन गोल फर्काएपछि आयाक्स अंक बाँढ्न बाध्य भएको हो ।
खेलमा आयाक्सका दुई खेलाडीले रातो कार्ड पाएका थिए भने चेल्सीका दुई खेलाडीले आत्मघाती गोल गरेका थिए । दोस्रो मिनेटमा टोबी अब्राहमले आत्मघाती गोल गर्दा आयाक्सले अग्रता लियो । त्यसको दुई मिनेटपछि चेल्सीले पेनाल्टी पायो । जसलाई जर्जिन्होले गोलमा परिणत गरे ।
२०औं मिनेटमा क्वीन्सी प्रोम्सले गोल गर्दै आयाक्सलाई अग्रता दिलाए । ३५औं मिनेटमा चेल्सीका गोलकिपर केपाले आत्मघाती गोल गर्दा गएको संस्करणको सेमिफाइनलिस्ट आयाक्सले पहिलो हाफ सकिँदा ३–१ को अग्रता लियो ।
५५औं मिनेटमा डोनी भ्यान डि बिकले गोल गर्दै आयाक्सको अग्रता ४–१ मा लम्ब्याए । ६३औं मिनेटमा डिफेन्डर एज्पिलिक्वेटाले गोल गर्दै आयाक्सको अग्रता ४–२ मा छोट्याए । ६८औं मिनेटमा आयाक्सका दुई खेलाडीले रातो कार्ड पाए । डेली ब्लाइन्ड र जोल भेल्टम्यानले रातो कार्डा पाएपछि आयाक्स नौ खेलाडीमा झर्यो ।
त्यसबाट पाएको पेनाल्टीलाई जर्जिन्होले मिस गरेनन् र चेल्सीले आयाक्सको अग्रता ४–३ मा घटायो ।
७४औं मिनेटमा सब्स्टिच्युट खेलाडी रिस जेम्सले गोल गर्दै खेल बराबरीमा पुर्याए । कर्ट जुमाको हेडर बारमा लागेर फर्किएको बललाई जेम्सले पोस्टको दिशा दिए । १९ वर्षे जेम्स च्याम्पियन्स लिगमा चेल्सीका लागि गोल गर्ने सबैभन्दा कान्छा खेलाडी समेत बनेका छन् ।
बराबरीसँगै समूह एच प्रतिस्पर्धात्मक बनेको छ । चेल्सी, आयाक्स र भ्यालेन्सिया तीनै क्लबको ७–७ अंक छ । फ्रेन्च क्लब लिल भने एक अंक जोड्दै पुछारमा छ । स्पेनिस क्लब भ्यालेन्सियाले लिललाई ४–१ ले हरायो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको लिलविरुद्ध भ्यालेन्सियाले दोस्रो हाफमा चार गोल गर्यो । २५औं मिनेटमा भिक्टर ओसिमहेनले लिललाई अग्रता दिलाएका थिए ।
६६औं मिनेटमा डानी परेजोले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काए । अन्तिम १० मिनेटमा भ्यालेन्सियाले तीन गोल थप्यो । ८२औं मिनेटमा अदामा सोमाओरोले आत्मघाती गोल गर्दा भ्यालेन्सियाले २–१ को अगता लियो ।
त्यसपछि भ्यालेन्सियाका लागि ८४औं मिनेटमा जियोफ्री कोन्डोग्बिया र ९०औं मिनेटमा फेर्रान टोरेसले गोल गर्दै भ्यालेन्सियालाई महत्वपूर्ण तीन अंक दिलाए ।
२०७६ कात्तिक २० गते प्रकाशित