काठमाडौं – कृषि मन्त्रालयले भूकम्प पीडितलाई प्रतिपरिवार एकका दरले गाई भैसी वितरण गर्न एक अर्ब ६८ करोड माग गरेको छ ।
गत बैशाख १२ गतेको विनासकारी भूकम्पका कारण प्रभावित परिवारलाई प्रतिपरिवार एक भैसी वा गाई दिने तयारी गर्दै प्रति भैसीको ढुवानीसहित हस्तान्तरण गर्न ७५ हजार मूल्य तोकेको छ । मन्त्रालयले भूकम्पका कारण पशुपन्छि गुमाएका परिवारलाई एक–एक वटाका दरले वितरण गर्नेगरी राष्ट्रिय योजना आयोगमा प्रस्ताव समेत पठाइसकेको छ ।
कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले मन्त्रालयले संकलन गरेका क्षतिको प्रारम्भिक तथ्यांक भएको भन्दै क्षतिको विवरण थपिर्दै जाने बताए । उनले मन्त्रालयले माग गरेको बजेट पनि क्षति सँगै बढ्ने पनि जानकारी दिए । ‘समितिले तत्कालिन, अल्पकालिन र दीर्घकालिन योजना सहितको विवरण माग गरेको थियो’ संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा सचिव भट्टराईले भने, ‘राष्ट्रिय योजना आयोगले तत्कालिन, र अल्पकालिन योजना मागेकाले ‘डुब्लिकेशन’ नहोस भनेर अहिले त्यही अनुरुपको योजना मात्र यहाँ ल्याएका छौं ।’ उनले समितिमा दिर्घकाकालिन योजनाका विषयमा पनि काम भइरहेको बताए । संसद्को कृषि तथा जलस्रोत समितिले भूकम्पबाट भएको क्षतिको विवरण र तात्कालिन मध्यकालिन तथा दीर्घकालिन योजनाका विषयमा छलफलका लागि मंगलबार कृषि मन्त्रालयका सचिवसहित अधिकारीहरुलाई डाकेको थियो ।
बैशाख १२ को भूकम्पका कारण १६ हजार तीन सय ७१ गाई–भैसी मरेका मन्त्रालयको तथ्यांक छ । मन्त्रालयले भूकम्पबाट ३६ हजार सात सय १० भेडा बाख्रा तथा सुंगुर बंगुर मरेको तथ्यांक पनि मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले हाँस कुखुरा लगायतका घरपालुवा पन्छी साँढे चार लाख मरेको तथ्यांक सार्वजनिक गरेको छ । मन्त्रालयले पुशपन्छतर्फ एक अर्ब ३९ करोड क्षति भएको तथ्यांक सार्वजनिक गरेको छ ।
मन्त्रालयले पशुपन्छिका लागि आहारा, दाना, घाँस, मिनिरल्स लगायतका सामग्री कृषकहरुलाई वितरण गर्न पाँच करोड बजेट मागेको छ । यस्तै घाइते पशुको उपचारका लागि घुम्ती पशुशिविर संचालन गर्न दुई करोड असी लाख माग गरेको छ । यसैगरी भूकम्पमा परी घाइते भएका जनावरका उपचारका लागि भ्याक्सिन लगायत औषधी किन्न तीन करोड मागेको छ ।
यस्तै हिमाली जिल्लामा चौरी वितरणका लागि दश करोड मागेको छ । मन्त्रालयले माग गरे अनुसार प्रति परिवार १० वटाका दरले चौरी वितरण गर्ने र प्रति चौरीको मूल्य एक लाख राखेको छ । यस्तै मन्त्रालयले बाख्राका पाठा वितरणका लागि एक अर्व ५७ करोड ५० लाख रुपैयाँ माग गरेको छ । मन्त्रालयको प्रस्तावमा प्रतिपरिवार तीन वटाका दरले वितरण गर्ने र हस्तान्तरण गर्दासम्म उन्नत जातको बाख्राको मूल्य सात हजार तोकेको छ ।मन्त्रालयले कुखुराका चल्ला वितरणका लागि तीन करोड मागेको छ । मन्त्रालयले ३० हजार घर परिवारलाई कुखुरा वितरण गर्नुपर्ने भन्दै प्रति परिवार ५० वटाका दरले चल्ला वितरणको योजना पेश गरेको छ । मन्त्रालयले प्रति चल्लाको मूल्य एक सय तोकेको छ । मन्त्रालयले मध्यकालिन खर्च भनेर चार अर्ब ५४ करोड ८२ लाख पाँच हजार मागेको छ ।