
१८ कार्तिक, बिर्तामोड
प्रतिस्पर्धात्मक खेलमा जित हासिल गर्दै विभागीय टिम नेपाल पुलिस क्लब झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पुलिसका जुमानु राईलाई रोक्ने प्रयास गर्दै झापाका खेलाडी ९सेतो० । तस्बिर स् अर्जुनरकान्तिपुर
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार पुलिसले घरेलु टोली झापा ११ लाई २–१ गोलले पराजित गरेको हो । पुलिसको जितमा सुमन लामा र सौजन याख्याले गोल गरेका थिए । झापाका लागि कप्तान योगेश गुरुङले एक गोल फर्काएका थिए । खेलमा १३ औं मिनेटमा सुमनले फ्रिकिक मार्फत गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । डि–एरिया नजिकैबाट प्रहार गरेको फ्रिकिक झापाका गोलकिपर किशोर गिरीले जज गर्न भ्याएनन् ।
५४ औं मिनेटमा सौजन याख्खाले गोल गर्दै पुलिसको अग्रता दोब्बर बनाएका थिए । झापाका गोलकिपर किशोर अगाडि बढेको फाइदा उठाउँदै सौजनले बललाई गोलपोस्टको दिशा दिन भ्याए । झापाका लागि कप्तान योगेश गुरुङले ६९ औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, थप गोल गर्न नसक्दा झापा घरेलु मैदानमास्तब्ध बन्यो ।
खेलमा झापाले केही राम्रा आक्रमणहरू सिर्जना गरेको थियो । १० औं मिनेटमा झापाका मिलन राईले गरेको फ्रिकिक प्रहार बारमा लागेर फर्किएको थियो । पहिलो हाफको इन्जुरी समयमा पुनः मिलनको प्रहार दोस्रो पटक गोलपोस्टमा लागेर फर्किएको थियो । झापा ७९ औं मिनेटमा तेस्रो पटक अभागी रह्यो । कप्तान योगेश गुरुङले प्रहार गरेको बल पुनः पुलिसको गोलपोस्टमा लागेर फर्किएको थियो । त्यसअघि झापाले खेलको तेस्रो मिनेटमै अग्रता लिने अवसर पाएको थियो । पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई झापाका निरोज बस्नेतले गोलपोस्टको दिशा दिन सकेनन । २८ औं मिनेटमा योगेशको प्रहार पनि गोलपोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलमा पुलिसले पनि थप गोल गर्ने केही राम्रा अवसरहरू गुमाएको थियो । ५ औं मिनेटमा पुलिसका सुमन लामाको कडा प्रहार झापाका गोलकिपर किशोरले नियन्त्रणमा लिन नसके पनि पुलिसका अरू खेलाडीले एटेम्ट गर्न भ्याएनन् । १७ औं मिनेटमा पुलिसका नीरकुमार राईको प्रहार किशोरले पञ्च गरेर बाहिर पठाएका थिए । ३२ औं मिनेटमा पुलिसका निरकुमारले वान भर्सेस वानमा लगेको बललाई किशोरले अघि बढेर उत्कृष्ट बचाउ गरेका थिए ।
२०७६ कार्तिक १८ गते प्रकाशित