धादिङ – टेरिया फौजा मगरले धादिङका भूकम्प पीडित बालबालिकाहरुका लागि नगद एक लाख रुपैया सहयोग गरेकी छिन् ।
शनिबार आफ्ना आमा र बुबा दुवैको साथमा आएर टेरिया फाउण्डेसन मार्फत सहयोग गरेकी हुन् । भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारण भएको रियालीटि शो डीआईडी लिटिल मास्टर्स ३ मा बिजेता भइसकेपछि संकलन भएको केही रकम भूकम्प पीडित बालबालिकाहरुलाई सहयोग गरेकी हुन् ।
टेरिया भन्छिन् बैशाख १२ गते गएको महाभूकम्पपछि खासगरी बालबालिकाहरुको विचल्लि भयो, बस्ने बास छैन, खाने अन्न छैन, लालनपालन गर्ने कोही छैन, यस्ता दुख हेर्न नसकेर आएँ । पत्रपत्रिका तथा टेलिभिजनल मार्फत हेरिएका दुखका ती समाचारहरुले मेरो मन छोयो अनि सहयोगका लागि धादिङमा आएकी हुँ । मेरो यो सहयोगले अलिकति भएपनि राहत मिल्नेछ ।
उनले सहयोग रकम धादिङका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई हस्तान्तरण गर्दै म जस्तै साना साना बालबालिकाहरु जो दुखमा परेका छन् उनीहरुको उद्धारका लागि खर्च गरिदिन आग्रह गरिन् । भूकम्पबाट ग्रामीण भेगमा रहेका बालबालिकाहरु विचल्लि भएका छन् । बेला बेलामा गइरहेको भूकम्पको पराकम्पनले उनीहरुमा मानसिक समस्याहरु पनि देखिएको छ ।