![](https://www.pabilnews.com/wp-content/uploads/2019/08/parichaya-patra.jpg)
८ भदौ, धादिङ –
धादिङ जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्न तयारी थालिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र वितरण गर्न तयारी थालिएको बताएको छ ।
तयारी स्वरुप आइतबार सदरमुकाम धादिङबेसीमा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धि अभिमूखिकरण कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा सरकारी निकाय, स्थानीय तहका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधिहरुसँग विभागले परिचय पत्रको बारेमा जानकारी र परिचयपत्र वितरणबारे सुझाव संकलन गरेको छ ।
आगामी ३ वर्षभित्र सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने योजनाका साथ अघि बढेको विभागले धमाधम काम भइरहेको जनाएको छ । यो बहुउपयोगी हुने राष्ट्रिय परिचय पत्र तथा पन्जिकरण विभागका निर्देशक सुभास ढकालले जानकारी दिए । संविधानको धारा १५ र ५१ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको व्यवस्था गरिएको उनले बताए ।
नागरिकता वितरणमा फर्जी काम बढिरहेका बेला विभागले राष्ट्रिय परिचयपत्र वितरणलाई भने वैज्ञानिक बनाएको विभागले जनाएको छ । परिचयपत्रमा नामथर, १० औंलाको छाप र आँखाको रेटिना, हस्ताक्षर र पेसासमेत उल्लेख हुने भएकाले आपराधिक घटनामा पनि कमी आउने विभागको ठम्याइ छ ।
लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्र वितरण पहिलोपटक पाँचथर जिल्लावाट सुरु गरिएको थियो । राष्ट्रिय परिचयपत्र प्रक्रियाका लागि तीन महिना समय लाग्ने भएकाले केही दिनमै कर्मचारी छनोट गरि विवरण संकलन गरिले विभागले जानकारी दिएको छ ।
२०७६ भदौ ८ गते प्रकाशित