
५ असोज,
स्पेन स्पेनिस ला लिगाको यस सिजनमा साविक विजेता बार्सिलोनाको खराब प्रदर्शन जारी छ । शनिबार भएको यस सिजनको ५औं खेलमा बार्सिलोना ग्रानाडासँग २–० ले पराजित भएको छ।
ग्रानाडाको मैदानमा भएको खेलमा ग्रानाडाले बार्सिलोनालाई पूर्ण नियन्त्रणमा राख्यो । खेलको दोस्रो मिनेटमा नै रमोन अजिजले गोल गरि ग्रानाडालाई अग्रता दिलाए । दोस्रो हाफको ६६औं मिनेटमा आल्भारो भाडिल्लोले पेनाल्टीमार्फत गोल गर्दा बार्सिलोना झन पछि पर्यो ।
शनिबारको खेलमा बार्सिलोनाले सबै स्टार खेलाडीलाई मैदानमा उतारेको थियो । यस सिजनका लागि ला लिगामा कप्तानसमेत रहेका स्टार फर्वाड मेसी पहिलो पटक मैदानमा उत्रिएका थिए।
पहिलो हाफमा स्वारेज, ग्रिजम्यानले अग्रपंतीको मोर्चा सम्मालेका थिए । दोस्रो हाफको सुरुमै मेसी मैदान प्रवेश गरे। अघिल्ला खेलमा प्रभावशाली प्रदर्शन गरेका १६ वर्षीय अन्सु फातीलाई पनि बार्सिलोनाले दोस्रो हाफ सुरु भएसँगै मैदानमा उतारेको थियो ।
बार्सिलोनाका सबै प्रयासले पनि हार टार्न सकेन। हारसँग बार्सिलोना उपाधि होडमा निकै पछि परेको छ । ५ खेलबाट ७ अंक रहेका बार्सिलोना ७औं स्थानमा छ । बार्सिलोनामाथि जित निकाल्दै ग्रानाडा ५ खेलबाट १० अंक बनाउँदै शीर्ष स्थानमा उक्लिएको छ।
एक खेल कम खेलेको सेभिल्ला १० अंकका साथ दोस्रो स्थानमा छ। निरन्तर खराब प्रर्दशन पछि लगातार तीन सिजन उपाधि जित्ने बार्सिलोनाको योजना कठिन अवस्थामा पुगेको छ ।
ला लिगा अन्तर्गत शनिबारको खेलमा उपाधि दाबेदार मध्येको एक एट्लेटिको मड्रिड सेल्टाभिगोसँग गोलरहित बराबरीमा रोकिएको छ ।
भिल्लारियलले रियल भाल्लाडोलिडलाई २–० ले हरायो । लेभान्टे र एआइबारले गोलरहित बराबरी खेले । आइतबार बलिया टोली सेभिल्ला र रियल मड्रिड भिड्दै छन् ।
२०७६ असोज ५ गते प्रकाशित