
४ कार्तिक, काठमाडौ –
काठमाडौं चितवन राइनोज काठमाडौंमा जारी महिला च्याम्पियन्स लिग ९डब्लूसीएल० टीट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा आइतबार भएको खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले हराउँदै चितवन फाइनलमा प्रवेश गरेको हो। चितवनले समूह चरणका सबै खेलमा जित निकाल्न सफल भयो।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो। चितवनको जितमा काजल श्रेष्ठले सर्वाधिक ३६ रन बनाइन्। कञ्चन श्रेष्ठले ३४, कप्तान इन्दु बर्माले अविजित १७ र सुमन खतिवडाले १० रन बनाइन्। बलिङमा विराटनगरकी शवनाम राईले दुई, शर्मिला रानामगर, आरती बिडारी र सोनु खड्काले एक एक विकेट लिए। एक सय २३ रनको विजय लक्ष्य पछ्याएको विराटनगर १७।५ ओभरमा सवै विकेटको क्षतिमा ६९ रनमा समेटिएको थियो।
विराटनगरका लागि ज्योति पाण्डे र डोली भट्टले समान २१÷२१ रन बनाए। अन्य खेलाडीले दोहोरो संख्यामा रन बनाउन सकेनन्। विराटनगरलाई सस्तैमा समेट्न चितवनकी कविता गौतमले तीन विकेट लिइन्। कविता प्येयर अफ दी म्याच घोषित भइन्। सुमन खतिवडाले दुई तथा सन्तोषी चौधरी, रीतु कनौजिया र रेखा रावलले एक एक विकेट लिए।
यसैगरी आइतबार नै भएको अर्को खेलमा ललितपुर फाल्कोन्सलाई आठ विकेटले हराउँदै क्याट क्विन्स काठमाडौंले प्ले अफमा स्थान बनाएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय पाँच रन बनाएको थियो। ललितपुरका लागि रोशनी बोहोराले अविजित २९ रन बनाइन्। कप्तान नेरी थापाले २२, ममता चौधरीले १५ र गीता गोसाईले १३ रन बनाइन्।
काठमाडौंका ईश्वरी विष्टले दुई र सरस्वती कुमारीले एक विकेट लिए। एक सय ६ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १७।२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो। काठमाडौंको जितमा कप्तान रुविना क्षेत्रीले अविजित ५९ रन बनाइन्। अर्धशतक पूरा गर्ने क्रममा रुविनाले ५२ बलमा एक छक्का र नौ चौका हानेकी थिइन्।
रोमा थापाले १८ र रश्मी चौलागार्इंले नौ रन बनाए। ललितपुरकी सम्झना खड्का र एलिसा केसीले एक एक विकेट लिए। काठमाडौंकी रुविना क्षेत्री प्लेयर अफ दी म्याच भइन्। समूहमा दोस्रो स्थानमा रहेको काठमाडौं र तेस्रो स्थानमा रहेको विराटनगरबीच प्ले अफ खेल हुनेछ। प्लेअफको विजेताले चितवनसँग फाइनल खेल खेल्नेछ। प्रतियोगिताबाट बाहिरिएका पोखरा पल्टन र ललितपुरले चौथो र पाँचौं स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
२०७६ कार्तिक ४ गते प्रकाशित