मानसिक समस्या देखिएपछि मनोचिकित्सक, मनोपरामर्शदाता वा अन्य मानसिक स्वास्थ्य सेवा प्रदायकसँग सम्पर्क गरी उपचार गर्नुपर्छ
०२ भाद्र , काठमाडौँ —
चिकित्साशास्त्रका २२ वर्षीया एक छात्रा होस्टलको कोठामा भुन्डिने प्रयास गर्दा डोरी चुँडिएर बाँचिन । साथीहरूले तत्कालै त्रिवि शिक्षण अस्पतालको मानसिक स्वास्थ्य विभागमा पुर्याएकाले दुर्घटना भएन ।
आर्थिक, पारिवारिक, रिलेसनसिप (सम्बन्ध) लगायत तनावका कारण बाध्य भई उनी आत्महत्या गर्न खोजेकी रहेछन् । उचित परामर्शपछि उनी अहिले पूर्णस्वस्थ छिन् ।
उनले आत्महत्या गर्ने संकेतचाहिं महिनौंअघिदेखि नै दिन थालेकी थिइन् । होस्टल, अस्पतालमा सँगै बस्ने र पढ्ने साथीभाइले खासै वास्ता गर्दा उनले गलत विकल्प रोजिन्, आफैंलाई समाप्त पार्न तर्फ लागिन् । एकैछिनको आवेशमा आत्महत्या रोजेकी तिनले डोरी नचुँडिएको भए यो संसारमा हुने थिइनन् ।
मनोचिकित्सकहरूका अनुसार आत्महत्याको प्रयास गरेपछि बाँचेकाहरूमध्ये धेरैलाई गलत निर्णयपछि पछुतो हुने गर्छ । कुनै व्यक्तिले विष सेवन गर्यो, छतबाट वा नदीमा हाम्फालेपछि तत्कालै पछुतो अनुभव गर्ने गरेको उनीहरू बताउँछन् ।
भविष्यकी चिकित्सक ती छात्राबारे मानसिक स्वास्थ्य विभाग प्रमुख प्राडा. सरोज ओझा भन्छन्,‘आत्महत्या गरे पनि डोरी चुँडिएकोले उपचार प्रक्रियामा आएर हाल उनी पूर्ण स्वस्थ छिन्, समयमै सामान्य कुराकानी, काउन्सेलिङ, उपचार प्रक्रियाले आत्महत्या रोक्न सकिन्छ ।’
व्यक्तिविशेष एक्लो बस्नु, निराशजनक र असहाय अनुभव गर्नु तथा आफूलाई आएको समस्या समाधान गर्न नसक्नुलगायत आत्महत्याकोसंकेतहरू हुन् ।
‘समाजमा आत्महत्या मानसिक अवस्था गुमेको, कायरले मात्र गर्ने भन्ने भ्रम छ,’ कन्सलटेन्ट साइकियाट्रिस्ट डा. रितेश थापाले, ‘आत्महत्या व्यक्तिले आफ्नो मानसिक तनावलाई व्यवस्थित गर्न नसकेर गर्छन् ।’ अध्ययनहरूले आत्महत्याको करिब ९० प्रतिशत कारण मानसिक रोग नै भएको देखाएको छ ।